पार्टी कै कारण संकटमा ट्रम्प: पुनः राष्ट्रपति हुन नदिन पनि रिपब्लिकन सिनेटरद्वारा महाअभियोग पास गरिदै !

पार्टी कै कारण संकटमा ट्रम्प: पुनः राष्ट्रपति हुन नदिन पनि रिपब्लिकन सिनेटरद्वारा महाअभियोग पास गरिदै !

लोकसंवाद संवाददाता  |  विदेश  |  माघ २, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चार वर्षसम्म चर्चाको शिखरमा रहिरहे । उनका अघि टिक्न धेरैलाई कठिन नै रहयो । तर बुधबार हाउस अफ रिप्रेजेन्टेटिभ्सले महाअभियोग लगाएपछि ह्वाइट हाउसमा एक प्रकारको सन्नाटा छायो । ट्विटर उनको सबैभन्दा मनपर्ने सामाजिक सञ्जाल थियो । जसकामाध्यमबाट उनी करोडौं समर्थकको सम्पर्कमा हुने गर्दथे । तर उनको ट्विटर एकाउन्ट अब बन्द गरिएको छ । 

फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालले पनि उनको एकाउन्ट निलम्बन गरेका छन् । उनका केही निकट साथी र सहयोगीले पनि उनको साथ छाडेका छन् । राष्ट्रपति जस्तो शीर्ष पदमा पुगेर पनि उनले धेरै एक्लो महसुस गरिहेका हुनसक्छन् र उनको विरासत समेत ध्वस्त हुँदै गएको देखिएको छ । के यो उनको राजनीतिक भविष्यको अन्त्य हो ? के उनको पछि दृढ विश्वासका साथ खडा भएको रिपब्लिकन पार्टी उनीबाट आफ्नो विरासत फर्काउन तयारीमा छ ? के उनी रिपब्लिकन पार्टीका लागि घाँटीको पासो बने ? र सबैभन्दा महत्वपूर्ण भनेको के रिपब्लिकन पार्टी यो संकटबाट छिटोभन्दा छिटो निस्कन सक्छ या ट्रम्प आगामी चुनावमा पनि राष्ट्रपतिको उम्मेदवार बन्छन् ? 

राष्ट्रपति ट्रम्प २० जनवरीबाट अमेरिकाको एक आम नागरिक बन्दैछन् । यदि अमेरिकी सिनेटले उनलाई हिंसा भड्काएकोमा दोषी ठहर गर्‍यो र उनकाविरुद्ध दुई तिहाई मत पर्‍यो भने उनी न त २०२४ मा राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन् न त कुनै सरकारी पदमा बस्न पाउनेछन् । उनी पूर्वराष्ट्रपतिलाई दिइने सुविधाबाट समेत बञ्चित हुनेछन् । 

अमेरिकामा यी विषयमा मत विभाजित छ । राजनीतिक विश्लेषक बी.जे.रुदेल भन्छन्,‘ट्रम्पको राजनीतिक यात्रा अन्त्य भएको कुरा धेरै नै बढाइचढाइ गरेर फैलाइएको छ ।’ 

६ जनवरीमा ट्रम्प समर्थकले संसदमा हमला गरेपछि केही रिपब्लिकन उनको विरुद्धमा उभिएका छन् । १० जना सांसदले उनका विरुद्ध भोट समेत दिए । तर बी.जे.रुदेलका अनुसार अहिले नै राष्ट्रपतिको राजनीतिक मृत्यु भएको सोच्नु मुर्खता हो । यद्यपि ट्रम्पको भविष्य उनको पार्टीले कस्तो नीति लिन्छ भन्नेमा निर्भर हुनेछ । हाल रिपब्लिकन पार्टीको एउटा समूह उनको पक्षमा छ भने अर्को समूह विरोधमा छ । उनीविरुद्ध महाअभियोग पास हुन दुई तिहाई मत चाहिन्छ ।

अमेरिकी सिनेटमा १ सय सदस्य हुन्छन् र डेमोक्रेटसँग ५१ जना छन् । रिपब्लिकन पार्टीका ४९ जना छन् । सिनेटमा भएको मतदानमा रिपब्लिकन पार्टीका १७ सिनेटरले उनको विरुद्धमा मत दिएमा प्रस्ताव पारित हुनेछ । मुद्दाको प्रक्रिया आगामी २० जनवरीपछि सुरु हुनेछ, जतिबेला ट्रम्प राष्ट्रपति पदबाट हटिसकेका हुनेछन् । त्यसपछि रिपब्लिकन पार्टीले कस्तो नीति लिन्छ, त्यसैले ट्रम्प साथमै हुन्छन् या छोडिन्छन् भन्ने टुंगो लाग्नेछ । पछिल्ला दुई घटनाले ट्रम्प र रिपब्लिकन पार्टी दुवैलाई नकारात्मक असर परेको छ । पहिलो, ट्रम्पले लगातार चुनावी वैधतालाई लिएर उनले प्रश्न खडा गरिरहे र निर्वाचन अधिकारीहरु, राज्य सरकार र अदालतले उनको दाबीलाई खारेज गरिरहे । 

दोस्रो, ६ जनवरीमा संसद भवनमा भएको हिंसाले अर्को धक्का दिएको छ । सोही दिन घटनाभन्दा अघि रिपब्लिकन पार्टीका सदस्यले मतपरिणाम नमान्ने बताइरहेका थिए । तर सो घटनापछि धेरैले परिणामविरुद्ध आफ्नो विचार परिवर्तन गरे । राजनीतिक विश्लेषकका अनुसार ट्रम्पको अवस्थ यस्तो मुक्केबाजको जस्तो भयो कि उनको कदम डगमगाइरह्यो । एक जोडदार मुक्का लागेमा रिङआउट हुनसक्छन् । तर केही मुक्केबाज धेरै मुक्का खाएर पनि प्रतियोगिता जित्न सक्छन् । 

रिपब्लिकन पार्टीमा ६ जनवरीअघि उनको लोकप्रियता ८७ प्रतिशत थियो । अब त्यसमा कमी आएको छ । उनले चुनावमा पनि साढे ७ करोड मत पाएका थिए । यो मत बहालवाला राष्ट्रपतिले पाएको हालसम्मकै सबैभन्दा बढी मत हो । त्यसैले अब पनि उनी नै निर्वाचित भएको ठान्ने समर्थकहरु उनको पक्षमा रहिररहन सक्छन् । तर बहालवाला राष्ट्रपतिले अमेरिकामा कमैमात्र चुनाव हार्छन् । अर्को कुरा उनको कार्यकालमा आएर रिपब्लिकन पार्टीले संसदका दुवै सदनमा बहुमत गुमाएको छ । त्यसैले पनि ट्रम्पसँग पार्टीले दुरी बनाउनुपर्ने मत पनि उत्तिकै बलियो छ । राजनीतिक विश्लेषक किथ नौगटन ‘द हिल’ पत्रिकामा लेख्छन्, ‘रिपब्लिकन पार्टीले ट्रम्पसँग नाता तोड्नुपर्छ र रिपब्लिकन पार्टीको नयाँ मतदातालाई ध्यान दिनुपर्छ ।’ उनी लेख्छन्, ‘ट्रम्प अब चुनाव जित्न सक्दैनन् । ६ जनवरीको घटना उनको राजनीतिक करिअरका लागि धेरै घातक साबित हुनसक्छ । पार्टीलाई उनीबिना नै अघि बढाउने कोशिस गर्नुपर्छ ।’ 

तर ट्रम्प २०२४ मा रिपब्लिकन पार्टीको उम्मेदवार हुने कुरालाई कसैले पनि पूर्ण रुपमा खारेज गरेका छैनन् । पार्टीका सम्भावित उम्मेदवार निक्की हेली, टेड क्रुज र जोश हेलीजस्ता नेताको मतदातामा निकै कम प्रभाव रहेको छ भने पार्टीभित्र ट्रम्पको तुलनामा निकै कम लोकप्रिय छन् । 

त्यसैले ट्रम्पको राजनीतिको सबैभन्दा बलियो आधार भनेको नै उनको समर्थकमा रहेको ठूलो विश्वास हो । यसअघि ट्विटरमार्फत समर्थकसम्म पुग्ने ट्रम्पले आगामी दिनमा कुन माध्यमको प्रयोग गर्छन् भन्ने केही समयमा प्रष्ट हुनेछ । उनले ट्विटरजस्तै एक सामाजिक सञ्जाल निर्माण गर्ने या नयाँ टेलिभिजन च्यानल सञ्चालन गर्नेसम्मका चर्चा चलेका छन् । त्यसैले उनी संकटमा परेका छन्, तर मैदानबाहिर भइसकेका छैनन् । स्रोतः बीबीसी