रोयल च्यालेन्जर्स बैंग्लोर भर्सेस मुम्बई इण्डियन्स : मुम्बईको पलडा भारी

रोयल च्यालेन्जर्स बैंग्लोर भर्सेस मुम्बई इण्डियन्स : मुम्बईको पलडा भारी
रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहली (बायाँ) र मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा । फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार राती रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इण्डियन्स प्रतिष्पर्धा गर्दैछन् । 

चालू आइपिएलका सात खेल खेलेको बैंग्लोरले एकमा मात्रै जित निकालेको छ । समान खेल खेलेको मुम्बईले भने चार खेलको नतिजा आफ्नो पक्षमा पारेको छ । चालू आइपिएलको यसअघिको खेलमा पनि मुम्बईले बैंग्लोरलाई पराजित गरेको थियो ।  यस्तोमा मुम्बईको मनोबल केही बढेको देखिन्छ । 

तर, बैंग्लोरले पनि पछिल्लो खेलमा किंग्स इलेभन पञ्जावलाई पराजित गरेकाले उसको मनोबल पनि बढेको छ । पछिल्लो खेलबाट बैंग्लोरका खम्बा मानिएका कप्तान विराट कोहली र एबी डिभिलियर्स लयमा देखिएका छन् । यो अवस्थामा बैंग्लोरविरुद्ध जित निकाल्न मुम्बईलाई सहज भने देखिँदैन । तर, मुम्बईलाई घरेलु दर्शकको साथ भने रहनेछ । 

अंकतालिकामा मुम्बई अघि 

बैंग्लोर दुई अंकका साथ अंकतालिकाको पुछारमा छ भने मुम्बई आठ अंकका साथ चौथो स्थानमा । 

हेड टु हेडमा पनि मुम्बई 

यी दुई टिमबीच भएका हेड टु हेड खेलमा पनि मुम्बई अघि देखिएको छ । यी दुई टिमबीच भएका २६ खेलमध्ये मुम्बईले १७ मा जित निकालेको छ भने बैंग्लोरले ९ को नतिजा मात्रै आफ्नो पक्षमा पारेको छ ।

यस्तोमा मुम्बईको पलडा भारी देखिन्छ । तर, खेल कसले जित्ने भन्नेबारे सहजै अनुमान लगाउन भने गाह्रो छ ।