मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  माघ २, २०७७

चितवन । जटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौँ नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको चितवन मेडिकल कलेजले तोडेको छ । मुटुरोगको जटिल उपचारसमेत यहाँ हुन थालेपछि कलेज यो क्षेत्रमा कलेज अग्रणी बनेको हो ।

मेडिकल कलेजले मुटुरोगको उपचारमा सङ्ख्यालाई आधार मान्दा काठमाडौँको शहीद गङ्गालाल हृदयरोग केन्द्रपछि दोस्रो स्थान आफू रहेको दाबी गरेको छ । कलेजमा दैनिक मुटु उपचारका लागि ६० देखि ८० बिरामी आउने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार कलेजमा हालसम्म कोरोनरी एनजिओग्राम एक हजार ८५२ को, कोरोनरी एनजिओप्लास्टी एक हजार ३२ को, पेसमेकर १५३ को, पिटिएमसि १६० को र अस्थायी पेसमेकर १३९ जनाको गरिइसकिएको छ । विगत सात वर्षयता अस्पतालले यी सेवाहरु उपलब्ध गराउँदै आएको देवकोटाले जानकारी दिनुभयो ।

अस्पतालको मुटुरोग विभागका प्रा डा सुधीर रेग्मीका अनुसार यहाँ शल्यक्रियाबाहेक मुटुसम्बन्धी रोगका सम्पूर्ण उपचार गरिन्छ । हाल शल्यक्रियाको तयारी थालिएको छ । शुरुआती चरणमा शल्यक्रिया गरिएको भए पनि बीचको समयमा रोकिएको शल्यक्रिया पुनः शुरु गर्न लागिएको हो । रेग्मीको भनाइमा नेपालमै मुटुसम्बन्धी विज्ञ समूहले उपचार गर्ने महत्वपूर्ण गन्तव्यको रूपमा यस कलेज बनेको छ ।

कलेजको मुटु विभागमा रेग्मीसहित प्रा डा श्यामराज रेग्मी, सहप्राध्यापक डा विष्णुमणि धिताल, मेडिकल कलेजले लिङ्कन विश्वविद्यालयसँग सहकार्य गरेर सञ्चालन गरेको कार्डियो फेलोसिप गर्दै गरेका पाँच चिकित्सक, पाकिस्तानी विश्वविद्यालयको सहकार्यमा भइरहेको फेलोसिप गर्दै गरेका दुई चिकित्सक कार्यरत हुनुहुन्छ । यो समूहलाई प्राविधिक र नर्सिङ समूहले सहयोग पुर्याउँदै आएको छ । कलेजमा मुख्यगरी चितवनसहित नवलपरासी, धादिङ, लमजुङ, गोरखा, कास्की, मकवानपुर, रुपन्देही, पाल्पा, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लाबाट बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो । राजधानी काठमाडौँबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।