चेन्नईसँग कोलकाता स्तब्ध

चेन्नईसँग कोलकाता स्तब्ध
जितपछि खुसी मनाउँदै चेन्नई सुपर किंग्सका सुरेश रैना (पहेलो ड्रेसमा) । र, निराश कोलकाता नाइट राइडर्सका पियुस चावला । तस्बिर : आइपिएलटिट्वान्टी डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २, २०७६

काठमाडौं । इमरान ताहिरको बलिङप्रेरित चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार राती कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । 

चेन्नईले कोलकाताले दिएको १६२ रनको लक्ष्य १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । 

टस हारेर ब्याटिङ गर्न आएको कोलकाताले ८ विकेट गुमाएर १६१ रनको मध्यम स्कोर जोड्यो । ताहिरले घातक बलिङ गर्दै २७ रन खर्चेर चार विकेट लिएपछि कोलकाता मध्यम स्कोरमै समेटिएको हो । यस्तै, सार्दुल ठाकुरले दुई तथा मिचेल स्यान्टरले एक विकेट लिए । कोलकाताका एक खेलाडी रनआउट भए । 

कोलकाताले सुरुवाती विकेट सुनिल नैरनका रूपमा गुमाएको थियो । ४.५ ओभरमा मिचेल स्यान्टरले कोलकाताको पहिलो विकेट लिए । त्यतिबेला कोलकाताले ३८ रन बनाएको थियो । 
त्यसपछि १०.२ ओभरमा कोलकाताले दोस्रो विकेट गुमायो । म्यान अफ दि म्याच ताहिरले दोस्रो विकेटका रूपमा नितिश रानालाई आउट गर्दा कोलकाताको स्कोर ७९ थियो । सोही ओभरमा रविन उथप्पा डगआउट भए । आक्रमक ब्याटिङ गरिरहेका क्रिस लिन पनि ताहिरकै सिकार भए । उनी १४.१ ओभरमा ८२ रनको व्यक्तिगत स्कोरमा आउट भए । चालू आइपिएलमा सबैभन्दा खतरनाक ब्याट्सम्यान आन्द्रे रसल पनि सोही ओभरमै पेवेलियन फर्किए । उनी १० रनको व्यक्तिगत स्कोरमा आउट भए । 

दोस्रो इनिङमा चेन्नईका सुरेश रैनाले सम्हालिएर ब्याटिङ गरे । उनले ४२ बलमा ५८ रन जोडे । यस्तै, रविन्द्र जडेजाले १७ बलमा ३१ रनको पारी खेले । 

कोलकाताको सुनिल नैरनले दुई विकेट लिए । उनले चार ओभरमा १ मेडन राखेर १९ रन मात्रै खर्चिए । यस्तै, पियुस चावला दुई र हेरी गनीले एक विकेट लिए ।