मुख्यमन्त्री योगी र मायावतीलाई बोल्न निषेध

मुख्यमन्त्री योगी र मायावतीलाई बोल्न निषेध

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २, २०७६

काठमाडौं । भारतको निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ तथा बहुजन समाज पार्टीको अध्यक्ष मायावतीमाथि सीमित प्रतिवन्ध लगाएको छ । 
निर्वाचन आयोगले मुख्यमन्त्री योगीमाथि ७२ घण्टे तथा मायावतीमाथि ४८ घण्टे प्रतिवन्ध लगाएको  हाे ।

उक्त दुबै जनाले १६ अप्रिलको बिहान ६ बजेदेखि चुनाव अभियानमा भाग लिन पाउने छैनन् । दुबैमाथि चुनाव आचार संहिता उल्लंघन गरेकोमा निर्वाचन आयोगले रोक लगाएको हो । 

मायावतीले ७ अप्रिलको एउटा चुनावी सभामा मुस्लिम समुदायसँग आफ्नो भोट अन्यत्र जान नदिने अपील गरेकी थिइन । चुनावी सभाको भिडियो हेरेपछि निर्वाचन आयोगले मायावतीमाथि कारवाही गरेको हो ।

यसैगरी योगी आदित्य नाथले ९ अप्रिलको एउटा चुनावी सभामा उद्घोष गरेका थिए, ‘यदि कांग्रेस, सपा र बसपालाई ‘अली’माथि विश्वास छ भने हामीहरुलाई बजरंगबलीमा पूर्ण आस्था छ ।

निर्वाचन आयोगले दुबैका बयानलाई आपत्तिजनक मान्दै चुनावी अभियानमा भाग लिन सीमित समयको बन्देज लगाएको हो ।