'एन्जाइटी र ‘प्यानिक एट्याक': सही निदान, औषधिका साथमा परामर्श र थेरापीबाट पुनर्जीवन !

'एन्जाइटी र ‘प्यानिक एट्याक':  सही निदान, औषधिका साथमा परामर्श र थेरापीबाट पुनर्जीवन !

निकेश थपलिया  |  दृष्टिकोण  |  माघ ७, २०७७

घटना मार्च २०२० को पहिलो सातातिरको हो । मलाई एन्जाइटी भइरहनेबारे म पहिल्यैदेखि अवगत नै थिएँ । तर त्यसताका अनौठो लक्षण देखा पर्‍यो ममा । अमेरिकामा चारैतिर कोभिड महामारीको हल्ला चलिरहेको समयमा म छुट्टीको दिन घरको ‘बेसमेन्ट’ मा कसरतको लागि ट्रेडमिल मेसिनमा हिंडिरहेको थिएँ । अचानक छातिमा तातो महसुस भयो र कुनै गाह्रो वस्तुले थिचेको जस्तो अनुभव हुन थाल्यो । एकैछिन विश्राम लिएँ, अनि विस्तारै लामो सास फेर्न प्रयास गरेँ । बेस्सरी हल्लिएको मुटुको चाल बिस्तारै नियन्त्रणमा आएको महशुस भयो । 

त्यसपछि हातगोडाका केहि व्यायाम गर्ने क्रममा पुनः सास फेर्न गाह्रो भएको महसुस भयो । यसपालि त झनै आत्तिएर होला मुटुको धड्कन अझै तेजसङ्ग बढ्यो, यतिसम्म कि मैले आफुलाई २६ बर्षको उमेरमै हृदयाघात भएछ भन्ने  निश्कर्षमा पुगे ।  माथिल्लो तल्लामा गएर मैले अत्तालिँदै मेरी आमा र बहिनीलाई आफुलाई सास फेर्न अफ्ठ्यारो भइरहेको र मुटुको धड्कन तेजले बढिरहेको कुरा सुनाएँ । त्यतिखेरै मैले ब्लड प्रेसर कफ लिएर आफ्नो रक्तचाप दुई-तीन चोटी नाप्दा उपल्लो तहमा १५० देखि १६० को बिचमा आयो, जून धेरै उच्च अङ्क थियो ।  प्रविधिको उपयोग गर्दै मैले आफ्ना लक्षणहरू गुगलमा गएर हेर्दा त हृदयाघात र ‘हार्ट फेल्यर’ सँग मिल्दो जुल्दाे खालको पाएँ । लामो सास फेरी तातो पानी पिउँदै गर्दा मुटुको धड्कन पनि काबूमा आएको महशुस हुन पुग्यो । 

अर्को दिन कार्यशालामा पनि यसै प्रकारका लक्षण देखा परेपछि म अस्पतालतिर  दौडेँ । मलाई त्यहाँ ‘प्यानिक एट्याक’ र ‘एन्जाइटी एट्याक’ भएको जानकारी दिइयो र एउटा औषधि सेवन गरेपछि आफुलाई अलि राहत अनुभव भयो । 

यस्तो अत्ताइदिने लक्षण फेरि आउने भएकोले घर फर्किएर मैले यसको उपचारको लागि केही त गर्नैपर्छ भन्ने निधो गरेँ । अमेरिकामा कतिपय कार्यस्थल वा कम्पनीहरूमा कर्मचारी सहायता सेवा भन्ने सुबिधा हुन्छ जसअन्तर्गत कर्मचारी र तिनका परिवारका सदस्यले आफुलाई आवश्यक परेको बेलामा निश्चित समयसम्म मनोवैज्ञानिक परामर्श अर्थात काउन्सेलिङ वा थेरापीको सुबिधा लिन सक्छन् । मैले यस सेवाको फाइदा लिँदै २० बर्षभन्दा बढी समयको अनुभव संगालेकी एक काउन्सेलर र थेरापिस्टसङ्ग भेटेँ । केहि सेसनहरूको लागि कार्यस्थलले खर्च व्यहोरेपछि मेरो स्वास्थ्य विमाले पनि यस सेवाको लागि खर्च तिरिदिने हुँदा म एकदम उत्साहित र खुशी  हुँदै थिएँ ।

मानसिक स्वास्थ्यको समस्याले जब आफ्नो दैनिक कार्य, व्यवहार, र सम्बन्धमा समस्या उत्पन्न गरेको महसुस हुन थाल्छ, तब नै यसको समाधानको उपाय खोज्नतर्फ अग्रसर हुनुपर्छ । नेपाली समाजमा अहिले मानसिक स्वास्थ्यको महत्व सम्बन्धी चेतना बढिरहेको देखिन्छ, तथापि यस महामारीका बेलामा धेरैभन्दा धेरैले समाधान र उपचारका लागि प्रक्रिया थाल्नु उचित हुने देखिन्छ ।

कोरोना भाइरस महामारीको कारण मेरा प्रायः जसो परामर्श ‘भर्चुअल’ अर्थात फोन र जुम प्रविधिमा सिमित थियो । मैले केही बर्षअघि पनि अर्का ठाउँमा थेरापी गरेको थिएँ, तर रातारात समस्याको हल नहुने र त्यसको लागि धैर्य चाहिने भएकोले मैले निरन्तरता दिन सकेको थिइनँ । यसपालि चाहिँ घरैमा बसेर बातचीत गर्ने अवसर पनि जुरेकोले म दङ्ग थिएँ । मैले मेरो थेरापिस्टसँग हप्तामा एक पटक साक्षात्कार  गर्ने गर्थें । मैले आफ्ना पीर, डर, रीस, कमजोरी आदि सबैका बारेमा उनीसङ्ग बातचित गरेँ । सुरुको चार हप्ताचाहिँ आफूमा खासै परिवर्तन आएको देखिनँ । त्यसपछि विस्तारै आफूमा सकारात्मक परिवर्तनहरु आएको महसुस भयो । मैले त्यस दौरान मेरो डाक्टरले सिफारिस गरेबमोजिम 'एन्जाइटी' को लागि दिनहुँ र 'प्यानिक एट्याक' को लागि आवश्यकता अनुसार कम डोजको औषधि पनि सेवन गरिरहेको थिएँ । तथापि मेरो थेरापिस्टले मलाई औषधि अत्यावश्यक नभएको विचार  दिन थाले । केही वर्षअघि पनि मैले एक महिना मात्र औषधि खाएर छोडेको हुनाले यसपालि चाहिँ एक वर्षसम्म खाएर हेरौँ न त भनेर सुरु गरेँ।  

मैले लिनेमध्ये एउटा औषधिको नराम्रो 'साइड इफेक्ट' चाहिँ के थियो भने त्यसले आत्महत्या गर्ने सोच पैदा गर्ने रहेछ, र यस्तो चेतावनी त्यसको बट्टामा पनि लिखित रुपमा नै थियो । त्यस्तो लक्षण देखा परेमा म सचेत र सावधान हुनेछु भन्ने अठोट लिएँ । केही दिनचाहिँ निद्रामा समस्या आयो । आत्महत्याजस्तो गम्भीर सोच नआए तापनि कताकता जीवनप्रति निराशा भने लाग्थ्यो तर म विश्वस्त थिएँ कि यो चाहिँ मेरो आफ्नो विचार होइन तर औषधिको क्षणिक 'साइड इफेक्ट' हो भनेर । यदि आफ्नो परिवार र सङ्गतमा कोही भर्खरै 'एन्जइटी' र 'डिप्रेसन'को लागि औषधि सेवन गर्ने क्रममा छन् भने सुरुका केही दिनचाहिँ अलि बढी ख्याल राख्नुपर्ने रहेछ भन्ने बुझेँ । सबैजना मजस्तो सजग र सचेत पक्कै पनि हुँदैनन् ।  

सुरुका दिनहरुमा मलाई घरबाट बाहिर जाँदा फेरि 'प्यानिक एट्याक' आउँछ कि भन्ने डरले त्यसको लागि आवश्यक पर्ने औषधि बोकेर हिंडिरहेको हुन्थ । थेरापी अगाडि बढिरहेको क्रममा मैले 'प्यानिक एट्याक'लाई कसरी नियन्त्रण गर्ने भन्नेबारे राम्राेसँग सिकेँ । कहिलेकाहीँ राति आत्तिएर उठ्ने गर्थेँ तर लामो श्वास फेरिकन आफुलाई म ठीक छु भनी आश्वास्त पार्ने काम गर्थे । ममा यति धेरै सुधार आयो कि 'प्यानिक एट्याक'का लागि दिइएको औषधि मैले तीन चार चोटि भन्दा बढी सेवन गर्न परिरहेको छैन् । 

मैले यसैबीच आफूलाई माया गर्न अनि जीवनमा आउने उतारचढावलाई बिना डर, संयमपूर्वक सामना गर्न पनि सिकेँ । म अमेरिका आएको थुप्रै वर्ष  भइसके तापनि 'एन्जाइटी'का कारण एक्लै गाडी चलाउन सक्दिनथेँ र कसैसँग साथमा भएर चलाउँदा पनि भित्रैदेखि भिन्नै महसुस हुने, वाकवाकी आउला जस्तो हुने, हातखुट्टा झमझमाउने र गाडी अनियन्त्रित भएको भ्रम हुनेजस्ता समस्या हुन्थे । थेरापीको दौरानमा मैले फेरि पुनः ड्राइभिङ स्कुल गएर, थुप्रैचोटि अभ्यास गरेर, चालक अनुमतिपत्र पनि निकालेँ, र सन् २०२० कै नयाँ गाडी घरमा भित्रयाएरै छाडिसकेको छ ।

आफ्नो मानसिक स्वास्थ्यमा निकै सुधार आएपछि अनि जीवनमा सकारात्मक परिवर्तनहरू आएपछि मैले थेरापिलाई दुई दुई हप्तामा एकचोटि गर्ने गरी सारिरहेको छ । अनि डाक्टरको सल्लाहबमोजिम बिस्तारै मात्रा घटाउँदै औषधि पनि बन्द गरिसकेको छ । 

मैले जब-जब मलाई मुटु धड्कने हुन्थ्यो तब त्यसको मिति, समय, अवधि र पृष्ठभूमिको नोट बनाएर राख्ने गरेकाे थिँए । अहिले मलाई 'प्यानिक एट्याक' नभएको पनि महिनौं भइसकेको छ । यो एक बर्षको अवधिलाई मैले 'एन्जाइटी'लाई स्वीकार गर्दै कसरी त्यसलाई आफ्नो जीवनमा नियन्त्रण गर्न नदिने भन्नेबारे जीवनभरी काम लाग्ने  गरी राम्रो पाठ सिकेकाे छु  । मलाई लाग्छ, समस्याको पहिचान गर्नु नै समाधानको पहिलो चरण हो ।

मानसिक स्वास्थ्यको समस्याले जब आफ्नो दैनिक कार्य, व्यवहार, र सम्बन्धमा समस्या उत्पन्न गरेको महसुस हुन थाल्छ, तब नै यसको समाधानको उपाय खोज्नतर्फ अग्रसर हुनुपर्छ । नेपाली समाजमा अहिले मानसिक स्वास्थ्यको महत्व सम्बन्धी चेतना बढिरहेको देखिन्छ, तथापि यस महामारीका बेलामा धेरैभन्दा धेरैले समाधान र उपचारका लागि प्रक्रिया थाल्नु उचित हुने देखिन्छ । थेरापी र मनोवैज्ञानिक परामर्शको लागि अलिकति समय र धैर्य जरूर चाहिन्छ, तर त्यसबाट हुने दिगो लाभहरूले गर्दा मेरोजस्तै अरू पनि थुप्रैको जीवनमा सकारात्मक परिवर्तन आउन सक्छ ।