जनावरमा चिप्स जडानः कुकुरको सकियो, गाईको पालो

जनावरमा चिप्स जडानः कुकुरको सकियो, गाईको पालो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २, २०७६

काठमाडौं । राजधानीका गाईबस्तु ट्रयाकिङ गरी चिप्स जडान गरिने भएको छ । महानगरक्षेत्रमा छाडा गाईबस्तुको संख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले सबै गाईबस्तुमा चिप्स जडान गर्न लागेको हो ।

गाईबस्तु पाल्ने र बूढो भएपछि सडकमै छाड्ने प्रवृत्ति बढेपछि सबै गाईबस्तुमा चिप्स जडान गर्न लागिएको कामपाले जनाएको छ । कामपा नगर प्रहरी महाशाखा प्रमुख डीएसपी धनपति सापकोटाले चालू आर्थिक वर्षभित्र सबै गाईबस्तुलाई ट्रयाकिङ गरी चिप्स जडान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘पहिलो चरणमा गाईबस्तुको संख्या यकिन गरी ती गाईबस्तुमा चिप्स जडान गर्ने योजना बनाएका छाैं । तथ्यांक संकलन गर्न सबै वडा र परामर्शदातको सहयोग लिने तयारी भएको छ ।’

राजधानी वरिपरिका गाईपालकले गाईले बाच्छा जन्माए वा गाई बूढो भए बाटोमै छाड्ने प्रचलन छ । छाडा गाईबस्तुको कारण सवारी दुर्घटना बढ्न थालेपनि नयाँ प्रविधि प्रयोग गर्न लागेको हो । यसअघि कामपाले राजधानीको विभिन्न स्थानबाट गाई पक्रेर छिमेकी जिल्ला छाड्ने गरेको थियो । चिप्स जडान गरेपछि गाईधनीको नाम, कसले कहाँबाट गाईबस्तु बाटोमा छाडेको हो भन्ने विषयमा समेत सजिलै जानकारी हुनेछ । कामपाले यसअघि सिंहदरबारको कुकुरमा चिप्स जडान गरिसकेको छ । आजको नेपाल समाचारपत्रमा याे समाचार प्रकाशित छ ।