लाहुरेले बनाए डाँडामा पार्क

लाहुरेले बनाए डाँडामा पार्क

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २, २०७६

सुनसरी । भिक्टोरिया क्रस विजेता ८४ वर्षीय रामबहादुर बेघा लिम्बू दोस्रो पटक धरानको ब्रिटिस गोर्खा स्मृति पार्कमा आउँदा ऊ बेलाको जोस सम्झेर हौसिए । ‘अवकाश पाएर नेपाल आएपछि मैले पनि यस्तै पार्कको कल्पना गरेको थिएँ,’ दुई वर्षअघि आफैंले शिलान्यास गरेको गोर्खा स्तम्भ नियाल्दै उनले भने, ‘यसले गोर्खाको इतिहास र पहिचान जीवित राख्छ, नयाँ पुस्ताले पुर्खाका बारेमा थाहा पाउनेछन् ।’ 

बेघा यस पटक पार्कमा करिब ७५ लाख रुपैयाँ लागतमा तयार गोर्खा चमेना गृह उद्घाटन गर्न आएका थिए । पहिलो र दोस्रो विश्वयुद्धपछि पनि धेरै युद्ध लडेका वीर गोर्खाहरूको अलग इतिहास र पहिचान छ ।

तिनको सम्मान गर्दै इतिहास अभिलेखीकरण र नयाँ पुस्तालाई अध्ययन–अनुसन्धानमा सघाउन गोर्खा लाहुरेहरूले गोजीबाट पैसा हालेर धरान–२० विष्णुपादुकास्थित माछामारा डाँडामा स्मृति पार्क बनाएका हुन् । सिपाहीदेखि विभिन्न पदबाट अवकाश पाएका लाहुरेहरूले डाँडापाखालाई गोर्खाको इतिहास सम्झाउने संग्रहालयका रूपमा विकास गर्न खोजेकामा बेघाले प्रशंसा गरे । ‘यो पार्क पूर्ण रूपमा बने धरान मात्र नभएर प्रदेश १ कै सार्वजनिक सम्पत्ति बन्नेछ,’ उनले भने, ‘पूर्वको पर्यटकीय केन्द्र बन्नेछ ।’ आजको कान्‍तिपुर दैनिकमा खबर छ ।