हैदरावादलाई हराएर दिल्ली दोस्रोमा

हैदरावादलाई हराएर दिल्ली दोस्रोमा
सनराइजर्स हैदरावादलाई हराएपछि खुसी मनाउँदै दिल्ली क्यापिटलका खेलाडी । तस्बिर : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार राती सम्पन्न दोस्रो खेलमा दिल्ली क्यापिटलले सनराइजर्स हैदरावादलाई ३९ रनले पराजित गरेको छ । 

दिल्लीले दिएको १५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८.५ ओभरमा ११६ रनमै अलआउट भयो । मध्यक्रम नचलेपछि हैदरावादले लक्ष्य पूरा गर्न नसकेको हो । 

हैदरावादका सुरुवाती ब्याट्सम्यानले डेभिड वार्नर ५१ र जोनी बेरस्ट्रोले ४१ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । 

दिल्लीलाई जित दिलाउन कागिसो रवाडा र किमो पौलले महत्वपूर्ण भूमिका खेले । ३.५ ओभर ब्याटिङ गरेका रवाडाले २२ रन खर्चेर चार विकेट लिए । यस्तै, पौलले चार ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भए । यस्तै, क्रिस मोरिसले तीन ओभरमा २२ रन खर्चेर तीन विकेट लिए । 

रवाडाले प्रारम्भिक ब्याट्सम्यान वार्नरसँगै विजय शंकर, भुवनेश्वर कुमार र खलिल अहमदको विकेट लिए । यस्तै, पौलले प्रारम्भिक ब्याट्सम्यान बेरस्ट्रोसँगै कप्तान केन विलियम्सन र रिक्की भुइको तथा मोरिसले दीपक होडा, अभिशेख शर्मा र रसिद खानको विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ रनको मध्यम स्कोर जोडेको थियो । उसका लागि कप्तान श्रेयस एैयरले सर्वाधिक ४५ रन जोडे । यस्तै, कोलिन मुनरोले ४० रनको योगदान गरे । अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । 

हैदरावादका खलिल अहमदले तीन र भुवनेश्वर कुमारले दुई विकेट लिए । यस्तै, रसिद खान र अभिशेख शर्माले समान एक विकेट लिए । 

अंकतालिकामा दिल्ली दोस्रोमा 

यससँगै दिल्ली अंकतालिकामा दुई स्थान सुधार गरी दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले ८ खेलबाट १० अंक जोडेको छ ।