सिमकोटमा दिनप्रतिदिन चोरीका घटना

सिमकोटमा दिनप्रतिदिन चोरीका घटना

लोकसंवाद संवाददाता  |  समाज  |  माघ ७, २०७७

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दिनप्रतिदिन चोरीका घटना बढ्न थालेका छन् । सदरमुकाम सिमकोटमा बजार गस्तीको आँखा छलेर दैनिक चोरी भएको गुनासो आउन थालेको छ । सिमकोट माथिल्लो बजार आसपास क्षेत्रमा दैनिक चोरी हुने गरेको यहाँका नागरिकले गुनासो गरेका छन् ।

बिहान र दिउँसोको समयमा समेत चोरी हुने गरेको छ । यस्तै होटल विजयबाट सोमबार बिहान जुम्ला जिल्ला घर भएका राष्ट्रिय समाचार समिति सिञ्जाका संवाददाता उपेन्द्र न्यौपानको  ४१ हजार मूल्य बरारबको मोबाइल फोन चोरी भएको छ । होटलमा चार्जमा राखेको समयमा आफ्नो मोबाइल चोरी भएको उहाँले बताउनुभयो । उहाँको बिहान चार्जमा राखिएको समयमा रेडमी टेन प्रो मोबाइल चोरी भएको हो । आफू प्रेस सङ्गठनको बैठकमा जानका लागि सिमकोट आएको र उक्त होटलमा चार्जमा राखेको समयमा चोरी भएको उहाँले बताउनुभयो ।

यस्तै सिमकोट माथिल्लो बजारमा रहेको बैंक नजिकको एक घरबाट  १८ हजार नगद चोरी भएको स्थानीयवासी कालीबहादुर बोहराले बताउनुभयो । घरमा कोही नभएको मौका छोपेर रातिको समयमा चोरले घरको तालासमेत फोडेर१८ हजार नगदसहित अन्य सामान चोरी गरेको बोहराले बताउनुभयो ।

यस क्षेत्रमा दैनिक लत्ताकपडा, जुत्तालगायतका सामग्री चोरी हुने गरेको स्थानीयवासी देउमा भण्डारीले बताउनुभयो । सुरक्षा गस्तीले रातिको समयमा बजार गस्ती गरेको भने पनि दिउँसोको समयमा अत्यधिक चोरी हुने गरेको छ ।