गाँजा गन्हाउने सियाँल : शिव र गणेशको मूर्तिले शोभायमान बर्लिनको मुख्य चोक

फर्कलान् र ती दिनहरु

गाँजा गन्हाउने सियाँल :  शिव र गणेशको मूर्तिले शोभायमान बर्लिनको मुख्य चोक

हरिविनोद अधिकारी  |  साहित्य  |  माघ ३, २०७७

जीवन त धेरै जटिल पनि हो रहेछ, सहज पनि हो रहेछ । जसरी बाँच्ने हो, कसरी भन्ने पनि त थाहा छैन नि ! नत्र त त्यसरी नै  बाँचिन्थ्यो होला । यायावर भएर घुम्नु पनि पर्दो रहेछ र कहिले यायावर हुनलाग्दा समयले चरणबद्ध काँटी लगाएर पनि बाँधेर राख्ने रहेछ । यही त रहेछ जीवन र जीवनको रहस्य । सायद त्यसैले होला, भनिन्छ, सबैभन्दा रहस्यमय भनेको नै मानव जीवन हो । हुन त हामीले नै बनाएको हो यो रहस्यमय भनेर र सहज भनेर । एउटै कुरामा कसैलाई सहज हुने अनि कसैलाई जटिल हुने पनि त हुन्छ नि । 

त्यस्तै भयो भर्खरैजस्तो मलाई । पुस २५ गते राती सदाझैँ खाना खाएर पानीमो बाफ लिएर सुतेँ । २६ गते विहानपख जब उठ्छु त भननन्न रिँगटा पो लागेको छ । पर्खाल समाएर दैनिक कार्यबाट निवृत्त भएँ तर नुहाउने आँट आएन । सदाझैँ रेडियो पनि सुनेको थिइन । रिँगटा भने लागेकै थियो । ओखती खाएँ, पानी खाएँ तर कसैलाई किन पनि केही भनिन भनेँ एकछिनमा ठिक भइहाल्छ नि !

 किनभने त्यस्तो रिँगटा त मैले भोगेकै थिइँन । पहिले पनि लाग्थ्यो रिँगटा तर त्यस्तो कोठै रिँगाउने गरी लाग्दैनथ्यो । अनि त खाएको पानी र ओखती बिस्तारै माथिबाट जान थाल्यो, गयो । सदाझैँ कान्तिपुरको हेडलाइनर्स सुनेर उठ्ने मानिस पोने नौ सम्म नउठ्दा देवकीजी (पत्नी अर्थात् मेरा सन्ततिका माता )ले के हो आज बाबा नै यति अबेरसम्म सुतेको होला ? अनि बिस्तारै सोधेको जस्तो लाग्यो-आराम छैन कि क्या हो ?

मैले भनेँ-आज रिँगटा धेरै लाग्यो अनि सुतेको । अनि बुढीमान्छेलाई हुटहुटी सुरु भयो र छोरा बुहारी छोरी नातिनीहरु सबैलाई तत्कालै अस्पताल लैजानका लागि कराउन थालिन् । अनि मलाई बीपीको हिटलर र यहुदीको म पात्रको सम्झना आयो । त्यहाँ पनि म पात्रलाई क्यान्सर हुन्छ तर पैसाको समस्याको समाधान, टिकटको समस्याको समाधान , कुन अस्पतालमा कहिले जाने भन्ने चिन्ता लक्ष्मी पात्रालाई हुन्थ्यो । म बिरामी थिएँ सामान्य रिँगटा लागेको जस्तो लागेको थियो, बान्ता त यसरी हुँदै  थियो कि पेटमा केही पर्‍यो कि नअडिने ।

राजधानी बर्लिनको मुख्य प्रशासनिक तथा आर्थिक क्षेत्रमा पर्ने बर्लिनको पूर्वी भाग जहाँ सँसद भवन छ, मुख्य दूरसञ्चारको टावर छ, जहाँ हजारौँ पर्यटकहरुले दिनौँ दृश्यावलोकन गर्छन् , त्यस्तो ठाउँमा शिवजीको त्रिशूलधारी भयानक मूर्ति यसरी राखिएको छ कि त्यहाँ चौबिसै घण्टा पानीको फोहोरा निःसृत हुन्छ । पानी पनि कसरी दिइएको छ भने त्यो मूर्ति नै अवलोकन गरेपछि मात्र थाहा हुन्छ । त्यसको निकट नै गणेशको मूर्ति छ जहाँ गणेशले ट्याम्को बजाइरहेका देखिन्छन्, नजिकै मुसोे पनि छ । 

ग्यास्ट्रिक हो कि सुगर कम भएको हो भनेर तत्कालै क्याडवरी चकलेट खुवाए र पानी खुवाए । निरन्तर खाने सुगरको ओखती खुवाएर खाना खुवाए तर केही पनि अडिएन । निर्जलीय अवस्था पो आयो । अनि सबैले मेरो रक्तचाप र मधुमेहको निरन्तर जाँच गर्ने र ओखती गर्ने प्रिय विद्यार्थी तर मुटुको विशेषज्ञ चिकित्सक वरिष्ठ मुटुविद् डाक्टर दिवाकर शर्मालाई फोन गरेँ र समय मागेँ । उनले पनि तत्कालै वानेश्वरको क्लिनिकमा आउनका लागि सल्लाह दिए । म तत्कालै गएँ ।

उनले बान्ता नहुने र रिँगटा नलाग्ने ओखती दिए तर त्यो पनि तत्कालै बान्ता भएपछि मसँग गएका छोराहरु, छोरी, ज्वाईँसाहेब सबैलाई दिवाकरले इमर्जेन्सीमा तत्काल भर्ना गर्न सल्लाह दिए र म तत्कालै बयोधा अस्पतालको इमर्जेन्सीमा भर्ना भएँ । सबैप्रकारका जाँच भयो, तर अहिले पनि जाँचको प्रक्रियामा छु । मधुमेहको अवस्था सीमाबाट माथि देखियो, अरु भन्दा पनि कानको कारणले पनि यस्तो भएको हुनसक्ने शंका छ, त्यसैले म अब आदरणीय वरिष्ठ नाक कान घाँटीका चिकित्सक तथा पूर्व राजदूत मेरा पुराना मित्र प्राध्यापक डाक्टर चोपलाल भुसालको निगरानीमा रहने विचार गरेको छु ।

डाक्टर चोपलाल भुसाल भनेको मूलतः श्रमिकहरुको भलाइमा लागिरहने वरिष्ठतम चिकित्सक हुनुहुन्छ । त्यो स्तरको चिकित्सकहरुले सामान्यतः श्रमिकहरुसँगको सहकार्य गरिरहेका पाइँदैनन् जबकि उहाँ नेपाल ट्रेड युनियन काँग्रेसको २०४७सालमा पुनर्संगठन भएदेखि नै त्यसमा सामाजिक सेवाको रुपमा कार्यरत हुुनुहुन्थ्यो र प्रजातन्त्रवादीहरुको स्वास्थ्यकर्मी संघको स्थापना नै गराउनु भयो । एउटा साधारण जीवन निर्बाह गर्ने त्यो महान चिकित्सक डाक्टर भुसाल, जसमा कुनै अहङ्कार छैन र आफ्नो कामका लागि अनवरत लागिरहने चिकित्सक अनि सफल कूटनीतिज्ञको रुपमा समेत चिनिनु भएको छ । म त आफूलाई उहाँको चिनजानको एउटा मित्र हुँ भन्दा पनि गौरब लाग्छ । 

यो शरीरको अवस्था सोचेजस्तो पनि त हुने रहेनछ । एकछिन अघिसम्म ठिक भनेको शरीर यन्त्र एकछिनमा के हुने के हुने रहेछ । मेरो अनुभव कस्तो थियो भने मैले मेरो आमा, मेरी श्रीमती, मेरो दाजु गणेशप्रसाद अधिकारी(स्वर्गीय हुनुभयो दुई वर्ष पहिले), आदिलाई अस्पतालमा इमर्जेन्सीमा राखेको थिएँ, शल्यक्रिया गराएको थिएँ र आफू महिनौँ अस्पतालमा बसेको थिएँ तर आफू विरामी भएर भने ६६ वर्षको उमेरमा मात्र अनुभव लिन पाएँ भन्नुपर्‍यो । म अस्पतालमा बसेर ओखती गरेको मलाई नै थाहा थिएन भने अरुले के थाहा पाउनू । तर त्यो पनि अनुभव लिएँ । यसो हेर्दा मधुमेहको अवस्था नियन्त्रणमा राख्नु पर्ने देखियो, कानको हेरचाह बढी गर्नुपर्ने अवस्था देखियो । यी त देखिने उपचारात्मक अवस्था हुन् , थाहा छैन अरु के के हुन सक्छ होला । होला पछि । उमेरको पनि कुरा हो । २६गते पुस रातभर पनि प्रयोगशालाको रुपमा रहियो, अनेकप्रकारका परीक्षण गरिए ।

सायद सोडियमको मात्रामा कमी हुनसक्ने देखियो क्यारे ! हुन त निर्जलीय अवस्थामा हेरिएको परीक्षण र अब गरिने परीक्षणमा केही फरक आउला कि भनेर नै अनुगमनमा जानु पर्ने छ । धन्यवाद छ डाक्टर दिवाकर अनि डाक्टर कुणालविक्रम शाह जसले मेरो राम्रो रेखदेख गर्नुभयो । संयोग पनि कस्तो भने दिवाकरलाई मैले लेबोरेटरी स्कुलमा पढाएको थिएँ, साह्रै असल विद्यार्थी र जिज्ञासुको रुपमा लिएको थिएँ, कुणाल शाहचाहिँ दिवाकरको पनि विद्यार्थी रहेछन् । सायद कुणाल पनि अब मुटु रोग विशेषज्ञको रुपमा बयोधा अस्पतालमा सेवारत रहेछन् । सायद अरु २-४ वर्षमा कुणालको विद्यार्थी पुस्ता पनि निस्कलान् । सायद लुना भट्ट पनि संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अब सिराक्युजमा वरिष्ठ मुटु विशेषज्ञको रुपमा सेवारत छिन् भन्ने सुनेको छु । उनले लेबोरेटरी स्कुलबाटै २०३८सालमा एस एल सीमा बोर्ड फस्र्ट गरेकी हुन् र नेपाली शिक्षाको इतिहासमा पहिलो छात्रा भइन् प्रथम श्रेणीमा प्रथम हुने । 

मेरा पुराना यादहरुका शृंखलामा फर्किन्छु अब । हुुन त मेरा पुराना समयदेखिका अभिन्न मित्र प्राध्यापक कोषराज न्यौपानेजीको धारणा छ, खिचडी किन बनाए्को होला कुनै पनि यादलाई लेखलाई भनेर । एकदम सही सल्लाह त हो तर  जीवन नै त खिचडी रहेछ नि ! सबै स्वाद मिल्नै पर्ने, अनिमात्र स्वादिलो हुने । 

मेरो अमेरिका यात्रा हुन त संयुक्त राष्ट्रसंघको साधारण सभाको प्रतिनिधित्वका लागि थियो तर आफ्नै प्रत्यक्ष अवलोकनद्वारा अमेरिकी विश्वविद्यालयहरुको अनुभव बटुल्नु थियो, सकेसम्म विद्यावारिधिमा भर्ना हुन पाइन्छ कि भन्ने पनि थियो । सुधीर बाबु राजदूतावासकै अधिकृत कूटनीतिज्ञ, म उहाँकै निवासमा बसेको अनि मेरालागि राष्ट्रसंघीय मिसनका समाचारहरु जानकारीमा हुने नै भए । अनि मैले भनेँ- बाबु, म सियाटल त  जान्छु नै बहिनीको निवासमा, अनि क्यानाडा त्यहाँबाट नजिक छ क्यारे , भिसा लिन पाए हुन्थ्यो कि ?

उहाँले तत्काल महामहिम मधुरमण आचार्यजीसँग छलफल गरेर मेरालागि चिठी तयार गर्नुभयो र त्यही दिनको करिब चिठी दर्ता गरेको आधा घण्टामा कूटनीतिक भिसा दियो । तर दुर्भाग्यवश मैले  क्यानाडा टेक्ने अवसर पाइँन कारण थियो मैले ग्याजुएट रेकर्ड इक्जामिनेसनको तयारी गर्दा समय पुगेन किनकि मेरो फर्कन बेला भइसकेको थियो । मैले घुमेको विश्व विद्यालय भनेको युनिभर्सिटी अव वासिङ्टन यु डब भन्दारहेछन् छोटकरीमा । त्यहाँ निवेदन दिन विश्वविद्यालयमै पुगेँ र वरिष्ठतम प्राध्यापक डाक्टर नाथाली गेहेर्कीसँग सल्लाह गरेर फाराम भरेँ जुन कुरा अपवादमा मात्र सम्भव हुँदो रहेछ । अनि गएँ निवेदन दर्ता गर्न जुन ९०प्रतिशत कुराहरु अनलाइन नै पठाएको थिएँ । अनि निवेदन शुल्क ७५ डलर रहेछ ।

जब रकम दिन म पर्सतिर हात हाल्न थालेँ, उनीहरु छक्क परे र सोधे—पैसा त क्रेडिट कार्डबाट मात्र बुझिन्छ । म पनि नेपालमा एम एड कक्षा सञ्चालन गर्ने क्याम्पस चिफ थिएँ जहाँ नगदबाट मात्र कारोबार हुन्थ्यो । आखिर उनीहरुले दिने एमएड को प्रमाण पत्र र मैले दिने प्रमाणपत्र एउटै मूल्यका थिए तर व्यवस्थापनमा कत्रो फरक ? कहाँ त्रिभुवन विश्वविद्यालयको अवस्था र कहाँ यु डबको अवस्था ? बहिनी जगदम्बाले नै मलाई विश्वविद्यालयको हातामा छोडेर आफ्नो काममा गएकी थिई । र बेलुका अफिसबाट फर्कने बेलामा लिन आउने वाचा गरेकी थिई । यो कुरा हो डिसेम्बर २००७को मध्यको । मैले जी आर इ को परीक्षा २१ डिसेम्बरमा दिएँ र टोफेलको जाँच काठमाडौँमा आएर दिएँ । 

मैले ५ दिन पहिले नै प्राध्यापक नाथालीसँग समय लिएको थिएँ र उनले पनि खुसीसाथ स्वागत गर्ने कुरा गरेकी थिइन् । उनी भारतसम्म आएकी रहिछन् शैक्षिक परियोजनाका लागि । मेरो निवेदन दर्ता त भयो जी आरइ र टोफेलको प्राप्ताङ्क पछि बुझाउने गरी अनलाइनै । अझ ती जाँच लिने सँस्थाहरुले नै ती विश्व विद्यालयहरुमा स्वतः पठाउने रहेछन् । मैले कोलम्बिया विश्व विद्यालय, कर्नेल विश्वविद्यालय, युनिभर्सिटी अव वासिङ्टन, सियाटल, अस्टिन विश्वविद्यालय, टेक्सासका नाममा फर्म भरेको थिएँ । कतैबाट पनि छात्रवृत्ति नपाइने भए पछि मेरो त्यो मिसन त्यसै हरायो । तर पनि त्यहाँ प्रमाणपत्रहरु सक्कल र नक्कल भन्ने नहुने रहेछ । 

जब निवेदन दर्ता गर्न गएँ र प्रमाणपत्रहरु अनलाइन नभएपछि बुझाउन गएँ । मेक्सिकोकी रिभेराले मेरा सबै प्रमाणपत्रहरु घर्रामा राखिन् र भनिन् - हाम्रो विश्वविद्यालयलाई छान्नुभएकोमा धन्यवाद । अनि उनी आफ्नो काम गर्न थालिन् कम्प्युटरमा । म त छक्क परेँ र मेरा प्रमाणपत्रहरु मागेँ । अब उनको पालो थियो छक्क पर्ने । र भनिन्-मलाई दिनु भएको होइन र ? मैले बुझाउन सकिन र फेरि गएँ नाथाली म्यामको अफिसमा र भनेँ - नेपालमा सक्कल प्रमाणपत्र एकपटकमात्र दिन्छ विश्व विद्यालयले, यदि मैले यो यहीँ छोडेँ भने म फर्जीवाला हुन्छु या त नेपालमा गएर प्रतिलिपि निकाल्नु पर्छ । उनलाई थाहा रहेछ भारत र नेपालको चलन । अनि आफ्नो सहायक प्राध्यापकलाई भनिन्- सबै प्रमाणपत्रहरुको फोटो कपी गर्नू र उहाँको सक्कल प्रमाणपत्र फिर्ता दिनू । यसो हुुनुको कारण रहेछ, नाथालीकै विभागमा नै मेरो निवेदन थियो शिक्षामा सामाजिक न्यायका वारेमा । धन्यवाद दिएँ र एउटा स्वैर कल्पना गरेँ - म यो विश्व विद्यालयमा आउने छु, पढ्न थाल्नेछु, प्राध्यापकहरुले मलाई नेपालको एउटा पाको विद्यार्थी भनेर चिनाउने छन् र मचाहिँ आफ्ना अनुभवहरु बाँड्दै अध्ययन पूरा गर्नेछु र डाक्टर भएर नेपाल फर्कनेछु । त्यो फगत एउटा कल्पना थियो त्यो हाताभित्र, त्यो पुस्तकालयभित्र र जर्ज वासिटनको सालिकनेर उभिएर । यसो घुम्दै थिएँ कता कता झोँछेँतिर घुमेजस्तो गाँजाको गन्ध आयो । पछि पो थाहा पाएँ, अमेरिकाको वासिङ्टन राज्यमा गाँजा प्रतिवन्धित रहेनछ अर्थात् मनोरञ्जनका लागि वैध रहेछ । तर विश्व विद्यालयको हातामा गाँजाको गन्ध आउँदा भने अचम्भ लागेकै हो । मैले त पढिन , पढ्न पाइँन तर मेरी बहिनीले पछि त्यहाँबाट नै एम एस डब्लु अर्थात् मास्टर इन सोसल वर्क गरी । सापोनापो मिल्यो ।

त्यहाँको पुस्तकालय कत्रो कत्रो ?अनि लाग्यो मलाई ज्ञानको महत्व त पुस्तकमा नै रहेछ कि ? अमेरिकीहरुले सबै कुरालाई अनलाइनमा आफूलाई पोख्त बनाउँदा पनि पुस्तकको महत्व अझै उस्तै देखेँ । अहिले कोभिड-१९को कहरमा चाहिँ पुस्तकभन्दा अनलाइनकै महत्व बढ्दो छ  जस्तो लाग्छ । 

अब आज म बर्लिनको यात्राको वारेमा केही कहन्छु । बर्लिन युरोपको महत्वपूर्ण देश जर्मनीको राजनीतिक राजधानी । त्यहाँको एउटा मुख्य चोकमा देखिएको शिवजीको भयानक मूर्ति र सँग नजिकै गणेशको मूर्ति रहेछ ।हामी शिवलाई महादेव मान्छौँ पूर्वीय सँस्कृतिमा । खासगरी वैदिक सँस्कृतिमा शिवलाई कल्याणका द्योतक र संहारकर्ताको रुपमा मान्ने चलन छ । सँस्कृतलाई देव भाषा पनि भनिन्छ र त्यो देवभाषाको स्वर र व्यञ्जन ध्वनि शिवकै डमरुबाट निःसृत भएको भनेर पाणिनीले भनेका छन्। इति माहेश्वराणि सूत्राणि । 

पूर्वीय परम्पराका आधारमा अपौरुषेय वेदलाई चार भागमा बाँडियो- ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद । अझ पहिले त त्रिवेद अर्थात् ऋक्, साम र यजुलाई मात्र मानिन्थ्यो । पछि औषधि र मन्त्रका लागि बेग्लै वेदको थालनी गरियो भन्ने भनाइ छ । यी सबै वेदमा शिवको महत्व अत्यधिक छ । त्यतिमात्र होइन, ब्रह्मा-विष्णु-महेश्वर तीनओटै एउटै हुन् र यदि तिनीहरुका बीचमा फरक देखाइयो भने त्यो पाप हो भनेर एकाकार ब्रह्मको कल्पना गरिएको छ । विहानलाई ब्रह्मासँग, दिउँसोलाई विष्णुसँग र निशालाई शिवसँग दाँजेको पाइन्छ । अर्थात् ब्रह्माको काम सृष्टि, विष्णुको काम पालन र शिवको काम अन्त्यका लागि तयारी गराउने अर्थात् संहार गर्ने  भनेर त्रिदेवको कामको बाँडफाँट गरिएको देखिन्छ पूर्वीय श्रुतिस्मृतिमा । पुराण, वेद आदिमा । 

यो सृष्टि, पालन तथा संहारको कथा कहिले रचियो या रच्यो भन्ने कुराको निश्चित समय तोकिएको छैन तर पूर्वीय शास्त्रहरुले, पुराणहरुले अनादिकालको एउटा समयलाई दूर अतीतमा देखाउँछन् र तिनको सम्पूर्ण जिम्मा महादेवलाई देखाउँछन् । सबै देवताको कामको अनुगमन गर्ने र दण्डधिकारी नै महादेव हुन् भन्ने मान्यता छ । पशुपति नाथको रुपमा मानिने शिवजी सम्पूर्ण पशुपति या प्राणीमात्रका देवता हुन् भनेर मानिएको छ । नेपाल त पशुपति नाथको कृपामा बाँचेको देशको रुपमा गणना पनि गरिएको छ र पशुपति नाथलाई स्वयंभू ज्योतिर्लिङ्गको रुपमा मानिन्छ । 

भनिन्छ- राजा पुरुरवाको राज्यकालमा तत्कालीन वैदिक सँस्कृतिको धेरै विस्तार भयो किनभने पुरुको पूर्वको राजधानी नै हालको कम्पुचियाको अङ्कुरवटवा वा अहिलेको प्नोह्मपेन्हमा थियो । आज पनि थाइल्यान्ड, मलेसिया, कम्पुचिया, बर्मा, इन्डोनेसिया तथा पूर्वी एसियामा पूर्वीय सँस्कृतिको प्रभाव पाइन्छ । पछि थाइल्यान्ड, भियतनाम, लाओस, कम्पुचिया  आदि पूर्वी एसियाका देशमा बुद्ध धर्म प्रसार हुँदा पनि एउटा अन्तर्घुलित सँस्कृतिको छनक पाइन्छ जवकि इन्डोनेसियामा इस्लाम धर्मको वाहुल्यता भयो र पनि । 

जब वेद, उपनिषद , ज्योतिष शास्त्र, महाभारत ,रामायण तथा विभिन्न पुराणहरुको अनुवादसहितको प्रचार प्रसार हुन थाल्यो अनि पश्चिमी देशहरुमा पनि यसको अध्ययन र अनुसन्धान सुरु भएको हो । धेरै जसो वैज्ञानिक तथा अध्येताले वेद, उपनिषद तथा सँस्कृत साहित्यको बेजोड कल्पनाशीलता र त्यसले समाजमा पारेको अनुपम प्रभावको अहिले पनि अनुसन्धान गरिरहेका छन् । सँस्कृत साहित्य र वेद उपनिषद रामायण, महाभारतका वारेमा अहिले पनि जर्मनीमा धेरै अनुसन्धान जारी छ र धेरैओटा पश्चिमी विश्व विद्यालयहरुले सँस्कृतको अध्ययन अध्यापनलाई आफ्नो प्राज्ञिक प्रक्रियाकेण अभिन्न अङ्ग बनाउन थालेका देखिन्छन् । 

आजभन्दा ३० वर्ष पहिलेसम्म केही वर्षका लागि जर्मनी पश्चिम र पूर्वका रुपमा विभाजित भएको थियो । तत्काल पूर्वी जर्मनीको भागमा परेको तर अहिलेको एकीकृत जर्मनीको राजधानी बर्लिनको मुख्य प्रशासनिक तथा आर्थिक क्षेत्रमा पर्ने बर्लिनको पूर्वी भाग जहाँ सँसद भवन छ, मुख्य दूरसञ्चारको टावर छ, जहाँ हजारौँ पर्यटकहरुले दिनौँ दृश्यावलोकन गर्छन् , त्यस्तो ठाउँमा शिवजीको त्रिशूलधारी भयानक मूर्ति यसरी राखिएको छ कि त्यहाँ चौबिसै घण्टा पानीको फोहोरा निःसृत हुन्छ । पानी पनि कसरी दिइएको छ भने त्यो मूर्ति नै अवलोकन गरेपछि मात्र थाहा हुन्छ । त्यसको निकट नै गणेशको मूर्ति छ जहाँ गणेशले ट्याम्को बजाइरहेका देखिन्छन्, नजिकै मुसोे पनि छ । 

सायद यो शिवको आदिस्वरुपको स्वीकृति हो र विद्याका लागि गणेशको पहिचान गरिएको हो जहाँ गणेशले बाजा बजाएर सचेतना दिइरहेका छन् झैँ । 

गएको जुलाई महिनामा मसहित मेरी पत्नी देवकी अधिकारी, मेरी छोरी अर्चना, ज्वाईँ नवराज सापकोटा तथा सानी नातिनी अदितिलाई त्यहाँ आवासीयरुपमा बस्नु भएका नेपाली वैज्ञानिकहरु डाक्टर हिमेन्द्र झा र डाक्टर रानी झा ठाकुरले हामीलाई बर्लिन घुमाउनु हुँदा भ्रमण गराउनु भएको थियो । त्यो ठाउँ पहिले पश्चिम बर्लिन र पूर्वी बर्लिन हुँदा सीमा कोरिएको ठाउँ नजिकै थियो जहाँ बुन्डेस्ट्याग अर्थात् सँसद भवनको सीमामा नै पर्खाल लगाइएको थियो । 

हेरौँ सचित्र दृश्यावलोकन शिवजी र गणेशका मूर्तिहरु बीच बर्लिनको प्राङ्गणमा जहाँ हजारौँ पर्यटकहरुले दृश्य हेरेका हुन्छन् र कौतूहलता व्यक्त गर्छन्-यो कसको मूर्ति हो र यहाँँ किन शोभायमान छ ? सायद पथप्रदर्शकलाई पनि जम्मै कुरा थाहा नहोला किनभने त्यहाँ कूर्म , नाग तथा नागकन्याहरुको मूर्ति पनि छ । क्रमशः