सुन्तलाको दाना बाँदरबाट जोगाउन सास्ती

सुन्तलाको दाना बाँदरबाट जोगाउन सास्ती

लोकसंवाद संवाददाता  |  समाज  |  माघ ४, २०७७

पाल्पा । बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तलाको दाना बाँदरबाट जोगाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन् ।

पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङमा बाँदरले पाकेको सुन्तलालाई नोक्सानी गर्न थालेपछि बोटका दाना जोगाउन समस्या भएको हो । उचित मूल्य र सुरक्षाका लागि सुन्तला अझै टिपिएको त छैन तर बाँदरबाट सुरक्षित राख्न किसानलाई चुनौती भएको छ । सुन्तला बगानमा बाँदर पसेर नोक्सानी गरेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

बाँदरले सुन्तलामा नोक्सानी गरेपछि हरियो सुन्तला बिक्री गरिएको गुनासो वडाध्यक्ष तथा किसान हुमानसिंह कार्कीले गर्नुभयो । झण्डै ४०० किलो सुन्तला बाँदरका कारण छिटो टिपेर बेच्न बाध्य भएको उहाँले बताउनुभयो । 'घरदेखि तल्लोबारीमा तलबाट बाँदर आएर नोक्सानी गरेको थाहा हुँदैन, त्यसैले त्यो बारीको सुन्तला हरियोमा नै बिक्री गरियो', उहाँले भन्नुभयो ।

गत वर्ष झण्डै चार लाखको सुन्तला बिक्री भएको बताउने कार्की यसपालि एक लाखको हाराहारी बिक्री हुने अवस्था रहेको बताउनुभयो । बाँदरको समस्या र यसपालिका सुन्तला उत्पादनमा समेत कमी आएको हो । स्थानीय बासिन्दा डिलमाया गाहाका अनुसार वन क्षेत्रबाट बाँदर आएर सुन्तला खेतीमा क्षति गर्न थालेपछि समस्या हुँदै आएको छ । मकै बाली उत्पादन गर्न छाडेर सुन्तला खेतीमा मात्र व्यस्त हुनुभएको गाहाको प्रमुख आम्दानीको स्रोत सुन्तला खेती हो । पहेँलपुर सुन्तला बगानमा नै बाँदर पसेर खाने र नोक्सानी गर्ने समस्या बढेको गाहा बताउनुहुन्छ । 

पछिल्लो समय गाउँमा बाँदरको बिगबिगी भए पनि स्थानीय सरकारले बाँदर व्यवस्थापनमा चासो नदेखाएको किसानको गुनासो छ । जिल्लाका अधिकांश स्थानमा व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आए पनि बाँदरबाट किसान चिन्तित बनेका छन् । पाल्पाको रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिका सुन्तला खेतीका लागि उपयुक्त रहेको विज्ञको भनाइ छ । अहिले रैनादेवी छहरा गाउँपालिकोको मुझुङ, छहरा, सोमादी, रिब्दीकोटको मैनादी, कुखुमखोला, खस्यौली क्षेत्रमा व्यावसायिकरूपमा सुन्तला खेती हुँदै आएको छ । अन्नबालीमा बाँदरले नोक्सानी गरेपछि किसान सुन्तला खेतीप्रति आकर्षित बनेका थिए ।