'जन्मजात बाङ्गो, दुर्घटनाबाट बिग्रेको, धेरै चुच्चो र थेप्चो नाक मिलाउने कार्य नै 'फेसियल प्लास्टिक सर्जरी' हो ।'

'जन्मजात  बाङ्गो, दुर्घटनाबाट बिग्रेको,  धेरै चुच्चो र थेप्चो नाक मिलाउने कार्य नै  'फेसियल प्लास्टिक सर्जरी' हो ।'

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  माघ ८, २०७७

डा.सरिना राजभण्डारी स्टार हस्पिटलमा ‘इएनटी’ सर्जनका रुपमा कार्यरत हुनुहुन्छ । डा. राजभण्डारीको ‘इएनटी’मा पनि ‘फेसियल प्लास्टिक सर्जरी’ मा विशेषज्ञता रहेको छ ।  यो भनेको मान्छेको नाकलाई सुन्दर बनाउने उपचार विधि हो । जसको नाक जन्मजात बिग्रिएको वा दुर्घटनामा परेर बाङ्गिएको छ यो उपचार पद्धतिद्वारा सुन्दर बनाउने गरिन्छ । सुन्दर नाकले व्यक्तित्वमा समेत असर पर्ने हुँदा धेरै चुच्चो वा थेप्चो नाकलाई समेत यो विधिको प्रयोग गरी सुन्दर बनाउन सकिने दाबी गर्नु हुने  डा.सरिना राजभण्डारीसँग लोकसंबाद डटकमले ‘इएनटी’ रोग र ‘फेसियल प्लास्टिक सर्जरी’मा केन्द्रित रहेर गरिएको अन्तर्मन्थनको  मूल अंश :

मेडिकल टर्ममा इएनटी भन्नाले केकेलाई बुझाउँछ ? 

हुन त ‘इएनटी’ भन्नाले बुझिने भनेको ‘इ फर इएर, एन फर नोज अनि टी फर थ्रोट’ भन्ने बुझाउँछ । अर्थात् ‘नाक कान, घाँटी भन्ने नै हो । नाक, कान र घाँटीका रोगहरूको सामान्यतया एक आपसमा ‘इन्टरकनेक्टेड’(अन्तरसम्बन्धीत)  हुने हुनाले यसलाई छोटकरीमा ‘इएनटी’ भनिएको हो । मेडिकल टर्ममा भने यसलाई ‘ओटोला एङ्कोलोजी’ पनि भनिन्छ । नाक,कान,घाँटीको समस्यालाई खासमा ‘इएनटी’ भनेर प्रख्यात छ । मानिसको नाकमा समस्या हुँदा घाँटीमा पनि हुनसक्ने अनि घाँटीमा हुँदा नाकमा पनि समस्या  हुनका साथै कानमा समस्या हुने गर्छ ।  नाक तथा घाँटीमा पनि समस्या देखिन सक्ने हुनाले यो सबैलाई समष्टिमा बुझाउनलाई ‘इएनटी’ भन्ने गरिन्छ । 

नेपालमा भने इएनटी रोगको अवस्था चाहिँ कस्तो छ ? 

नेपालमा खासगरी सिजन परिवर्तन हुने बेलामा ‘इएनटी’को समस्या धेरै देखा पर्ने गरेको छ । यसलाई सामान्य नै मानिन्छ । विशेष गरी जाडोमा नाकबाट पानी बग्ने, रुघाखोकी लाग्ने, घाँटी चिसोले चिलाउने. खोकी लाग्ने तथा अन्य ‘एलर्जी’को समस्या बढी भन्दा बढी देखा पर्ने गरेको छ । यस्तो समस्याको रुपमा नै देखापर्‍यो भने चाहिँ आफूखुसी औषधि खानुभन्दा उपचारका लागि चिकित्सकको परामर्शमा जानु उपयुक्त हुन्छ ।

‘इएनटी’को उपचारको अवस्था नेपाल र बाँकी विश्वमा कस्तो छ ?

हामीकहाँमा हुने गरेको कानबाट पिप आउने समस्याको उपचार सहज नै भइरहेको छ । नयाँ प्रविधि जस्तै ‘इण्डोस्कोप’बाट पनि उपचार भइरहेको छ । नाक र घाँटीको क्यान्सरको लागि पनि क्यान्सर अस्पतालमा यो प्रविधिबाट उपचार भइरहेको छ ।नयाँ नयाँ तरिकाबाट टन्सिल निकाल्ने जस्ता उपचार नेपालमा पनि हुने गरेका छन् । सामान्यतया उपचार नै नहुने अनि प्रविधि पनि नभएको भन्ने अवस्था नेपालमा अहिले छैन । 

 प्रविधि र उपकारणको हकमा चाहिँ के अवस्था छ ? 

माइक्रो स्कोप तथा इण्डोस्कोपहरु नयाँ नयाँ आउँदै गरेका छन् । अरु उपकारण पनि राम्रै खालका छन् । खासमा पुरानो उपकारण भनेर नाकै खुम्च्याउनु पर्ने अवस्था  अहिले छैन । 

नेपालमा ‘इएनटी’ डाक्टरको सङ्ख्याका हिसाबले  कस्तो अवस्था छ ?

‘सोसाइटी अफ ओटोला एङ्कोलोजीस्ट’ नेपाल भन्ने ‘इएनटी’ डाक्टरहरूको संस्थामा सूचिकृत भएका डाक्टरको सङ्ख्या अहिले दुइसय भन्दा माथि रहेको छ । अब पढ्दै गरेका र अन्य सबै गर्दा तीन सय पचासको हाराहारीमा हुनुपर्छ । 

यो नेपालको सङ्ख्यालाई पर्याप्त मान्न सकिन्छ त ?

यो भन्नाले ठाउँ अनुसार  फरक फरक पर्ने हुन्छ । काठमाडौँमा हेर्दा ‘इएनटी’ डाक्टर धेरै नै भेटिन्छ । तर, दुर्गममा भने छँदै छैनन् भने पनि हुन्छ । तर, अहिले काठमाडौँ बाहिरका सहरहरुमा भने ‘इएनटी’का डाक्टरको उपस्थिति राम्रै देखिन थालेको छ । 

तपाईँ फेसियल प्लास्टिक सर्जरीको डाक्टर भएको हुनाले यो फेसियल प्लास्टिक सर्जरी भनेको के हो ? 

फेसियल प्लास्टिक सर्जरी भनेको खासगरी नाकको प्लास्टिक सर्जरीलाई बुझिन्छ । कसैको जन्मजात नाक बाङ्गो छ भने मिलाउने, दुर्घटनामा परेर बिग्रेको छ भने मिलाउने अथवा धेरै नै चुच्चो छ अथवा थेप्चो छ भने हेर्दा राम्रो देखिने गरी मिलाउने कार्यलाई  'फेसियल प्लास्टिक सर्जरी'  भनिन्छ । 

‘इएनटी’को सन्दर्भमा सुविधाका हिसाबले अथवा प्रविधिको पहुँचका हिसाबले सरकारी तथा निजी अस्पताल कुन राम्रो ठान्नुहुन्छ ? 

त्यसरी ठ्याक्के तुलना गर्न त नसकिएला । तर  कुनै उपचार सेवा सरकारीमा राम्रो होला । कुनै निजीमा । यसमा भने बिरामीले आफूले आफू अनुकूलको सेवा कहाँ कसरी लिन्छ भन्ने कुराले पनि भर पर्छ होला । 

उपचारका सम्बन्धमा सरकारी अस्पताल तथा निजी अस्पतालमा शुल्कमा कत्तिको अन्तर छ ?

निजीमा अस्पताल स्वाभाविकै केही महँगो हुने भयो ।  दुई चार हजार फरक पर्ला तर त्यस्तो धेरै फरक भने छैन । अब निजीमा लाइन बस्ने, ढिलो हुने अनि डाक्टर भेटिन समय लाग्ने, अपरेसनका लागि पनि महिनौँ कुर्नु नपर्ने, सबै हैरानी नीलिमा भने बेहोर्नु नपर्ने भएको हुँदा सरकारीमा भन्दा निजीमा आकर्षण बढेको पाएको छु । सायद, पैसा तिर्ने भनेको पनि यसका लागि नै होला जस्तो  लाग्छ । 

‘इएनटी’ उपचारको स्तरमा भने नेपालले अन्य उपचारका विधाको तुलनामा कत्तिको विकास गरेको छ ? 

जसरी अरु एलोपेथिक उपचार विधिमा अहिले धेरै नै प्रगति भएको देखिन्छ ‘इएनटी’को सन्दर्भमा पनि त्यस्तै किसिमको  हो । विश्वमा भएको उपचार विधि र प्रविधि यहाँ पनि भित्रिँदै आएको छ त्यस हिसाबले लिने हो भने सन्तोषजनक ढङ्गले विकास भएको पाएको छु ।