मानिसमा आत्महत्याको विचार किन आउँछ ?

मानिसमा आत्महत्याको विचार किन आउँछ ?

प्रा.डा.सुदर्शन नरसिंह प्रधान  |  जीवनशैली  |  बैशाख २, २०७६

मानिसको मन सधैंभरी एकैनासको हुँदैन । बाहिरी वातावरणले मनलाई प्रभावित पारिरहेको हुन्छ । राम्रो कुरा सुन्दा खुसी महसुस हुनु र नराम्रो कुरा सुन्दा दुःखी महसुस हुनु स्वभाविक हो ।

खासगरी परिवारको सदस्य तथा आफन्तको मृत्यु हुँदा, परीक्षामा असफल हुँदा, धनजनको क्षति हुँदा, पारिवारिक सम्बन्ध बिग्रँदा मन दुःखी हुने गरेको छ । यस्तो अवस्थामा प्रायःजसो निद्रा नलाग्ने, खाना खान मन नहुने, रमाइला कुरामा मन नजानेलगायत लक्षण देखा पर्छन् ।

यस्ता कुरा केही समयको लागि उब्जिए पनि विस्तारै मानिस सामान्य अवस्थामा पुग्छ ।

मानिसको मन ठीक भएको अवस्थामा राम्रोसँग निद्रा लाग्ने, खानामा रुचि हुने, रमाइला कुरामा ध्यान जाने, साथीभाइसँग भेट गर्ने इच्छा हुन्छ । कुनै नयाँ काम सुरु गर्न मन लाग्छ । तर, मन नै ठिक भएन भने यी कुरामा ध्यान जाँदैन । र, मान्छेले बिस्तारै आफूलाई असफलतातिर डो¥याउन सक्छ । यसले मानिसमा उदासिनता रोग (डिप्रेसन) पैदा गर्न सक्छ ।  

बिना कारण दुई हप्ताभन्दा बढी मन उदास भए उदासिनताको रोग लागेको भन्ने थाहा पाउनुपर्छ । यो रोग प्रायःजसो बाहिरी वातावरणको कारण तथा भित्री जैविक कारणले गर्दा लाग्छ । बाहिरी वातावरण भन्नाले मानसिक तनाव दिने कारण, जस्तै: पारिवारिक कलह, धनजनको क्षति, परीक्षामा असफलता, जागिर गुम्दा, प्रियजनको मृत्यु हुँदा, आफ्ना श्रीमान/श्रीमतीको अरुसँग यौन क्रियाकलापमा संलग्न भएको प्रमाणित भएमा ।

यो एक प्रकारको मनको रोग हो । यसका बिरामीको मन ज्यादै दुःखी हुन्छ, रमाइला कुरामा ध्यान जाँदैन । बिरामीको शरीरमा थकान महसुस हुन्छ । यस्तै, बिरामीमा तनाव पनि भइरहन्छ । बिरामीमा आत्मविश्वास घट्ने, हिनताबोध भइराख्ने, आत्महत्याका विचार आउने, भोक तथा निद्रा तथा यौन इच्छा नलाग्ने लगायत लक्षण देखिन्छन् । यी लक्षण खास कारणले मात्र देखिन्छन् भन्ने हुँदैन ।

बिरामी आर्थिक रूपमा सबल भए पनि गरिब छु भन्ने भ्रम लिने र भविष्यमा केही गर्न सकिन्न भन्ने सोची झोक्रिएर बस्ने गरेको पाइएको छ । कतिपय आफू ज्यादै नराम्रो तथा कुरूप भएको भन्ने भ्रम पालेर बाहिर जान नमान्ने र प्रायः घरमा नै एक्लै बस्ने पनि गरेका छन् ।

माथि उल्लेखित लक्षण दुई हप्ताभन्दा लामो समयसम्म देखिएमा उदासिनताको रोग हो भन्ने पहिचान गर्न सकिन्छ ।

यस्ता बिरामीलाई परिवारका सदस्य अथवा साथीभाइले ‘धेरै नसोच’, ‘चिन्ता नलेऊ’ भनेर सल्लाह दिने गरेको पाइन्छ । तर, यो एकदमै हलुका भएर दिइने सल्लाह हो । यो टाइफाइड भएर ज्वरो आएको बिरामीलाई ‘ज्वरो ननिकाल’ भनेजस्तै हो । टाइफाइड भएको बिरामीको ज्वरो फाल्न त्यति सजिलो छैन ।

उदासिनता रोगका बिरामीलाई नकारात्मक सोच आउने भएकाले ती बिरामीलाई ‘धेरै नसोच’, ‘चिन्ता नलेऊ’ भन्नुको खास अर्थ हुँदैन ।

बरु, त्यस्ता बिरामीलाई सहज वातावरण तयार गर्ने, नकारात्मक सोच पैदा भएको कारणबारे सोधखोज गर्ने गर्नुपर्छ । जसले बिरामीलाई मनको कुरा सहजै बाहिर निकाल्न मद्दत पु¥याउँछ ।

उदासिनताको रोग मनको रोग हो । चिन्ता लिएर उदासिपन देखिएको होइन, चिन्ता लिन्न भन्दाभन्दै पनि मन उदास हुन्छ । र, खुसी हुन्छु, रमाउँछु र राम्रो काम गर्छु भन्ने विचार नै आउँदैन ।

यो शतप्रतिशत निको हुने रोग हो । उपचारबाट यो रोग  नियन्त्रणमा लिन सकिन्छ । तर, रोग बल्झेर कडा भइसकेपछि अलिकति समय भने लाग्न सक्छ ।

रोग लागिसकेपछि आफूले नै नियन्त्रणमा लिन भने त्यति सजिलो छैन । रोगबाट छुटकारा पाउन बिरामीमा सकारात्मक सोचाई आउनु राम्रो कुरा हो । तर, त्यसका लागि केही तरिका छन्, जस्तै ः नकारात्मक सोचाइलाई सकारात्मकतामा बदल्ने ।

यो सबैभन्दा सजिलोसँग पहिचान गर्न सकिने रोग पनि हो । बिना कारण दुई हप्ताभन्दा बढी मन उदास भए उदासिनताको रोग लागेको भन्ने थाहा पाउनुपर्छ । यो रोग प्रायःजसो बाहिरी वातावरणको कारण तथा भित्री जैविक कारणले गर्दा लाग्छ । बाहिरी वातावरण भन्नाले मानसिक तनाव दिने कारण, जस्तै: पारिवारिक कलह, धनजनको क्षति, परीक्षामा असफलता, जागिर गुम्दा, प्रियजनको मृत्यु हुँदा, आफ्ना श्रीमान/श्रीमतीको अरुसँग यौन क्रियाकलापमा संलग्न भएको प्रमाणित भएमा ।

भित्री जैविक कारण भन्नाले मुख्यतया मस्तिष्कमा रहेका विभिन्न रासायनिक तत्वहरू सोरोटोनिन (Serotonin) नोरा इपिनेफिक्स -Norepinephrine_, डोपामिन -Dopamine_सन्तुलनमा असर पर्नु मानिएको छ ।

बिरामी परिवार तथा समुदायमा हुने जमघट, मेलामा, चाडपर्वमा गर्नुपर्ने जिम्मेवारीमा सरिक हुन चाहँदैन । साथै आफ्नो पेशागत काममा पनि सशक्त भूमिका पनि निभाउन सक्दैन ।

दुर्भाग्य ! यस रोगबारे धेरैलाई जानकारी नै छैन । उपचार गर्नुपर्छ भन्ने जनचेतना छैन । जसका कारण बिरामीलाई धामी–झाक्रीकहाँ उपचारका लागि लगिन्छ ।

आर्थिक विपन्नताका कारण धेरै बिरामी सहरमा उपचार गराउन सक्दैनन् । उनीहरू लामो समयसम्म रोग पालेर बस्न बाध्य छन् ।  गाउँका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले उदासिनताको रोग पहिचान गर्न सक्दैनन् ।

कहिलेकाहीँ उदासिनताको रोगमा मनसम्बन्धी लक्षणको साथै शारीरिक लक्षण देखिएका बिरामी अस्पताल आउँछन्, जस्तै: टाउको दुख्ने, शरीर झमझमाउने तथा पोल्ने, छाती तथा जोर्नी दुख्ने आदि ।

यस्ता लक्षण देखिएका बिरामीको परीक्षण गर्दा केही देखिँदैन । तर, यी शारीरीक लक्षणको भित्री सम्बन्ध घरभित्रको पारिवारिक कलह, आर्थिक भार तथा नोक्सानी र पेशागत असन्तुष्टि आदि देखिन सक्छ ।

मनको रोग भन्नेबित्तिकै हाम्रो समाजमा नकारात्मक दृष्टिले हेर्ने चलन पहिलेदेखि नै चल्दै आएको छ । यसलाई परिवर्तन गरी गर्न सके उदासिनताको रोग निको पनि हुन सक्छ । तसर्थ मानसिक रोग विशेषज्ञकहाँ उपचार गराएका रोग ठिक हुन्छ भन्ने जनचेतना जागृत गराउनु आवश्यक छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार दस प्रतिशतमा यो रोग लागेको छ । आगामी दिनमा यो रोग भयावह देखिन सक्ने यस क्षेत्रका विज्ञ बताउँछन् ।

चिकित्सा विज्ञानको प्रगतिले उदासिनताको रोगलाई चिन्ने तरिकालाई सरल बनाइदिएको छ । यसको उपचारका लागि नेपालमा नै विभिन्न औषधी उपलब्ध छन् । साथै साइकोथेरापी -psychotherapy_बाट पनि यसको उपचार गर्न सकिन्छ ।