राष्ट्रिय गौरवको योजना अन्तर्गत मदन भण्डारी मार्ग निर्माण तीव्र हुँदै

राष्ट्रिय गौरवको योजना अन्तर्गत मदन भण्डारी मार्ग निर्माण तीव्र हुँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ८, २०७७

सप्तरी । राष्ट्रिय गौरवको योजना अन्तर्गत  सप्तरीको रुपनगर चोकदेखि उदयपुरको सिवाइसम्मको मदन भण्डारी मार्गको निर्माणकार्य अहिले तीव्ररुपमा भइरहेको छ ।

विसं २०७५ फागुन १ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गर्नुभएको मदन भडारी मार्गको निर्माणकार्य तीव्ररुपमा भइरहेको स्थानीयवासी उत्तम अचार्यले जानकारी दिनुभयो । सो मार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१२ रुपनगर चोकदेखि चर्खिया, बस्तीपुर, श्रवणपुर, पोडाहा खोला हुँदै उदयपुरको सिवाइसम्मको सडक निर्माण अहिले तीव्रगतिमा भइरहेको उहाँले बताउनुभयो ।  

आर्थिक वर्ष २०७७÷७८ मा ठेक्का पाएका बजरङग कन्ट्रक्सन काठमाडाँैले चर्खियादेखि पोडाहा खोला श्रवणपुरसम्मको सडकखण्डमा कालोपत्रका लागि अहिले माटो खसाउने र ग्राभेलको काम शुरु गरेको छ । यस आर्थिक वर्षमा चार करोड ४० लाखको बजेटबाट बजरङ्ग कन्स्ट्रक्सन काठमाडौँले तत्काल सो सडकमा मोटो भर्ने र ग्राभेलको काम सकेपछि कालोपत्र गर्ने योजनासाथ सडक निर्माण भइरहेको जनाएको छ  । 

ती सडकमा अहिले टिपर र ट्र्याक्टरबाट माटो खसाउने काम  भइरहेको छ भने कालोपत्रका लागि तयारी गरिएको कञ्चनरुप नगरपालिका प्रमुख वसन्त मिश्रले जानकारी दिनुभयो । एक करोडको ठेक्का पाएका नीरज जोशीले मदन भण्डारी मार्ग अन्तर्गत तिरमार्गदेखि शिवालय मन्दिर हुँदै चर्खियासम्मको करीब ७०० मिटरसम्म सडकमा माटो भर्ने र माटो मिलाउने काम शुरु गरिएको पाइएको छ ।  

गत आर्थिक वर्ष २०७६/७७ मा  एक करोडमा रुपनगर चोकदेखि शिवालय चोकसम्म करीब ७०० मिटर कालोपत्र सम्पन्न गरेको थियो । त्यपछि सो सडकखण्डमा बाँकी सडक निर्माण भइरहेको जनाइएको छ । रुपनगर चोकदेखि उदयपुरको सिवाइसम्म निर्माण भइरहेको सो मार्गको लम्बाइ १३ किलोमिटर छ । सो मार्ग रुपनगर चोकदेखि चर्खिया, वसन्तीपुर, पौडाहा खोला हुँदै उदयपुर जिल्लाको सिवाइ भएर पहाडी मार्गसम्म जोडिने छ । 

यसका लागि प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन भई ठेक्काका  लागि सम्झौता अनुसार काम भइरहेको  सडक डिभिजन कार्यालय लहानको भनाइ छ  ।

यस क्षेत्रमा फराकिलो सडक बाटो बन्न थालेपछि स्थानीयवासीसमेत खुशी भएका छन्  । सडक बाटोको अभाव खेप्दै आएका रुपनगरवासी अहिले सो मार्गको निर्माण देखेर स्थानीयवासी खुशी मात्रै होइन कि बाढी र वर्षाको समयमा नाङ्गे खुट्टा हिँडनुपर्ने बाध्यतसमेत अन्त्य हुन लागेको  कञ्चनरुप नगरपालिकाका स्थानीयवासी राजकुमार साहले बताउनुभयो