शंकर प्रसाद श्रेष्ठ अर्थात् शैलेन्द्र साकार: शंकर भित्र अन्तर निहित रहेको साकार

शंकर प्रसाद श्रेष्ठ अर्थात् शैलेन्द्र साकार: शंकर भित्र अन्तर निहित रहेको साकार

आशिष पौडेल  |  अन्तर्मन्थन  |  माघ ३, २०७७

भोजपुरको हुलाकीको सन्तान शंकर प्रसाद श्रेष्ठ साहित्यमा निरन्तर खटाई, अथक मेहनत र समर्पणका कारण कालान्तरमा शैलेन्द्र साकारका रुपमा नेपाली साहित्यमा एउटा बेग्लै, मौलिक र स्थापित  नाम बन्न पुगेको छ । 

नाम र परिचय निर्माण त्यति सहज विषय होइन जुन हामी सजिलै हासिल गर्न खोज्छौँ । अनि परिचय देख्ने तर परिचय निर्माणका क्रममा भोगेका दुःख हण्डर र सङ्घर्ष नदेख्नेहरूका लागि यो आलेख एउटा राम्रो पठनीय सामग्री बन्नेमा नपढी शङ्का गर्ने छुट सबैमा रहेको अनि पढेपछि स्वीकार भावले पलक झुकाउने अधिकार पनि पाठकसँगै रहनेछ । 

पारिवारिक अवस्था

उहाँको पुर्ख्यौली घर काठमाडौँ नै हो । असन बालकुमारी मन्दिरको भित्र रहेको उहाँको र्ख्यौली घर उहाँलाई काठमाडौँ आएका बेला उहाँको बाजेले देखाउनु भएको  बताउनुहुन्छ, उहाँ । 

उहाँको पुर्खा काठमाडौँबाट भोजपुर जानुभएको  हो । इन्द्रजित सिंह नाम गरेका त्यस बेलाका जर्नेल राणाको सत्र,अठार श्रीमती मध्येको एक श्रीमती लिएर उहाँको जिजु बुबा टाप कस्नुभएको हो भोजपुर । 

त्यसबेला कानुनी रुपमा नै जार काट्न पाइने प्रावधान थियो । इन्द्रजितसिंह जार काट्न जान तयार हुनुहुन्थ्यो । तर, त्यसबेला उहाँ राणा प्रधानमन्त्री रणोद्धिप सिंहको विरुद्धमा उभिनु भएको रहेछ । 

तर, २०३८ सालको त्यो रणोद्धिप विरुद्धको पर्वमा उहाँ मारिनुभएछ । उहाँको जिजुबाको भाग्य नै भनौँ यसलाई उहाँ काटिनबाट जोगिनुभयो । फलस्वरूप आज नेपाली साहित्यले एक जना सशक्त हस्ताक्षर प्राप्त गर्‍यो कवि/ साहित्यकार शैलेन्द्र साकारका रुपमा । 

उहाँको जिबा, हजुरबा सबै हुलाकको मुखिया भएका कारण उहाँहरूलाई हुलाकीको सन्तान समेत भनिँदो रहेछ । गाउँमा उहाँहरूको परिचय नै हुलाकी जेठाको छोरा, नाति, पनातिको रुपमा प्रचलित समेत रहेको उहाँ बताउनुहुन्छ । 

उहाँको बाजे हुक्का खाँदै हुलाकको भित्रै पनि मुद्दाका कागज लेख्ने गर्नुहुन्थ्यो । घुस खाएको आरोपमा उहाँलाई जागिरबाट बर्खास्त समेत गरियो । पछि उहाँको आमाले राणासँग आएर रोइकराई गरेपछि उहाँको जागिर थमौती भएको बताउनुहुन्छ उहाँ । 

तर, पनि उहाँको जागिर भने छिट्टै गयो उहाँ भन्नुहुन्छ । घुस के हो र कति हो भन्ने बारेमा भने जानकारी नभएको बताउनुहुन्छ उहाँ । झगडियाका मुद्दा लेख्दै गर्दा उनीहरूबाट अन्न, कुराउनी जस्ता कोसेली पात आएको भने सम्झनुहुन्छ उहाँ । अनि उहाँहरूले त्यो खाएको पनि स्मरण छ उहाँमा । 

बाजेले पछि मुद्दाका यो यो कागज सार भनेर उहाँलाई समेत अह्राउनु हुन्थ्यो रे ! जसले गर्दा उहाँलाई फिराद पत्र, अर्जी पत्र, फारसे जस्ता कानुनी कुराको पनि ज्ञान भयो भने अक्षर पनि राम्रा भए उहाँ भन्नुहुन्छ । 

उहाँको बुवालाई भने यी काममा खासै रुचि भएन । उहाँले यी मात्र होइन कहिल्यै पनि कुनै काम गर्नुभएन । किन नगरेको भन्दा बुबाले गरेर कमाइरहनु भएकै छ, यसैले पुग्छ भनेर नगरेको भन्ने कुरा सुनिन्थ्यो उहाँ भन्नुहुन्छ । 

अनि जहिल्यै तास, पासा थर्की आदि खेल्ने गर्नुहुन्थ्यो रे !  बैठकमा बसेर पासा, थर्की, पोट, बार्ह फुस्सा भन्दै रमाइलोमा बित्यो रे !  उहाँले जे भन्यो पासामा त्यही आउने हुँदा पछि त उहाँलाई खेल्नै प्रतिबन्ध समेत लाग्यो रे ! तासमा पनि उहाँ जे चाह्यो त्यही काट्न सक्ने ।  अनि बुबाले भनेको सुन्दा सुन्दा उहाँलाई पनि पासा, थर्कीका बारेमा कण्ठ भैसकेका थिए उहाँ भन्नुहुन्छ । 

जन्म र बाल्यकाल 

उहाँको चार दाजुभाइ तथा पाँच दिदीबहिनी । जेठो दाजु साहित्यकार परशु प्रधान । त्यसपछिको उहाँ । 

उहाँको जन्म २००३ साल मङ्सिर १५ गते भोजपुरमा भएको हो । यो उहाँको जन्म पत्रिकाको मिति हो । नाम भने सोमराज । नागरिकतामा मिति भने उही । तर, नाम भने बिलकुल फरक शंकर प्रसाद श्रेष्ठ । 

उहाँले २०१९ सालमा रचनामा प्रकाशनका लागि साकार नामबाट एउटा कविता दिनुभएको थियो । तर, रोचक घिमिरेले साकार मात्र सारै छोटो भयो भनेर शैलेन्द्र थपिदिनु भयो । त्यहीँबाट उहाँ शैलेन्द्र साकार हुनुभएको हो । 

एउटा अचम्मको कुरा मान्छेहरू अमेरिकाको ग्रिन कार्ड प्राप्त गर्नका लागि के मात्र गर्दैनन् । तर, उहाँले भने गत वर्ष मात्रै ग्रिन कार्ड फिर्ता गर्नुभयो ।  ग्रिन कार्ड फिर्ता गर्दा पनि त्यसको पाँचवटा कारण दिनुपर्ने रहेछ । त्यसमध्येको एउटा भने उहाँले देश प्रेम भनेर लेख्नुभएको छ । त्यो कुराको महशुश पनि उहाँलाई अमेरिका गएपछि नै भएको हो ।

उहाँलाई खेलकुदमा असाध्यै रुचि । फुटबलमा पनि गोल नै गर्नुपर्ने, स्ट्राइकर । त्यस बेला फरवार्ड भनिन्थ्यो । पछि उहाँले अहिलेको डिफेन्स र पहिलेको ब्याक कीको रुपमा पनि खेल्नुभयो । 

पछि रुचिमा परिवर्तन भयो । उहाँलाई ब्याडमिन्टन मन पर्न थाल्यो । ब्याडमिन्टन खेल्न थाल्नुभयो । उहाँको दाइ परशु प्रधान र उहाँले ब्याडमिन्टनमा थुप्रै जिल्ला स्तरीय प्रतियोगिताहरू पनि जितेको बताउनुहुन्छ उहाँ । 

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा भोजपुरको विद्योदय माविमा भएको हो । उहाँको फुपूको छोरा विश्व प्रधान अनि काका गजन्द्रमणिले पढाए जस्तो लाग्छ उहाँलाई । बस्न भने भूँईमा नै पो हो कि उहाँ भन्नुहुन्छ । 

उहाँको काका रुद्र प्रधान भने हेडमास्टर हुनुहुन्थ्यो । यो उहाँले प्राथमिक शिक्षा हासिल गर्दाको कुरा हो । यो विद्योदय स्कुल खुल्नुमा भने नारदमणि थुलुङ तथा सहिद रामप्रसाद राईको मुख्य योगदान रहेको बताउनुहुन्छ उहाँ । रामप्रसाद राईको छोरी र उहाँको फुपूबिच मितिनी साइनो समेत रहेको थियो । 

उहाँ आफू पढाइमा खासै अब्बल नरहेको बताउनुहुन्छ । जहिल्यै तेस्रो पछिको चौथो हो उहाँ । नेपाली लगायत अन्य विषय राम्रो भए पनि उहाँको गणित भने कमजोर भएका कारण आफू पहिलो र दोस्रो हुन नसकेको बताउनुहुन्छ । 

पढाउने सरहरू धेरै बङ्गाली थिए । दार्जिलिङका पनि थिए केही । ज्योस्ना महेमुख उपाध्यायले गणित तथा पाण्डे सरले अङ्ग्रेजी पढाउनुहुन्थ्यो । महेशदास, बखानध्वज भन्ने सरहरू पनि थिए । पढाई भन्दा उहाँहरूको खेलकुद भने साह्रै राम्रो उहाँ भन्नुहुन्छ । 

फुटबल, नाचगान आदिमा भने सबै राम्रो थियो । अनि त्यहाँ हुने उधौली मेलामा सबै नाच्ने पनि गर्थे उहाँ भन्नुहुन्छ । अनि मेलामा उहाँको फुपूहरूले पसल समेत राख्ने गर्नुहुन्थ्यो । भोजपुरमा करिब पचास प्रतिशत राईहरू छन् भने अन्य जात त्यसपछि रहेका छन् । नेवारहरू व्यापार गर्न धुलिखेलबाट समेत गएर बसेका छन् । राणा, शाह भने आफूले एउटा पनि नदेखेको बताउनुहुन्छ उहाँ । 

उहाँको घर भोजपुर बजारमै थियो । उहाँ स्कुल पढ्दा अलि सानै हुनुहुन्थ्यो । कक्षामा चार जना केटी थिए । सानो हुँदा प्रेम गर्ने भन्ने पनि रहेन । र, अर्को कुरो भनेको ती सबै चार जना केटी उहाँको नाता पनि पर्ने भएकोले यो 'च्याप्टर त्यसै क्लोज' उहाँ भन्नुहुन्छ । 

पहिलो पटक काठमाडौँ  

उहाँ २०१९ सालमा पहिलो पटक काठमाडौँ आउनु भएको हो । उहाँ काठमाडौँ आउनका लागि हिँडेर धरानसम्म आउनुभयो । अनि बल्ल गाडी चढ्नु भएको हो विराटनगरसम्म । गाडी चढेको र देखेको त्यही बेला हो उहाँले । 

विराटनगरमा उहाँको साथी सुन्दर र उहाँ काठमाडौँ आउनका लागि पहिले जोगबनी अनि जोगबनीबाट रेलमा फारबिसगंज नटियागंज विहार घुमेर रक्सौल र रक्सौलबाट वीरगन्ज हुँदै गाडीमा भैंसेहुँदै काठमाडौँ । 

त्यसबेलाको एउटा रमाइलो घटनाको स्मरण गर्नुभयो उहाँले । काठमाडौँ आउने क्रममा अर्को एक अपरिचित यात्रुले तिमीहरू काठमाडौँ पढ्न जान लागेको जस्तो देखिन्छौ भन्यो । काठमाडौँमा बस्न डेरा नपाइन सक्छ । मेरो कमलपोखरीमा घर छ । तिमीहरू त्यहीँ बस्नु । बरु भाडा पचास रुपैयाँ अहिले दिइराख भनेर पनि भन्यो । 

उहाँहरूसँग चार पाँच सय रुपैयाँ थियो गोजीमा त्यस बेला । अनि उहाँहरूले काठमाडौँको डेराको झन्झटबाट मुक्ति पाइयो भनेर पचास रुपैयाँ झिकेर दिनुभयो । तर, काठमाडौँ ओर्लँदा त्यो मान्छे भने गायब । त्यो मान्छे कहाँ, कतिखेर झर्‍यो नै थाहा छैन उहाँहरूलाई । 

उहाँहरू भने काठमाडौँको सुनधारामा झर्नुभयो । सुनधारामा झरेपछि उहाँ त धरहरा हेरेको हेर्यै । उहाँले यत्तिको विशाल संरचना कहिल्यै पनि देख्नु भएको थिएन, उहाँ भन्नुहुन्छ । काठमाडौँमा पानी परेर रहेको रहेछ । सुनधारामा हिलो नै हिलो । उहाँले हिलोमा टेक्दा बल्ल थाहा भयो उहाँको खुट्टामा त जुत्ता नै रहेनछ । उहाँलाई लाग्छ त्यो रेलमा कतै झरेको हुनुपर्छ । 

सुनधारामा झरेपछि कहाँ जाने भन्ने पनि थाहा थिएन । अनि हिँड्दै गर्दै एक जना मान्छेले भोजपुरको हरिप्रसाद नेपाल चिनेको छ भनेपछि उहाँले किन नचिन्नु । मञ्जुल, प्रदीप नेपालको काका त हो भन्नुभो । 

उहाँ नक्साल चार ढुङ्गेमा बस्नुहुन्छ भनेपछि उहाँ नक्साल पुगेर पत्ता लगाएरै छोड्नुभयो हरिप्रसाद नेपालको डेरा । दुई जना भएकोले नक्साल त पत्ता लगाउनु भयो । तर, उहाँ नक्सालबाट कहिल्यै पनि एक्लै न्युरोड आउन सक्नुभएन । जहिले पनि हराइन्थ्यो उहाँ भन्नुहुन्छ । अर्को कुरा न्युरोडको रञ्जना सिनेमा हलबाट बाहिर निस्क्यो भने कहिले पनि रञ्जना सिनेमा फर्केर जान सकिएन उहाँ भन्नुहुन्छ । 

कलेज अफ एजुकेसन 

मेट्रिक पास भएर काठमाडौँ पढ्न आएको केटो कलेज 'जवाइन' नगरी त भएन । अनि उहाँले लाजिम्पाट चेत भवनमा रहेको कलेज अफ एजुकेसन 'जवाइन' गर्नुभयो । पचपन्न रुपैयाँ दिन्थ्यो भन्ने कलेजले सुन्नु भएको पनि हो । तर, कलेज कहिले पनि जान मन लागेन उहाँ भन्नुहुन्छ । 

उक्त समयमा नै हो उहाँको थुप्रै साहित्यकारहरूसँग परिचय भएको । फुलटाइम कवि भएर पो बिते उहाँका ती दिन । मोहन कोइराला, कृष्णभक्त, द्वारिका, उपेन्द्र श्रेष्ठ, भूपी शेरचन, पारिजात लगायत थुप्रै साहित्यकारसँग उठबस भयो उहाँको । 

उहाँ यतिसम्म कवि हुनुभएछ कि खाने, बस्ने उठबस आदि केहीको पनि पत्तो नहुने उहाँ भन्नुहुन्छ । उहाँ त चौबिस घण्टे कवि । तर, त्यस बखत लेखिएका कविता कता गए अहिले भेटिंदैनन उहाँ भन्नुहुन्छ । 

त्यसबेला उहाँहरूका रचना छापिँदैनथे । अनि खोज्दै हिंड्नुर्थ्यो, उहाँ भन्नुहुन्छ । त्यसै हिँड्ने क्रममा उहाँको काका गजेन्द्रमणि प्रधानसँग भेट भयो अचानक । काकाले उहाँलाई सोध्नु भो के गरिराछस काठमाडौँमा ? केही होइन यसै कविता सविता लेख्दै उहाँले जवाफ दिनुभयो ।  मेट्रिक गरेको चार बर्ससम्म पनि उहाँले आइएसम्म पनि गर्नुभएको रहेनछ कवि बन्ने चक्करमा । कविता लेखेर महान् अनि प्रसिद्ध हुन्छु भन्ने पनि थिएन । एउटा लहडमा त्यसै कवि भइएछ उहाँ भन्नुहुन्छ । 

काठमाडौँमा त्यसबेला जाडो पनि भयङ्कर हुन्थ्यो उहाँ भन्नुहुन्छ । अनि उहाँलाई भने लाउने खाने केही मतलब नहुने । एउटै लुगा महिनौँ लगाको छ ।  खाना बनाउन पनि नजान्ने केही गर्न नजान्ने । पैसा पनि नपुग्ने । त्यसपछि उहाँलाई लाग्यो यसै बस्नुभन्दा त घरमा गयो भने कमसेकम खाने चिन्ता त हुँदैन । 

पहिले नै आमा बुबाले त्यो केटो काठमाडौँमा त्यसै बसिरहेको छ त्यसलाई जहाँ भेट्यो त्यहीँबाट ल्याउनु भनेको रहेछ काकालाई पनि । अनि काकाले अब हामी भोलि नै भोजपुर जानुपर्छ कहीँ नजानु भनेर गुच्चा टोलको उहाँको डेरामा लगेर राख्नुभयो । फर्केर फेरी भोजपुर गएपछि उहाँ पढाउन थाल्नु भो नेपाली लगायतका विषय । आफ्नै काका हेडमास्टर हुनुहुन्थ्यो मास्टरको जागिरको चिन्तै भएन ।

त्यस बेला उहाँको मास्टरको जागिरेको रुपमा तलब एक सय साठी रुपैयाँ थियो । त्यो नै उहाँको जीवनको पहिलो कमाई थियो । पहिलो तलबले के गर्नुभयो भन्दा खासै त्यस्तो केही गरिएन उहाँ भन्नुहुन्छ । आमालाई दिएजस्तो लाग्छ उहाँ भन्नुहुन्छ । 

अनि ज्यान पनि केही फेरियो । पढाउन थालेपछि पढ्नु पर्ने रहेछ भन्ने पनि आयो मनमा उहाँ भन्नुहुन्छ । अनि फर्म भरेर विराटनगर आएर २०२३ सालमा आइए दिनुभयो । रिजल्ट भएको थिएन जे होला होला भनेर फेरी काठमाडौँले तान्यो उहाँलाई । 

फेरी काठमाडौँ 

फेरी काठमाडौँ आएपछि उहाँ, मञ्जुल तथा रमेश श्रेष्ठ लैनचौरको सरस्वती कलेजमा राति पढ्ने तथा दिउँसो जागिर खोज्न थाल्नुभयो । त्यसपछि उहाँ र मञ्जुलसँगै बस्न थाल्नु भयाे । 

नेपाली पढाउने भरतराज पन्त, अङ्ग्रेजी पढाउने रामावतार यादव आदि शिक्षक पनि सम्झनुहुन्छ उहाँ । कलेजको फि साठी रुपैयाँ थियो । दुइवर्ष पढेपछि पैसा नभएर कलेज छोडियो उहाँ भन्नुहुन्छ । अनि उहाँलाई थाहा भयो तीन सय साठी रुपैयाँमा त प्राइभेटमा फर्म भर्न पाइने रहेछ । उहाँले काकासँग पैसा मागेर फर्म भर्नुभयो । पढ्न त कलेजमा पढेकै थियो । 

उहाँको त्यति राम्रो नम्बर अहिलेसम्म कहिले पनि नआएको उहाँ बताउनुहुन्छ । सन्ताउन्न प्रतिशत नम्बर आएको रहेछ उहाँको बिएमा । नेपालीमा त उहाँको त्रियासी नम्बर आएको रहेछ त्यस बेला । त्यो प्रमाणपत्रले उहाँलाई जागिर खाने बाटो भने सहज बनाएको उहाँ बताउनुहुन्छ । 

सेक्सन अफिसर

उहाँ २०२७ सालमा सेक्सन अफिसर हुनुभयो । उद्योग वाणिज्य विभागको । अनि दमौली जानुभयो काम गर्न । बन्दीपुरबाट दमौलीमा भर्खर सदरमुकाम सरेको थियो । अनि सदरमुकाम सारेको विरोधमा प्रदर्शन हुँदा एक जना निर्मल भन्ने युवक मारिएका थिए । उनको नाममा निर्मल स्कुल खुलेको थियो । रामचन्द्र पौडेल र गोविन्दराज जोशी त्यस बेला नेता बनेर हिँड्नु भएको थियो । 

त्यस बेला सिडिओ राजेन्द्रपुरुष ढकाल हुनुहुन्थ्यो । अनि उहाँहरू भेट्न आउनु हुन्थ्यो सिडिओ र उहाँलाई । त्यसबेला विपीले आन्दोलनको घोषणा गर्नुभएको थियो । तर, उहाँहरू भने विपीले आन्दोलनको घोषणा गर्दैमा आन्दोलन  हुन्छ भनेर भन्दै हिँड्नुहुन्थ्यो । त्यसको कारण भने सिडिओले समात्छ भनेर 'चलाख' बनेका रहेछ उहाँ भन्नुहुन्छ । 

देवानसिंह राईको छोरी लक्ष्मी राईले एउटा पुस्तक विमोचन समारोहको बेलामा उहाँलाई बोलाउनु भएको थियो । अनि त्यसबेला रामचन्द्र पौडेल पनि हुनुहुन्थ्यो । दमौलीमा चिनेको यो प्रसङ्ग पनि उठाउँदा रामचन्द्रजीले पछि स्मरण गरेको पनि बताउनुहुन्छ उहाँ । 

त्यसबेला उहाँ एकडेढ वर्ष जति दमौली बस्नुभयो । उहाँको तलब त्यस बेला चार सय रुपैयाँ थियो । पैसा अलि बचत भयो अब घरजम गर्नुपर्छ भनेर उहाँले त्यसपछि बिहे गर्नु भएको हो । 

विवाह

उहाँको विवाह २०२८ सालमा भएको हो । काठमाडौँ आएर कुपण्डोल तिर घुम्दा सँगै म्याट्रिक दिएका कुलबहादुर भन्ने साथी भेट भए । अनि घर जाऊँ भनेपछि गइयो, उहाँ भन्नुहुन्छ । 

उहाँले बहिनीलाई चिया ल्याउन अह्राउनु भयो । अनि साथीले उहाँको दाइलाई भाइले बहिनी बिहे गर्ने भए कुरा गरे हुन्छ भन्नुभएछ । उहाँले पनि देखिसकेको हुनाले कुरो पक्का भएर बिहे भयो । 

उहाँको दुई छोरा अनि एक छोरी । उहाँको जेठा छोरा अमेरिकाको सिटिजन भैसक्नु भएको छ । जसका कारण उहाँलाई पनि ग्रिन कार्ड प्राप्त भएको थियो । तर, दुखद कुरा उहाँको भने देहान्त भयो अमेरिकामै । हाल बुहारी अनि दुई नातिनी भने अमेरिकामै हुनुहुन्छ । यसो भन्दै गर्दा उहाँको अनुहार मलिन देखिन्थ्यो । एउटा आमाबाबुले कल्पना नगरेको विषम परिस्थितिको सामना गर्नुपर्दा कसको मन नरोला र !?

छोरी पनि अमेरिकामै हुनुहुन्छ । उहाँले अब पाँच छ महिना पछि फेरी अमेरिका घुम्न जाने योजना बनाउनु भएको छ । तर, एउटा अचम्मको कुरा मान्छेहरू अमेरिकाको ग्रिन कार्ड प्राप्त गर्नका लागि के मात्र गर्दैनन् । तर, उहाँले भने गत वर्ष मात्रै ग्रिन कार्ड फिर्ता गर्नुभयो । 

ग्रिन कार्ड फिर्ता गर्दा पनि त्यसको पाँचवटा कारण दिनुपर्ने रहेछ । त्यसमध्येको एउटा भने उहाँले देश प्रेम भनेर लेख्नुभएको छ । त्यो कुराको महशुश पनि उहाँलाई अमेरिका गएपछि नै भएको हो । उहाँको एक छोरा भने अहिले उहाँहरूसँगै काठमाडौँमा हुनुहुन्छ । 

अर्को करिअर 

बिहेपछि उहाँलाई दमौली जान मन लागेन । अनि औलो उन्मुलन सङ्घमा प्रशासकीय अधिकृत मागेको थियो । अफिस थियो कमल पोखरीमा । नाम निस्कियो । त्यहाँ करिब एकडेढ वर्ष काम गर्नुभयो । 

त्रिभुवन विश्वविद्यालयले त्यसपछि उप रजिस्ट्रार र सुपरिटेन्डन्ट मागेको थियो । उहाँको नेपाली र अर्को एक विषयमा पनि एमए थियो । अन्तर्वार्ता लिने हुनुहुन्थ्यो डा.मोहनमान सैंजु’ । उहाँले कुनमा जागिर खाने भनेपछि उहाँको रोजाईमा पर्‍यो उपरजिस्टार ।  पछि सँगै पढेका साथी ज्ञानेन्द्रराज कोइरालाले कृषि विकास बैङ्कमा जागिर खानुपर्छ भन्नुभयो । अनि उता छोडेर उहाँ लाग्नुभो ब्याङ्कतिर । 

चार हजार जनाको दरखास्त परेको थियो चालिस जनाको दरबन्दीमा । उहाँको नाम निस्कियो । अन्तर्वार्ता लिनेमा हुनुहुन्थ्यो लोकबहादुर विष्ट । रामायणको चार लाइन भन भन्नु भयो । 

एक दिन नारद ...भन्दै हुनुहुन्थ्यो । उहाँले किन विश्वविद्यालय छोड्न लाको भनेर पनि सोध्नु भयो । शायद उहाँलाई उहाँका बारेमा सबै थाहा रहेछ । श्रीकृष्ण उपाध्याय सँगै हुनुहुँदो रहेछ । अब मेनेजर हुन मन लाग्यो नि होइन ? भन्नुभयो । उहाँले त्यो पनि हो भन्नुभयो । नाम निस्कँदा पहिलो श्याम बहादुर खड्का र दोस्रोमा उहाँको नाम रहेछ । 

जागिर खाँदै गर्दा एक दिन ठाकुरनाथ पन्त आउनु भयो र शंकर प्रसाद श्रेष्ठ भन्ने मान्छे को हो भनेर सोध्नु भयो। उहाँले मैले तिम्रो कापी जाँचेको हुँ । तिम्रो लेखाई साह्रै राम्रो भएकोले भेट्न चाहन्थे भनेर भन्नुभयो । खासमा भएको के रहेछ भने परीक्षाको क्रममा निबन्ध लेख्दा उहाँले 'ऋण दिँदा आवश्यकता भएको मान्छेलाई दिने हो लोभीलाई होइन' भनेर लेख्नु भएको रहेछ जो पन्तजीलाई साह्रै नै घत परेको वाक्य रहेछ । 

अनि जागिर खाँदा पोखरा खटायो । त्यसबेला फेरी पोखरेली साहित्कारहरुसँग जमघट भयो । सरुभक्त देखि लिएर तीर्थ श्रेष्ठ अनि विजय बजिमयसँग सङ्गत भयो उहाँ भन्नुहुन्छ । 

एक वर्ष पोखरा बसेपछि काठमाडौँ सरुवा भयो उहाँको । अनि काठमाडौँमा बैङ्क समाचार निकाल्ने आदि काम भयो । अब यसरी मात्र भएन एउटा साहित्यीक पत्रिका पनि निकाल्नु पर्‍यो भनेर समष्टि निकाल्ने काम भयो । जसको उहाँ अहिले पनि सम्पादक हुनुहुन्छ । 

त्यही बिचमा उहाँ अमेरिका जानुभयो । अनि एकडेढ वर्ष बसेर फर्किनु भयो । यसै मेसोमा बैङ्कले दिएको गोल्डेन ह्याण्डसेकको सुविधा लिएर उहाँले पच्चीस वर्षे जागिर छोड्नु भएको हो । 

उहाँले नवौँ तहमा अवकाश लिनु भएको हो । २०३६ सालमा सडक कविता क्रान्ति गरेकाले उहाँको रेकर्ड बिग्रिएको रहेछ । नत्र सरासर बढवा भएको उहाँ माथि नै पुग्ने बताउनु हुन्छ । १४ वर्ष अधिकृत भए पनि उहाँको बढुवा भने भएको थिएन । अनि २०४६ सालमा भोक हडताल गरेपछि बल्ल उहाँको बढुवा भएको हो । 

साहित्यमा लागेर कुनै बेला किन लागिएछ भन्ने क्षण नआएको पनि होइन भन्नुहुन्छ उहाँ । तर, मैले साहित्य नलेखेको भए के गर्थेँ त भन्ने कुराले मैले आफुलाई बुझाएको हुँ उहाँ भन्नुहुन्छ । 

जागिर मात्र खाँदा त भूतपूर्व होइन्छ, त्यसैले त्यो भूतपूर्वको अगाडि 'अ' थप्ने काम गर्नुपर्छ भन्ने उहाँको मान्यता रही आएको छ । जो उहाँको साहित्यले उहाँलाई प्रदान गरेको छ । 

सङ्घसंस्थामा संलग्नता

उहाँ साझा प्रकाशनको सञ्चालक र अध्यक्ष, रेडियो नेपालको सल्लाहकार, सूचना प्रमुख कृषि विकास बैङ्क,  प्रधान सम्पादक चिन्तन,  मन्त्र समष्टि  छिन्नलता गुठीको प्रबन्ध समितिमा हुनुहुन्छ उहाँ । भारती खरेल प्रतिष्ठानको अध्यक्ष । नेपाल स्रष्टा समाजको उहाँ संस्थापक अध्यक्ष । साथै बुट पालिस अभियान, अस्वीकृत जमात, सडक कविता क्रान्ति, काव्य काया कल्पमा समेत उहाँको संलग्नता रहेकाे छ । 

प्रकाशन

उहाँको पाँचवटा कविता सङ्ग्रह, तीन कथा, एक नियात्रा, एक संस्मरण प्रकाशित भएका छन् । दुइवटा उपन्यासमा सह लेखन । उहाँको तीन वटा कृतिहरू प्रकाशनको क्रममा रहेका छन् । 

पुरस्कार 

युगकवि सिद्धिचरण काव्य पुरस्कार, हरिहर शास्त्री सावित्री देवी सम्मान, मुस्याचु पुरस्कार, मधुपर्क सम्मान, छिन्नलता सम्मान, लिला ध्वज थापा सम्मान, अन्नपूर्ण सम्मान, आभा काव्य सम्मान, भोजपुर बेलायत प्रतिष्ठान सम्मान, अन्तर्राष्ट्रिय साहित्य सम्मान, सत्यमोहन जोशी महोत्सव सम्मान, देवकोटा काव्य पुरस्कार आदि उहाँका मुख्य सम्मान र पुरस्कार हुन् । 

अन्त्यमा 

एक लाइनमा भन्ने हो भने निरन्तर सङ्घर्ष, मेहनत र निरन्तरता पछि सफलता निश्चित छ । यो उहाँको जीवनबाट जो कसैले सिक्न सक्ने सारतत्त्व हो ।