मानिसका लागि अन्तरिक्ष सुरक्षित छ ?

मानिसका लागि अन्तरिक्ष सुरक्षित छ ?
अन्तरिक्षमा झण्डै एक वर्ष बिताएर पृथ्वीमा फर्किएका अन्तरिक्ष यात्री स्कट केली । तस्बिर : एजेन्सी ।

लोकसंवाद डेस्क  |  ज्ञानविज्ञान  |  बैशाख २, २०७६

काठमाडौं । अन्तरिक्षमा झण्डै एक वर्षको अवधि बिताएर पृथ्वीमा फर्किएका अन्तरिक्ष यात्री स्कट केलीको शरीरमा व्यापक परिवर्तन आएको छ । 

उनले अन्तरिक्षमा ३४० दिन बिताएका थिए । पृथ्वीदेखि ४०० किमिमाथि २८ हजार ८ सय किमि प्रतिघन्टाको वेगले घुमिरहेको इन्टरनेसनल स्पेस स्टेसनमा स्कट केली ३४० दिन बसेर फर्केका हुन् । 
इन्टरनेसनल स्पेस स्टेसनले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउँछ । यसमा बसेका यात्रीले एक दिनमा १६ पटक सूर्याेदय र सूर्यास्तको दृश्य हेर्ने गर्छन् । 

इन्टरनेसनल स्पेस स्टेसनमा ३४० दिन बिताएर आएका स्कटको शरीरमा धेरै परिवर्तन पाइएको छ । उनको शरीरका केही कोशिकाका डिएनए नै परिवर्तित भएका छन् । उनको शरीर केही नयाँ इम्युन सिस्टमका साथै नयाँखाले ब्याक्टेरिया पनि पाइएका छन् । उनको शरीरमा भएका परिवर्तन पृथ्वीमा फर्केपछि बिस्तारै रिकभर हुँदै गइरहेका छन् भने अहिलेसम्म शरीरमा भएको आनुवांशिक परिवर्तन र उनको स्मृति भने रिकभर हुन सकेको छैन । उनको स्मृतिलाई लिएर वैज्ञानिक चिन्तित बनेका छन् । 

अन्तरिक्ष यात्रीलाई लामो समयसम्म पृथ्वीबाट टाढा राख्नु सुरक्षित हो कि होइन भन्ने प्रश्न उठेको छ ।  यस प्रश्नले मानिसको मंगल ग्रहमा जाने सम्भावनामाथि पनि प्रश्नचिन्ह लागेको छ । 
मंगल ग्रहको दुईतर्फी यात्रा गर्न अहिलेको उपलब्ध प्रविधिबाट घटीमा दुई वर्षको समय लाग्छ । 

५५ वर्षीय स्कट सन् २०१५ मार्च २७ मा अन्तरिक्षमा गएका थिए । उनी त्यहाँ ३४० दिन बिताएर सन् २०१६ मार्च १ मा पृथ्वीमा फर्किएका थिए ।