लाउन्ज शुल्कमा अड्कियो कतार भिसा सेन्टर

लाउन्ज शुल्कमा अड्कियो कतार भिसा सेन्टर

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २, २०७६

काठमाडौँ । कतारले काठमाडौंमा खोल्न लागेको भिसा सेन्टर ‘लाउन्ज’ शुल्कसम्बन्धी विवादमा अड्किएको छ । नेपाली कामदारमाथिका शोषण अन्त्य गर्ने दाबी गर्दै खोल्न लागिएको सेन्टरमा प्रवेश गरेबापत शुल्क लिने/नलिनेमा विवाद छ ।

नेपाली कामदारले विद्युतीय करारपत्रमा हस्ताक्षर, औंठाछाप र स्वास्थ्य परीक्षण गर्नका लागि भिसा सेन्टर स्थापना गर्न लागिएको कतारले जनाएको छ । यो सेवा लिएबापतको शुल्क रोजगारदाताले ब्यहोर्ने कतार सरकारको भनाइ छ । लाउन्ज शुल्क (सेन्टरभित्र प्रवेश गरेबापत लिइने शुल्क) बारे कतारले नेपाल सरकारलाई स्पष्ट पारेको छैन ।

श्रीलंका, बंगलादेश, भारत र पाकिस्तानमा भिसा सेन्टर स्थापना गरी सेवा दिइसकेको कतारले ती देशमा व्यवस्थापन ठेक्का पाएको निजीस्तरको सेवा प्रदायकबाट कामदारसँग लाउन्ज शुल्क लिइरहेको छ । कतार भिसा सेन्टरकै वेबसाइटमा उल्लेख भएअनुसार बायोमेट्र्रिक भिसा शुल्क एक सय ३७ डलर कामदारले तिर्नु नपर्ने उल्लेख छ । ‘लाउन्ज’ शुल्क भने स्थानीयस्तरमा सेन्टर सञ्चालन गर्ने सेवाप्रदायक कम्पनीले लिने उल्लेख छ । आजको कान्‍तिपुर दैनिकमा खबर छ ।