जीवनाथ खनालकाे ज्यानमा आएको बिजुली तुफान : कस्ताे परिणामा आउला !?

जीवनाथ खनालकाे ज्यानमा आएको  बिजुली तुफान : कस्ताे परिणामा आउला !?

आशिष पौडेल  |  दृष्टिकोण  |  माघ १, २०७७

यसपटक नियमित स्तम्भमा अलि फरक धारमा बग्नेछ यो लेखन । तर, यसो भनिरहँदा पनि यो लेख राजनीतिबाट अछुतो भने छैन । किनकि राजनीतिलाई त्यसै नीतिहरुको राजा अर्थात राजनीति भनिएको होइन । 

खर्पनमा एकमुठो साग बेच्ने किसानदेखि फुटपाथ पसले अनि खुद्रा किरानादेखि विशाल महलका मल तथा युरिया मलदेखि फूल अनि फलसम्मका सबै व्यापारी, उपभोक्ता आमनागरिक हरेकले जतिसुकै ‘इग्नोर’ गरे पनि राजनीति उनीहरुको प्रतिछायाँका रुपमा सँधै लुरुलुरु पछि लागेकै हुन्छ । 

राजनीतिले आमरुपमा केही फरक नपर्ने भनेको जुनसुकै दलको उच्च तहका पाँच प्रतिशत नेता तथा दोस्रो तहका केही नेता अनि दलाल विचौलिया र पूँजिपति बर्गलाई मात्र हो । हुनत  सारमा सत्तामा रहनु वा नरहनुले राजनीतिमा फरक त अवश्य नै पर्ला । तर, आफ्ना कामधाम र आवश्यक्ता परिपूर्तिका लागि राजनीतिले आम जनतालाई उपेक्षा गरेर माथि उल्लेखित पाँच प्रतिशत र ती वर्गका नेतालाई केही नछुँदो रहेछ । 

तर, राजनीतिक रुपमा लिइने हरेक निर्णयले  धारण गर्ने  रुपरङ्ग र राजनीति नामक जातको भाटे कारवाही भने आम नेपालीले भोग्नुपर्छ । त्यसको एउटा प्रतिनिधि पात्र मात्र हुनुहुन्छ, जीवनाथ खनाल । जीवनाथ खनाल नै किन भन्ने जिज्ञासा यहाँहरुलाई छ भने त्यसको समाधान पनि विस्तारै आउँदै जाने छ । 

सामान्य, सरल र शालीन व्यक्तित्वका पछाडि जब राष्ट्र र राष्ट्रियताको कुरो उठ्छ तब उहाँको सक्कली परिचय देखिन्छ । 

उमेरले करीब छ दशक काट्नु भएको उहाँको विविध परिचय छन् । संखुवासभाको एउटा गाउँबाट प्रारम्भ भएको जीवन यात्रा विभिन्न कोणमा विभिन्न भूमिकामा आएर स्वरुप परिवर्तन  भइरहेका छन् । 

पुत्र, पति हुँदै विकसित भएको पिताको जुन सामाजिक भूमिका छ त्यसले जिम्मेवारी र दायीत्व दुवै थपेको छ । यो जिम्मेवारीलाई सशक्त रुपमा निर्वाह गर्न लागि उहाँ कर्मचारी संचयकोषको जागिरे हुनुभो साथमा पत्रकारिताको निरन्तरता छँदैछ । पत्रकारितामा ४४ सालमा दैनिक समाजबाट शुरु हुँदै च्यानल नेपालदेखि रेडियो सगरमाथा लगायत अन्य थुप्रै आयामहरु छँदैछन् । 

नेकपाले जसरी अहिले चुनावको रट् लगाएको छ के उसले भने बमोजिम मुलुक अहिले उसैले भनेको वैशाखको चुनावका लागि तयार छ त ? निर्वाचन आयोगलाई चुनाव तयारीका लागि आवश्यक पर्ने कम्तीका एकसय बीस दिन अनि मतदाता र स्वयं उम्मेद्वार हुनेको मनस्थिति पनि अहिले चुनावका लागि तयार देखिंदैन् । अनि यहिंनेर हो जीवनाथ खनालको चित्त दुखाई नेकपा–सत्तापक्ष–प्रतिपक्ष दुवैसँग र समस्त राजनीतिसँग । 

राजनीतिको त झन कुरै नगरौं । उहाँको पुस्ताले नबेहोरेको के होला र ? पञ्चायतको सक्रिय राजतन्त्र, बहुदल देखि गणतन्त्रसम्म । 

उहाँ स्वयं पनि स्वतन्त्र रुपमा २०७४ सालमा सम्पन्न स्थानीय तहको खाँदबारी नगरपालिकाको मेयरको उम्मेद्वार । सञ्चर कर्मका लागि राजनीति यसै पनि मूलधारको विषय । राजनीतिबाट अछुतो रहने अवसर नै रहँदैन ।  यस अर्थमा राजनीतिले उहाँलाई अलि बढी छुन्छ । अनि अहिलेको राजनीतिले भने चरम निराशा पनि !

जब राष्ट्र र राष्ट्रियताका कुरा आउँछ त्यसले भने उहाँलाई उद्वेलित बनाउँछ । एकप्रकारको यस्तो आवेग देखापर्छ जुन नियन्त्रण गर्न गाह्रो गाह्रै पर्छ । 

आखिर ‘पद, पैसा र पावर’ का लागि जनतालाई बलिको बोको बनाउने निरन्तरको राजनीतिक चरित्र र प्रवृत्ति जब आम बनेर देखापर्छ अनि उहाँको साठीको दशकको उत्तराद्र्धमा चल्दै गरेको ज्यानमा एउटा बिजुली तुफान देखापर्छ । अनि लाग्छ अजम्बरी कोही छैन, आखिर सबै ब्यहोरी सकेको यो ज्यानले जाँदै गर्दा राष्ट्रियतामा आघात पुर्‍याउने, जनतालाई ‘पशु’ सरह विदेशीको हातमा बेच्ने नेताको ‘अस्तित्व हरण’ किन नगर्ने ? 

यसका लागि सेनाले राष्ट्र रक्षाका लागि इमान्दारीपूर्वक किन सुरक्षा प्रदान नगर्ने भन्ने उहाँको प्रश्न समेत छ । तर, ठीकै छ सुरक्षा नपाएका खण्डमा पनि आफ्नो पनि सत्गत गर्नुपर्ला तर, यसले फरक नै पो के पर्ला र ? अनि यस्ता विचार भएका अन्य कति होलान ? यसो गर्दा देशले पनि यो महारोगबाट मुक्ति त पाउँछ कमसेकम ! 

कतै आम मानिसमा रहेको यो मनोभाव बुझेर कसैले भड्काउन खोजेका खण्डमा के सुरक्षाकर्मीको दस्ताले मात्रै रोक्न सक्ला त यो सबै तुफान ? के परिस्थिति यस्तै रहेमा यो मूल प्रश्न त बन्ने छैन ? चिन्ता यो हो आजको । भलै जीवनाथ भलोमानस हुनुहोला तर, यो वैचारिक तुफानलाई रोक्ने कुनै सम्बोधन छ त राज्यसँग ? अहिलेको मूल प्रश्न भनेको यो हो । 

प्रधानमन्त्री केपी ओलीले छँदाखाँदाको संसद विघटन गरेपछि एकप्रकारको राजनीतिक वितृष्णा आम जनताको प्रतिनिधित्व उहाँको अभिव्यक्तिमा छ । तर, यसको अर्थ प्रचण्ड–माधव पक्ष ठीक छन् वा देशमा आशा गर्ने कुनै राजनीतिकअन्य विकल्प छन् भन्ने लाग्दैन यस अर्थमा पनि राजनीतिक वितृष्णाको पारो तातेको हो । 

हिजोसम्म एउटै पार्टीमा रहँदा घटेका अनेक घटनाका फड्के किनाराका साक्षी प्रचण्ड–माधव समूहले यसअघि कहिल्यै नदेखेको माइतीघर मण्डलाको सडक यसपटक उनीहरुको पाइण्ट र कोटको फेरले सफा गर्दा यसले आम जनमानसलाई केही फरक पर्दैन बरु महानगरको ‘ब्रुमर’ लाई केही काम घट्ला भन्ने मात्रै हो । 

अनि नेकपा प्रतिपक्ष समूह लगायत पेशागत संघसंस्था र अन्य बुद्धिजिवी समूह संसद पुर्नस्थापनको एकोहोरो रट लगाइरहेका छन् । अनि उनीहरुको आशाको एकमात्र केन्द्र अदालतले उनीहरुको यो मनोकांक्षा पूरा गरिदिओस भन्ने उनीहरुको इमानदार प्रयत्न छ राजनीतिक र अन्य संवैधानिक कानूनी प्रक्रिया हेर्दा भने राजनीति त्यो दिशाबाट टाढा भागिरहेको प्रतित हुन्छ । 

यो संविधानको स्वागत नगरी केवल नोटिसमा मात्र राखि राखेको बताउने छिमेकी राष्ट्रका प्रधानमन्त्री संसद विघटनको सिफारिस गर्ने प्रधानमन्त्री केपी ओली, त्यसलाई सदर गर्न विलम्ब नगर्ने राष्ट्रपति कार्यालयलाई मोहोरा बनाएर संविधान बाहिरबाट यसको समाधान खोजिरहेका छन् ।

तर,नेकपा–प्रतिपक्ष भने यही संविधान अर्न्तगत नै प्रतिनिधि सभा पुर्नस्थापित गरेर यसै भित्र समाधान देखिरहेका छन्, खोजिरहेका छन् अनि हेरिरहेका छन्, अहिलेको मूलभूत भिन्नता भनेको नै त्यही हो । 

अर्को कुरो सत्तापक्ष– नेकपाले जसरी अहिले चुनावको रट् लगाएको छ के उसले भने बमोजिम मुलुक अहिले उसैले भनेको वैशाखको चुनावका लागि तयार छ त ? निर्वाचन आयोगलाई चुनाव तयारीका लागि आवश्यक पर्ने कम्तीका एकसय बीस दिन अनि मतदाता र स्वयं उम्मेद्वार हुनेको मनस्थिति पनि अहिले चुनावका लागि तयार देखिंदैन् । अनि यहिंनेर हो जीवनाथ खनालको चित्त दुखाई नेकपा–सत्तापक्ष–प्रतिपक्ष दुवैसँग र समस्त राजनीतिसँग । 

संसारका प्रायः निर्धन देशका नागरिकको कल्पनाको देश मानिने अमेरिकामा पनि उहाँको लामै बसाई रह्यो । र, फर्किएको पनि केवल डेढ दुई वर्ष भएको छ । देशको साँच्चै माया लागेर र स्वदेशमै मर्नुपर्छ भनेर उहाँ फर्किनु भएको हो नेपाल । भिसा अझै छँदैछ । चाँहदा जान मिल्छ । तर, उहाँ नफर्किने इरादा बोकेर फिर्नु भएको हो । 

तर, स्वदेश फर्किएपछि विकसित हुँदै गरेको परिस्थितिले भने उहाँलाई साँच्चै सोच्न वाध्य बनाएको छ । गम्भिर बनाएको छ । कतै पुनरावलोकन किन नगर्ने ?  भन्ने सम्मको परिस्थिति निर्माण गरेको छ, स्वदेशको राजनीतिले । आम जनताप्रति राजनीतिज्ञले गरेको वेवास्ता र मनपरीतन्त्रले विगतको सोचका बारेमा उहाँ अहिले घोत्लिंदै हुनुहुन्छ, कतै गल्ती त गरिएन ?

 प्रचलित गृहस्थ धर्मका रुपमा उहाँको एउटै व्यवहार छिमल्न बाँकी भनेको उच्च शिक्षा अध्ययन गर्दै गरेकी अविवाहित छोरी । छोरीलाई उहाँले विदेश जानु भन्दा स्वदेशमै केही गरिखानु पर्छ । आफ्नो देश भनेको आफ्नै हो भन्ने व्यवहारिक र खुला शिक्षा दिनुहुन्छ । त्यसैले छोरीका लागि उहाँ खुला विश्वविद्यालय नै मान्नुहुन्छ आफूलाई । सोच्ने, हेर्ने विचार गर्ने सबै ढंग उहाँकै जस्तै । अनि उहाँका आफन्तजनको आरोप छ, छोरीलाई आफूजस्तै बनायो जीवनाथले । 

तर, जसरी राजनीतिले उहाँलाई आफ्नो सोचमा पुनरावलोकन गर्न वाध्य बनायो । छोरीको हकमा पनि उहाँको मानसपटलमा यही तरंग सलबलाएको छ । अचेल उहाँ छोरीलाई राम्रो विश्वविद्यालय खोजेर जान सल्लाह दिंदै हुनुहुन्छ । तर, यसका लागि तयारी भने आफ्नै हिसाबले गर्न भन्दै हुनुहुन्छ, उहाँ । आफ्नो बलबुँतामा, अरुको सहयोग नलिइकन आफ्नै खुट्टामा उभिने तयारीमा लाग्न उहाँको निर्देशन छ अचेल । 

वि.सं.२०३६ सालको जनमत सँग्रह, २०४६ सालको जनआन्दोलन, २०५२ मा शु्रु भएको हिँसात्मक द्वन्द्व, २०६२÷६३ सालको जनआन्दोलन लगायतका राजनीतिक परिवर्तन र तिनले समग्र नेपाली जीवनमा ल्याएको परिवर्तनलाई प्रत्यक्ष व्यहोरेका आम नेपालीका लागि अहिले नसोचेको, कल्पना नगरेको काम कुरा बढी भइरहेको छ । नेपालीको एकता तोडिएको छ, जाति, धर्म, छुवाछुत, वर्गीय हित आदि विषयलाई लिएर । कानुनी व्यवस्था त्यही अनुरुप छ,‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने उखान चरितार्थ भएको छ । लाखौंलाख युवा रोजगारी गर्न वा परिवार पाल्न विदेशिन परेको छ । उत्पादनका क्षेत्र भताभुङ्ग भएका छन् ।  आम नेपालीले यस्ता थुप्रै परिस्थितिले बेहाल बनाएको छ ।

लेखनको शुरुवातमा जीवनाथ खनालको यो कहानी किन लाद्दैछ यो भन्ने आम पाठक अब भने निश्चिन्त रुपमा भन्नुहुनेछ यो जीवनाथको रुपमा आम नेपालीको कथा, कहानी मनोभाव, मनोदशा हो । र, पढ्दै गर्दा हरेक नेपालीलाई लाग्छ यो मेरो कहानी हो । अनि हरेकले आफू जीवनाथ भएको महशुश गर्नुहुनेछ । 

एकजना आम नेपालीको जीवनमा घटेको सत्य घटनामा आधारित यो मनोभाव तपाईँसँग हु–बहु मिल्न गएमा पूर्णसत्य, आशिंक मिलेमा अर्धसत्य वा मेल नखाएमा  झुटको पुलिन्दा हो वा आम नेपालीको दैनन्दिनी भएर देखा पर्ने गरेका यस्ता घटनाका बारेमा साँच्चै गम्भिर भएर सोच्नु पर्ने दिन आएको हो उत्तर दिने जिम्मा भने तपाईँको । गम्भिर विषयमा गम्भिर चेतना भया ।