जिल्ला अदालत खोटाङका खरिदार कमलदीप ढकाल आफ्नै कोठामा मृत फेला !

जिल्ला अदालत खोटाङका खरिदार कमलदीप ढकाल आफ्नै कोठामा मृत फेला !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २, २०७७

खोटाङ । जिल्ला अदालतमा कार्यरत खरिदार कमलदीप ढकाल आफ्नै कोठामा मृत फेला पर्नुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ घर भई हाल जिल्ला अदालतमा कार्यरत खरिदार ३६ वर्षीय ढकाल २०७७ माघ १ गते बिहिबार बिहान दिक्तेल बजारस्थित आफ्नै कोठामा मृत फेला पर्नुभएको हो ।

मृतक ढकाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित मोहन दुलालको घरमा दुई वर्षदेखि कोठा भाडामा लिएर बस्दै आउनुभएको थियो । बेलुकी खाना खाएर सञ्चै सुतेका ढकाल बिहान मृत भेटिएको घरबेटी दुलालले बताउनुभयो ।

'मृतक ढकालको मुखबाट हल्का रगत बगेको देखिएको छ', दुलालले भन्नुभयो, 'आफ्नै कोठामा सुतेका मृतक ढकालको शव परीक्षण गर्नका लागि जिल्ला अस्पताल लगिएको छ ।'आफ्नै कोठामा मृत भेटिएका ढकालको अवस्था हेर्दा सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । 'घटना स्थलको अवस्था हेर्दा कुनै शङ्कास्पद अवस्था छैन', उहाँले भन्नुभयो, 'मृतकको शव परीक्षणमा लगिएकाले अरु मेडिकल रिपोर्ट आएपछि भन्न सकिन्छ ।'