मर्मतका लागि विद्युत् आयोजना बन्द

मर्मतका लागि विद्युत् आयोजना बन्द

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ९, २०७७

हुम्ला । मर्मतका लागि हिल्दुम साना जलविद्युत् आयोजना बन्द हुने भएको छ । दैनिकजसो विद्युत् अपुग हुने र चुहावट हुँदै आएका कारण पुनःमर्मतका लागि विद्युत् आयोजना शनिबार बन्द गर्न लागिएको हो ।
   
सदरमुकाम सिमकोट आसपासका गाउँ र खार्पुनाथ गाउँपालिकामा सेवा प्रवाह भएको विद्युत् एक दिनका लागि बन्दपश्चात् नियमित हुने हिल्दुम विद्युत् वितरण आयोजना कार्यालयका प्रमुख साजन ऐडीले बताउनुभयो । प्रमुख एडीले भन्नुभयो, “माघ १० गते शनिबार परेकाले सदरमुकाम अवस्थित कार्यालयलाई प्रभाव नपर्ने उद्देश्यका साथ हिल्दुम खोलामा रहेको पावरहाउस बन्द हुँदै छ ।” 
 
सोही दिन बिहान ८ बजेदेखि कम्तीमा पनि दुईदेखि तीन घण्टासम्म मर्मत गर्न समय लाग्ने भएको ऐडीले बताउनुभयो । उहाँका अनुसार मर्मत भएपश्चात् सोहीदिन बेलुका विद्युत् सेवा पुनःसञ्चालनमा आउने छ । हाल सदरमुकाम सिमकोटमा दैनिक कम्तीमा ११ घण्टा विद्युत्भार कटौती हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन् ।