हजारौं प्रहरी र नेशनल गार्डका १५ हजार सुरक्षाकर्मी परिचालन गरेर राष्ट्रपतिमा बाइडेनको सत्तारोहण !

हजारौं प्रहरी र नेशनल गार्डका १५ हजार सुरक्षाकर्मी परिचालन गरेर राष्ट्रपतिमा बाइडेनको सत्तारोहण !

लोकसंवाद संवाददाता  |  विदेश  |  माघ ७, २०७७

संयुक्त राज्य अमेरिकामा संसारकै लामो र झन्झटिलो निर्वाचन प्रक्रिया पूरा भएर आज नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्दैछन् । उनीसँगै अमेरिकामा पहिलो महिला उपराष्ट्रपति कमला ह्यारिस पनि ह्वाइट हाउस प्रवेश गर्दैछिन् । 

विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा महामारीलाई परास्त गर्दै अमेरिकी अर्थतन्त्र र डोनाल्ड ट्रम्पको कार्यकालमा विभाजित बनेको अमेरिकी समाजलाई एकताबद्ध गराउने दायित्व अब वयोवृद्ध राष्ट्रपति बाइडेनको काँधमा आएको छ । अमेरिकामा निकै भव्य रुपमा आयोजना गरिने शपथग्रहण कार्यक्रम यसपटक कोरोना भाइरसको महामारीका कारण र पछिल्लो अवस्थामा उत्पन्न सुरक्षा चिन्ताबीच शपथ ग्रहण हुन लागेको हो । 

कसरी हुन्छ सत्तारोहण?

अमेरिकामा नयाँ राष्ट्रपतिले औपचारिक रूपमा पदभार ग्रहण गराउने प्रक्रिया र समारोहलाई 'इनाग्युरेशन' भन्ने गरिन्छ । राजधानी वासिंगटन डिसीमा हुने समारोहमा राष्ट्रपति निर्वाचितले पदको शपथ लिन्छन् । संविधानको रक्षा गर्ने प्रतिबद्धता समेटिएको शपथ लिएपछि जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन् ।

सत्तारोहण समारोह छोटो हुने भएपनि त्यसपछि अन्य कार्यक्रम पनि आयोजना गरिन्छ । अमेरिकामा साधारणतया राष्ट्रपतिभन्दा पहिला उपराष्ट्रपतिले शपथ लिने चलन छ । अमेरिकी उपराष्ट्रपति सिनेटको समेत अध्यक्ष हुने हुँदा अब ह्यारिसको प्रवेशसँगै सिनेटमा डेमोक्र्याटिक पार्टी स्पष्ट बहुमतमा पुग्नेछ । जो बाइडेन र कमला ह्यारिसको शपथग्रहण २० जनवरीको मध्यान्हमा हुनेछ । त्यसलगत्तै बाइडेनको ह्वाइट हाउसको चार वर्षे यात्रा सुरु हुनेछ । 

चार वर्षअघि राष्ट्रपतिमा ट्रम्पले शपथ लिँदा उनीसँग पराजित भएकी हिलारी क्लिन्टन आफ्ना पति तथा पूर्वराष्ट्रपति बिल क्लिन्टनसहित समारोहमा उपस्थित भएकी थिइन् । अमेरिकामा हालसम्म तीन जना राष्ट्रपतिहरु जोन एडम्स, जोन क्वीन्सी एडम्स र एन्ड्रयु जोनसनले आफ्ना उत्तराधिकारीको शपथग्रहणमा सहभागिता जनाएका छैनन् ।

बाइडेनको सत्तारोहणको कार्यक्रम हुनुअघि नै अमेरिकामा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । अमेरिकाका ५० वटै राज्यमा सुरक्षा सतर्कता बढाइएको छ । ६ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकी संसदमा आक्रमण गरेपछि बाइडेनको शपथग्रहणका समयमा पनि उनका समर्थकले हिंसा भड्काउन सक्ने जोखिम रहेका कारण सुरक्षा बढाइएको हो । अमेरिकी संसद सुरक्षाका कारण बन्द नै गरिएको छ । शपथ ग्रहणका दिन राजधानी वाशिङ्टन डिसीका अधिकांश क्षेत्र बन्द   गरिएको छ ।

अमेरिकी गुप्तचर निकायको नेतृत्वमा बनेको सुरक्षा योजनाअनुसार हजारौं प्रहरी र नेशनल गार्डका १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित हुनेछन् । ६ डिसेम्बरमा अमेरिकी कंग्रेसले औपचारिक रुपमा नयाँ राष्ट्रपतिमा निर्वाचित भएको इलेक्टोरल कलको भोटलाई प्रमाणित गरेको हो । तर ३ नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा विजयी भएका जो बाइडेनको सत्तारोहका लागि आयोजना हुने यो राष्ट्रपति पदको शपथ ग्रहण कार्यक्रमको तयारीको काम करिब एक वर्षदेखि चलिरहेको छ । बाइडनले परम्परानुसार बाहिर नै शपथग्रहण गर्ने अडान राख्दै आएका छन् । यद्यपि कोरोनाको जोखिमका कारण सहभागी हुनेको संख्या भने कम गरिनेछ । 

ट्रम्प उपस्थित होलान् ?

सत्ताबाट हट्दै गरेका राष्ट्रपतिले आफ्ना उत्तराधिकारीले शपथग्रहण कार्यक्रममा सहभागी हुने चलन रहेको छ । तर कहिलेकाहीँ त्यो परम्परा भङ्ग पनि हुनसक्छ । आफ्ना उत्तराधिकारी बाइडनको सत्तारोहण हेर्न राष्ट्रपति ट्रम्प नजाने घोषणा यसअघि नै गरिसकेका छन् । ८ जनवरीमा ट्वीट गर्दै उनले शपथग्रहण समारोहमा सहभागी नहुने बताएका थिए । ट्रम्पका कतिपय समर्थकले भने बाइडनले शपथ लिएकै समयमा अनलाइनमार्फत् राष्ट्रपति ट्रम्पको ‘दोस्रो सत्तारोहण’ को योजना बनाइरहेको दाबी समेत गरेका छन् । 

फेसबुकमार्फत् ६८ हजारभन्दा बढी मानिसले ट्रम्पप्रति समर्थन देखाउन सो कार्यक्रमको योजना बनाइरहेका छन् । चार वर्षअघि राष्ट्रपतिमा ट्रम्पले शपथ लिँदा उनीसँग पराजित भएकी हिलारी क्लिन्टन आफ्ना पति तथा पूर्वराष्ट्रपति बिल क्लिन्टनसहित समारोहमा उपस्थित भएकी थिइन् । अमेरिकामा हालसम्म तीन जना राष्ट्रपतिहरु जोन एडम्स, जोन क्वीन्सी एडम्स र एन्ड्रयु जोनसनले आफ्ना उत्तराधिकारीको शपथग्रहणमा सहभागिता जनाएका छैनन् ।

अमेरिकामा २० औं शताब्दीमा कुनै पनि राष्ट्रपति यसरी अनुपस्थित भएनन् । राष्ट्रपति ट्रम्प सहभागी नभएपनि उपराष्ट्रपति माइक पेन्सले आफू शपथग्रहण समारोहमा उपस्थित हुने बताएका छन् । साधारण अवस्थामा वाशिङ्टन डिसीमा लाखौंको संख्यामा मानिसहरू शपथ ग्रहण समारोहमा सहभागी हुने भएपनि यस वर्ष कोरोना भाइरसका कारण उपस्थितको संख्या कम हुनेछ । 

सन् २००९ मा पहिलो कार्यकालका लागि राष्ट्रपति ओबामाले शपथ लिँदा २० लाख मानिस वाशिङ्टनमा भेला भएको बताइन्छ । तर यस पटक त्यसरी उत्सवका रुपमा मनाइने छ्रैन । बाइडनको टोलीले संख्या एकदमै सीमित हुने भन्दै समर्थकहरूलाई राजधानीमा नआउन अनुरोध गरिरहेको छ । 

बाइडन र ह्यारिसले सन् १९८१ मा रोनाल्ड रेगनको पालामा सुरु भएको परम्परालाई निरन्तरता दिँदै अमेरिकी संसद्को अगाडिपट्टि शपथ लिनेछन् । त्यहाँबाट मल पनि देखिन्छ ।मञ्चमा सामाजिक दुरी कायम गरेर करिब २ सय जना मञ्चमा बस्ने वाशिङ्टन पोस्टले जनाएको छ । सहभागी हुने सबैले अनिवार्य मास्क लगाउनेछन् भने सबैको परीक्षण गरिएको छ । 

विगतमा औपचारिक समारोहमा भाग लिन झन्डै दुई लाख टिकट उपलब्ध हुने गरेकोमा यसवर्ष एक हजार मात्रै छुट्याइएको छ । यसपटक पेन्सिलभानिया एभन्यूदेखि ह्वाइट हाउससम्मको परम्परागत परेडको सट्टा अमेरिकाभरी भर्चूअल परेड गरिने छ । बाइडन, ह्यारिस र उनका परिवारका सदस्यहरूलाई ब्यान्ड र ड्रमसहितको सैनिक टोलीले ह्वाइट हाउसमा लैजानेछ । कार्यक्रमको राष्ट्रपति ट्रम्पलाई समर्थन गर्ने फक्स न्यूजबाहेक अमेरिकाका सबै प्रमुख नेटवर्कले प्रत्यक्ष  प्रसारण गर्नेछन् । स्रोत: बीबीसी