सट्टाभर्ना भइसकेको जग्गा भूमाफिया र व्यक्तिको कब्जामा

सट्टाभर्ना भइसकेको जग्गा भूमाफिया र व्यक्तिको कब्जामा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २, २०७६

धरान । धरानको खानेपानीको प्रमुख स्रोत संरक्षण गर्न सरकारले सट्टाभर्ना दिएर बस्ती स्थानान्तरण गरे पनि सर्दु जलाधार क्षेत्रका सयौं बिघा जमिन अझै व्यक्तिकै नाममा रहेको पाइएको छ। सरकारी निकायको लापरबाहीले लगतकट्टा नभएको थाहा पाएपछि चलखेल गरी जलाधार क्षेत्रको थुप्रै जग्गा भूमाफियाले आफ्नो कब्जामा पारिसकेको देखिन्छ।

विभिन्न दस्तावेजहरूका अनुसार जलाधार क्षेत्रबाट मोरङको पथरी, बयरवन क्षेत्रमा स्थानान्तरण गरिएका परिवारलाई सरकारले दुई सय ४३ बिघा जमिन सट्टाभर्ना दिएको थियो। सट्टाभर्ना दिइएपछि लगतकट्टा गरी जलाधार क्षेत्र वा सरकारी वन कायम गरिनुपर्ने भए पनि तत्कालीन सरकारी निकायले त्यसो नगरेका कारण जलाधार क्षेत्रको जग्गा व्यक्तिकै नाममा रहन गएको थियो। व्यक्तिको नामबाट लगतकट्टा नभएको थाहा पाएपछि भूमाफियाहरुले चलखेल गरी जलाधार क्षेत्रमा किनबेच र प्लटिङ गर्दै अहिले बस्ती बसाउने योजनासमेत बनाइरहेका छन्।

भूमाफियाहरूबाट लाभ लिएर धरानका विभिन्न दलका नेताहरूले पनि उनीहरूलाई पक्षपोषण गरिरहेको जानकारहरू बताउँछन्। नागरिक अगुवाहरू भने पर्यावरणीय दृष्टिले पनि अति महत्वपूर्ण र धरानको खानेपानीको प्रमुख स्रोत अतिक्रमणको चपेटामा पर्दै गएको भन्दै चिन्तित छन्। आजको नागरिक दैनिकमा खबर छ ।