सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ९, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको जनाउनुभयो ।

'देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ', उहाँले भन्नुभयो, 'हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनो । हामी रातो झण्डा फहराउनेवालाहरु हौँ । काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ ।'

अर्को प्रसङ्गमा  प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । ‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार: स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा: प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका आयोजित सो भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता छ ।