तरकारी खेतीमा रमाउँदै युवा

तरकारी खेतीमा रमाउँदै युवा

लोकसंवाद संवाददाता  |  समाज  |  माघ ६, २०७७

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन । घरकै बारीमा तरकारी खेती गरेर उहाँले वार्षिकरूपमा रु आठ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । विदेशमा दुःख गर्दासमेत गतिलो आम्दानी हात पार्न नसकेका उहाँले बारीमा तरकारी रोप्न थालेपछि विगतका दुःखका दिन बिर्सेका छन् ।

दुई वर्षका लागि वैदेशिक रोजगारी गर्न साउदी अरेविया गएका उहाँलाई स्वास्थ्यले साथ नदिएपछि पूरा समयावधि काम गर्न नपाइ स्वदेश फर्केका हुन् । “धेरै पैसा कमाउने सपना बोकेर वैदेशिक रोजगारीमा गएको थिएँ”, उहाँले भन्नुभयो, “अत्यधिक गर्मीका कारण पेट दुख्ने र खुट्टा दुख्नेलगायत स्वास्थ्य समस्याले काम गर्न नपाइ घर फिर्ता भएँ । वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जा र पछि उपचार गर्न लागेको कर्जा तिर्न निकै समस्या थियो ।”

“गाउँकै साहुबाट कर्जा लिएकाले घरदैलोमै पैसा माग्नका लागि आउने गर्दथे”, विगत सम्झँदै उहाँले भन्नुभयो, “घर फर्केपछि हाउस पेन्टिङको कार्य गर्न थाले । त्यसबाट केही पैसा जम्मा भयो । ती पैसामध्ये केही कर्जावापतको ब्याज तिर्न भ्याएँ । जम्मा भएको केही रकम तरकारी खेतीका लागि आवश्यक पर्ने बीउबिजन, रसायनिक मल, विषादी खरिद गर्नका लागि राखेँ ।”

शुरुमा थारै जग्गामा तरकारी खेतीका गरेका चौधरीले विस्तारै तरकारी खेती गर्ने जग्गाको क्षेत्रफल बढाउँदै लगे । हाल स्वामित्वको दुई बिघा जग्गामा उहाँले तरकारी रोप्नुभएको छ । “परम्परागतरूपमा तरकारी रोप्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “तालिम लिएपछि तरकारी लगाउने तौरतरिका सिकेपछि आम्दानी मात्रै बढेको छैन । वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जासमेत तिर्न सकिएको छ ।” उहाँको हिउँदे तरकारी बालीमा आलु, काउली, ब्रोकाउली, गोलभेँडा, खुर्सानी, बन्दा, हरियो सागपातलगायत रहेको छ ।

बेमौसमी तरकारी बालीका रूपमा उहाँले काँक्रा, लौका, फर्सी, तितेकरेलालगायत प्लाष्टिक टनेलमा लगाउनुभएको छ । बर्खे तरकारीमा तनेबोडी, तितेकरेलाको खेती उहाँले गर्दै आउनुभएको छ । विदेशको दुःखले स्वदेशमै आयआर्जनमूलक कार्य गर्नुपर्छ भन्ने सोच राखेर तरकारी खेती गरेको उहाँ बताउनुहुन्छ । “कर्जा तिर्न कुनै उपाय थिएन”, उहाँले भन्नुभयो, “बारीमै मेहेनत गर्न परिवारले सघाए, त्यसपछि आम्दानी बढ्दै गएको छ । मेहेनत गरेपछि जे पनि सम्भव हँुदोरहेछ ।”

उहाँले तरकारी खेतीसँगै बङ्गुर, ब्रोइलर कुखुरा र स्थानीय जातका कुखुरासमेत पालन गर्नुभएको छ । किसान चौधरीजस्तै बेलडाँडी गाउँका २० बढी परिवार तरकारी खेतीमा संलग्न रहेका छन् । तरकारी खेतीमा संलग्न सबैका घरघरमा दुईदेखि चारसम्म मौसमी तथा बेमौसमी तरकारी खेती गर्नका लागि प्लाष्टिका टनेल निर्माण गरिएका छन् । प्लाष्टिका टनेलसँगै यहाँका किसानले खेतबारीमा तरकारी उत्पादन गरी बेच्दै आएका छन् । सिँचाइका लागि पुरानो गाउँमा कुलो छ ।