आदिवासी जनजाति साहित्यकार महासङ्घमा राजन मुकारुङ

आदिवासी जनजाति साहित्यकार महासङ्घमा राजन मुकारुङ

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ २, २०७७

 काठमाडौँ । आदिवासी जनजाति समुदायका भाषालाई जोडदार रूपमा लेखन गर्न तथा  तिनका मौखिक साहित्यसमेतलाई लिखित गर्न, गराउन सम्बन्धित जाति,  समुदायका स्रष्टाहरूलाई उत्प्रेरित गर्ने  र सो कार्यमा अग्रसर हुन, आदिवासी जनजाति समुदायमा रहेका मौखिक परम्पराका दर्शनशास्त्रहरूलाई  मिहिन ढङ्गले  बुझ्न, बहस गर्न र लिखित गर्न,  नेपाली भनिने गरिएको ‘खस पर्वते भाषा र साहित्य’लाई नेपाली हो भन्ने  कथनका विरुद्ध  बहस गर्दै नेपालका सबै मात्रृभाषा तथा तिनका साहित्यलाई  ‘नेपाली हो’ भन्ने मान्यता स्थापित  गराउन, विविधतासहितको नेपाली सौन्दर्य शास्त्रको निर्माण गर्न, प्राथमिक तहदेखि विश्व–विद्यालयसम्मै मातृभाषा तथा साहित्यको पाठ्यक्रम  निर्माण गर्न राज्यलाई दबाव दिन र  विश्वभर भएका, भइरहेका आदिवासी जनजाति अभियानहरूसित घनीभूत  बहस गर्दै पहिचानको आन्दोलनलाई एकीकृत बनाउन पहल गर्न उद्देश्यले आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको  तदर्थ समिति  राजन मुकारुङकाे संयोजकत्वमा घोषणा गरिएकाे छ । 

संयोजक राजन मुकारुङ अनुसार तदर्थ समितिकाे सह–संयोजकद्वय  सरस्वती प्रतीक्षा, टंक सेलिङ सचिवमा  बुद्ध योञ्जन लामा   र  आर्थिक संयोजकमा  उर्मिला गम्बा थारु  रहनु भएकाे छ ।   महासङ्घकाे सदस्यहरुमा अञ्जना इछमफूल, अनन्त दुनुवार, उत्तम सुनुवार, कविराज तामाङ, कुन्साङ, कृष्ण मेचे, कृष्ण सर्वहारी, गणेस कुमाल, गौरी तमू,  चोमु शेर्पा खुशी, तेजेन्द्र ताजपुरिया, निशा रुम्बा, नेपोलियन चेपाङ,  फुर्बाछिरिङ तङ्बे,  बेचन उराव, भिम किसान,  मङ्गलराम दराई, मेनुका छन्त्याल,  रजनी मिला,  राम गोपाल आँसुतोष, लाक्पा तेन्जी शेर्पा, लालबहादुर भुजेल,  डा. विष्णु सिँजाली,  सन्त माझी , सरोजसिंह दुनुवार,  डा. सोमबहादुर धिमाल, सीता तुम्खेवा, हेन्सेन याक्खा  र  हेमा  आले रहनु भएकाे छ । 

आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपाल राज्य समितिका संयाेजाकहरु पनि तोकिएकाे छ । जसमा कोइँच संयोजक शोभा सुनुवार, ताम्सालिङ ईश्वर थोकर, किरातमा गनेसकुमार राई, तमुवान  छम गुरुङ, थरुहट छविलाल कोपिला, मगरातमा जीवन रोका मगर, लिम्बुवानमा  मधु केरुङ र नेवाः शाक्य सुरेन संयोजकको जिम्मेवारी  दिइएको छ । 
महासङ्घको अन्तर्राष्ट्रिय समितिकाे संयोजकको जिम्मेवारी पनि तोकिएकाे जस अनुसार बेलायतमा अमित थेबे, युरोपमा इन्दिरा चाम्लिङ,मलेसियामा उदय पुर्बेली, कुवेतमा केशर घलान, बहराइनमा चन्द्र गुरुङ, अमेरिकामा जसकुमार राई, हङकङमा नरेश सुनुवार, दक्षिण कोरिया पराजीत पोमू, कतारमा बिमल राई, अस्ट्रेलियामा योग राई,  जापानमा विमन किराती, साउदी अरबियामा सुमन सहयात्री, युएई सुरज राना र ओमानमा सुशिल पुन बिरहीलाई संयाेजककाे जिम्मेवारी दिइएकाे छ । 

   समग्र विश्व राजनीतिक अवस्थामा आज पनि अधिकांश आदिवासीरजनजातिहरू आफ्नो हक, अधिकार र पहिचानका लागि आन्दोलनरत छँदै छन् । मानव अधिकारको निम्नतम हकका लागि पनि आन्दोलन गर्नुपर्ने बाध्यता हाम्रो मुलुकमा त झनै भयावह छ । विकासका नाममा आदिवासीय सम्पदाहरू मास्ने काम राज्यकै अग्रसरतामा भइरहँदा झनै आन्दोलित हुनु परेको हुँदा आदिवासी जनजाति साहित्यकार महासङ्घ गठन गर्नु पारेकाे जनाएको छ । 

महासङ्घ घोषणमा भनिएको छ- मुलुकको राजनीतिक परिवर्तनका आन्दोलनहरूमा आम आदिवासी जनजाति समुदायले ठूलो वगावत गरे पनि उनीहरूले वर्षौंदेखि उठाइरहेको पहिचानसहितको सङ्घीयता र समावेशी सिद्धान्त (पूर्ण समानुपातिक) का मागहरू सुनुवाइ भएको छैन ।  संविधानतः नेपाल धर्मनिरपेक्ष मुलुक हो, भनेर लिखित गरिए पनि व्यवहारतः लागू भएको छैन । शिक्षा र स्वास्थ्य क्षेत्र जनताको मौलिक हक भए पनि दलाल व्यापारीहरूको कब्जामा छ, यो विभेदकारी छ । यसले अभिजात वर्ग र जातिहरूको मात्रै पक्ष लिइरहेको छ । प्राथमिक तहदेखि विश्वविद्यालयसम्म एकल जाति, खास गरी ‘हिन्दू सौन्दर्य’ र ‘आर्य सभ्यता’को मात्रै पाठ्यक्रममा भाषा–साहित्य पढाइएर राज्यले नै विविधताको संस्कृति र सौन्दर्यलाई अस्विकार गरिरहेको छ ।  नेपालका आदिवासी जनजातिहरूका लागि राज्य जहिल्यै प्रतिगामी छ । यसका विरुद्ध हामीले जहिल्यै प्रतिरोध गरिरहेका छँदै छौं । राज्यका सबै खाले निरङ्कुशता, प्रतिगमन वा अधिनायकवादका विरुद्ध अझ शक्तिशाली आन्दोलनसहित प्रतिरोध  गर्नको लागि  नेपालका आदिवासी जनजाति साहित्यकारहरूको साझा संस्थाका रूपमा ‘आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपाल’को तदर्थ समिति घोषणा गर्दछौं ।