नयाँ बसपार्क : ल्होत्से बहुउद्देश्यीय प्रालि र लक्ष्मी बैंकबीच ‘क्युआर कोड’ मार्फत भुक्तानी गर्ने सम्झौता

नयाँ बसपार्क : ल्होत्से बहुउद्देश्यीय प्रालि र लक्ष्मी बैंकबीच ‘क्युआर कोड’ मार्फत भुक्तानी गर्ने  सम्झौता

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ ५, २०७७

काठमाडौँ । गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘क्युआर कोड’मार्फत बस टिकटको भुक्तानी गर्न सकिने व्यवस्था सुरु भएको छ ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालि र लक्ष्मी बैंकबीच ‘क्युआर कोड’ मार्फत भुक्तानी गर्न मिल्ने गरी आज सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा प्रालिका अध्यक्ष इन्जिनीयर दीपक कुँवर र बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गर्नुभएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले क्युआर कोठमार्फत हुने भुक्तानीलाई अभियानकै रुपमा अगाडि बढाइरहेको बेला नयाँबसपार्कमा पनि सो प्रणालीलाई अगाडि सारिएको हो ।

अब नयाँबसपार्कबाट बसको टिकट खरीद गर्दा यात्रुले मोबाइल मनी, पर्सबाट क्युआर स्क्यान गरी ‘फोन पे’ नेटवर्कअन्तर्गत भुक्तानी गर्न सक्नेछन् । बन्दाबन्दीको समयको सदुपयोग गर्दै विद्युतीय माध्यामको प्रयोगलाई अगाडि बढाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले ‘क्युआर कोड’ मार्फत यात्रुलाई छिटो छरितोरुपमा भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको हो

। प्रालिका अध्यक्ष कुँवरले महामारीको समयमा विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्दा सबैलाई सहज हुने भएकाले यस प्रणालीलाई अगाडि सारेको बताउनुभयो । काठमाडौँ महानगरपालिकाको २६ वडामा रहेको सो बसपार्कमा हाल दैनिक एक हजारदेखि एक हजार ५०० सार्वजनिक सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् ।

नयाँ बसपार्कबाट हाल देशभरका ५० भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएको प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले जानकारी दिनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले लक्ष्मी बैंकले धेरै रकमको कारोबार हुने अस्पताल, सपिङ मल, इन्टरनेट सेवा प्रदायक संस्थामा सो सेवालाई सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । कोरोना महामारीपछि क्युआर कोडमार्फत हुने भुक्तानीको प्रयोग बढ्दै गएको उहाँको भनाइ छ ।