लोठसल्लाका बिरूवा रोपण गराउन जागरण कार्य

लोठसल्लाका बिरूवा रोपण गराउन जागरण कार्य

लोकसंवाद संवाददाता  |  समाज  |  माघ ४, २०७७

रसुवा । निजी स्वामित्वको खाली जमिनमा लोठसल्लाका बिरूवा रोपण गराउन जागरण कार्य अगाडि बढाइएको छ । हिमाली क्षेत्रमा बाँझो बसेका र लगाएका खेती जनावरले नोक्सान पुर्याउने जङ्गल छेउका जमिनमा लोठसल्लाको खेती गर्दा उपयुक्त हुने वन प्राविधिकले सुझावसमेत दिएका छन् ।

रोपण गरेको सात÷आठ वर्षदेखि लोठसल्लाको पातले निरन्तर आम्दानी दिन थाल्ने र कामको खोजीमा अन्यत्र जानुभन्दा घरमै बसेर राम्रो आम्दानी लिन सकिने भएकाले रोपणकार्यमा सहभागी भइदिन आग्रह गरिएको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिनुभयो ।

क्यान्सर रोगका लागि प्रयोग हुने लोठसल्लाको पात बिक्रीबाट प्रतिकेजी रु २५० देखि २७५ सम्म आम्दानी हुने र एकपटक रोपेको बिरूवाले निरन्तर आम्दानी दिइरहने डिभिजन कार्यालय रसुवाले जनाएको छ । समुद्र सतहबाट एक हजार ३०० देखि दुई हजार २०० मिटरको उचाइसम्म रोपण गर्न सकिने लोठसल्लाको प्रतिबोटले १० केजीसम्म पात उत्पादन गर्ने र एक रोपनीमा ७० बिरूवा लगाउन सकिने बताइन्छ ।

पाठेघर र स्तनमा भएका क्यान्सर रोग निदान पार्ने औषधिमा प्रयोग हुने लोठसल्लाकोे पातले क्यान्सरको औषधि बन्ने र उपचारका क्रममा किमो दिनुपर्दा उक्त सल्लाको पाउडर आवश्यक पर्ने वन प्राविधिकले बताएका छन् । लोठसल्लाको बिरूवा रोपणलगायत संरक्षणको तौरतरिका सिकाउने प्राविधिक ज्ञान डिभिजन वन कार्यालय रसुवामै भएकाले आफ्ना निजी जमिनमा रोप्न इच्छुक व्यक्तिले सम्पर्क राख्नसमेत आग्रह गरिएको छ ।

यस्तै टिमुर तथा तेजपातको खेतीले पनि राम्रो आम्दानी लिन सकिने बताउँदै डिभिजन वन अधिकृत केसीले यस्ता चिजका बिरूवा रोप्न आफूले पहिलो प्राथमिकता दिने बताउनुभयो । टिमुरबाट प्रतिकेजी ६०० र तेजपातबाट प्रतिकेजी ६० आम्दानी लिन सकिने भएकोले रोपण कार्यमा क्रमशः जागरण बढ्दै जाने अपेक्षा राखिएको वन कार्यालयले जनाएको छ ।