महीश्वरराज बज्राचार्य : कुशल इन्जिनियरदेखि बुद्ध धर्मको कुल परम्परामा समर्पित नाम

महीश्वरराज बज्राचार्य : कुशल इन्जिनियरदेखि बुद्ध धर्मको कुल परम्परामा समर्पित नाम

आशिष पौडेल  |  अन्तर्मन्थन  |  माघ १०, २०७७

महीश्वरराज बज्राचार्य बुद्ध धर्म पठन पाठन तथा प्रचार प्रसारमा सम्मानित नाम हो । फरक विधाको विद्यार्थी भइकन पनि आफ्नो कुल परम्परामा चली आएको बौद्ध धर्म सम्बन्धी अध्ययन अनुसन्धानलाई निरन्तरता दिँदै उहाँले आफूलाई स्थापित गराउन सफल नाम हो महीश्वरराज बज्राचार्य ।

बुद्ध धर्म पढेर केही हुँदैन भन्नेहरूलाई उहाँले सुगत बौद्ध महाविद्यालय खोलेर मात्र नभई सफलतापूर्वक सञ्चालन समेत गरेर उदाहरणीय बन्नु भएको छ । 'गर्दा के हुँदैन ?'   भन्ने एउटा गतिलो पठनीय सामग्री हो यो आलेख । 

पारिवारिक अवस्था 

उहाँको बुवा अन्तर्राष्ट्रिय स्तरको बौद्ध विद्वान । उहाँको खास नाम गणेशराज बज्राचार्य । तर, चलनचल्तीको नाम भने आशाकाजी बज्राचार्य । उहाँका सात पुस्ता नै बुद्ध धर्मप्रति समर्पित रहेको महीश्वरराज बज्राचार्य भन्नुहुन्छ  । 

हुन त बुद्ध धर्मप्रति समर्पित यस्ता धेरै छन् तर, उहाँको बुवा निस्स्वार्थ समर्पित हुने थोरै मध्ये पर्नुहुन्छ भन्नुहुन्छ उहाँ । उहाँले संस्कृतमा पनि शास्त्रीसम्मको अध्ययन गर्नु भएको  बताउनुहुन्छ उहाँ । 

उहाँको घरमा परम्परागत रुपमा आएका संस्कृतका तीन सय थान पुस्तक सङ्कलनमा रहेछन् । र, त्यो पुस्तक पढ्नका लागि उहाँले एक जना संस्कृतका गुरुसँग संस्कृत पढ्नु भएको रहेछ ।  

ती पुस्तक अध्ययन गरेपछि भने उहाँ आफ्नै प्रकारले बुद्ध धर्मको प्रचार प्रसारमा लाग्नुभयो । र, आफ्नो जीवन नै त्यसमा समर्पण गर्नुभयो । अनि उहाँले बुद्ध धर्म सम्बन्धी किताबहरू पनि लेखेको बताउनुहुन्छ । 

अनि यो पुस्तकका बारेमा जानकारी भएपछि बुद्ध धर्म सम्बन्धी रुचि र चासो राखेर पुरातत्त्व विभागमा खोजका लागि जाने विदेशीहरूलाई आशाकाजी पण्डितकोमा जानुस् भनेर विभागले प्रस्ताव नै गर्ने गर्दथ्यो । यसरी बुवाको ख्याति बढ्दै गएको बताउनुहुन्छ उहाँ । उहाँको यो पण्डित कसैले दिएको उपाधि नभएर उहाँको विद्वताका कारण प्राप्त भएको बताउनुहुन्छ उहाँ । 

यो २०२२/२३ सालको कुरा हो । सिड्नी विश्वविद्यालयका एशोसियट प्रोफेसर तथा एन्थ्रोपोलोजिस्ट माइकल एलेन उहाँको घरमा आठ महिनासम्म बसेर अध्ययन गरेको बताउनुहुन्छ उहाँ । त्यस्तै जापानका ताकावाका, बेलायतका डा.गेलनार जस्ता धेरै मानिस उहाँकोमा पढ्न नै आउँथे !

अनि उहाँले पढाएको कहिले पनि पैसा लिनुभएन । विदेशीले कति पैसा लिने भनेर सोध्दा पनि यो गुरु शिष्य परम्पराको ज्ञान भएकोले गुरु थाप्न आग्रह गर्नुहुन्थ्यो । अनि एउटा दान पात्रमा चामल तथा यथाशक्य दक्षिणा राखेर शुरु हुन्थ्यो गुरु शिष्य परम्पराको ज्ञान । माइकल एलेनले असर्फी नै राखेको याद रहेछ उहाँलाई । 

अर्को कुरा उहाँको बुबा चर्तुमासमा पुराण कथा पनि वाचन गर्नुहुँदो रहेछ । यसै सिलसिलामा उहाँ जापान समेत पुग्नुभएको रहेछ । जापान गएर आउँदा पनि उहाँले खासै केही लिएर आउनु भएन, उहाँ भन्नुहुन्छ ।

उहाँले बौद्ध परिषद्का सदस्यहरूलाई विद्यार्थी नभए बल्ल बल्ल स्वीकृति पाएको कलेज खारेज हुन्छ भन्ने बुझाएर घर घर गएर अनुरोध गरेर विद्यार्थी ल्याउनुभयो । विद्यार्थी त सोह्र जना पुगे अब शिक्षक कहाँबाट ल्याउने । फेरी त्यही बेला उहाँलाई आन्द्राको क्यान्सर भएको थियो । अनि जति ठुलो स्वरले कराएर पढायो त्यति नै आन्द्रा बाहिर निस्कन्थ्यो । अब एउटा कलेज चलाउनका लागि यो भन्दा सङ्घर्ष के होला र ?

गुरु दक्षिणामा पनि खासै केही नलिने र अन्य उपार्जनको बाटो पनि खासै नभएकोले उहाँ आफ्नो परिवारलाई निम्न मध्यम वर्गीय परिवार भन्न रुचाउनुहुन्छ । उहाँका बारेमा शताब्दी पुरुष सत्यमोहन जोशीले एउटा सानो जीवनी पनि लेख्नुभएको रहेछ । त्यसमा को को कहाँबाट पढ्न आए भन्ने बारेमा पनि जानकारी दिइएको छ ।

उहाँका शिष्य अँग्रेजी बाहेक अरु नबुझ्ने । उहाँलाई अँग्रेजी नआउने । त्यसैले पढ्न आउनेले एक जना गाइड पनि लिएर आउने रहेछन् । कहिलेकाहीँ गाइड नभएको अवस्थामा भने उहाँले पनि गाइडको काम गर्नुहुँदो रहेछ । शायद त्यसको प्रभाव होला उहाँ पनि बुद्ध धर्मको ज्ञान बाँड्ने काममै लागिरहनु भएको छ । 

जन्म र बाल्यकाल 

उहाँको जन्म १९९५ सालमा पाटनको नकबहिलमा भएको हो । तर, नागरिकताले भने उहाँलाई अझ तन्नेरी बनाएको छ । अर्थात् १९९६ साल उल्लेख गरेर । उहाँको आमा भने उहाँ ६,७ वर्षको हुँदा नै बितेको हुँदा उहाँलाई आमाको भने खासै सम्झना छैन । उहाँले जानेदेखि उहाँको कान्छी आमा समेत रहेको बताउनुहुन्छ उहाँ । 

निम्न मध्यम परिवार भएकाले बाल्यकाल त्यति सुखद नरहेको बताउनुहुन्छ उहाँ । तर, उहाँ अलि चलाख तथा पढ्नमा जेहेन्दार भएका कारण साथीभाइले भने निकै मन पराउँथे उहाँ भन्नुहुन्छ । साथीभाइले घरमा लैजान खोज्ने सँगै राख्न खोज्थे ।  बरु उहाँ भने तर्किनु हुन्थ्यो । त्यसको कारण रहेछ, त्यसरी अरूसँग लाग्यो भने त पढ्न नपाएर बिग्रेला भन्ने । त्यस कारण उहाँ अलि टाढै हुन खोज्नुहुन्थ्यो रे !  

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा चण्डी विद्याश्रमबाट प्रारम्भ भएको हो । तर त्यो एक कक्षाबाट नभई चार कक्षादेखि भएको रहेछ । त्यसको कारण आर्थिक भएको उहाँले बताउनुभयो । तर, घरमै उहाँले ठुलो वर्णमाला तथा एबिसिडी पढ्ने गर्नुभएको रहेछ । 

उहाँ कक्षाको मनिटर हुनुहुन्थ्यो । कक्षामा बस्नका लागि डेस्क बेन्च समेत थिए । कक्षामा करिब बिस पच्चीस जना थिए । जसमा पाँच, छ जना केटीहरू पनि हुन्थे । पैसा थोरै तिरेको याद छ । तर, कति भन्ने याद छैन, उहाँलाई । 

त्यस बेला चण्डी विद्यालय निमावि मात्र थियो । त्यसपछि उहाँ थप अध्ययनका लागि त्रिपद्म माविमा जानुभयो । त्यहाँ पनि बस्नका लागि डेस्क बेन्च राम्रै थियो । उहाँ फस्ट ब्वाई अनि मनिटर । बस्न पनि फस्ट बेन्चमा नै बस्ने । कक्षामा बिस पच्चीस जना थिए होलान् । तर, यहाँ भने केटीहरू थिएनन्, उहाँ भन्नुहुन्छ । उहाँले तेह्र सालमा एसएलसी दिनुभएको हो । कक्षामा फस्ट भएजस्तो भएन एसएलसीको रिजल्ट भने । उहाँको थर्ड डिभिजन मात्र आयो । 

पब्लिक साइन्स कलेज 

एसएलसी पछि उहाँ पब्लिक साइन्स कलेज घण्टाघरमा पढ्नु भयो । त्यसबेला पब्लिक साइन्स कलेज हालको त्रिचन्द्र कलेजको भवनमा अवस्थित थियो । बिहान पाँच बजे गयो । अनि दश बजे फर्केर आउँदा गलेर थकित । कारण पैदल यात्रा थियो । प्राक्टिकल भएको बेला छ भने त बाह्र नै बज्थ्यो, उहाँ भन्नुहुन्छ । 

उहाँले बायोलोजि लिएर पढेको । कारण बुबा उहाँलाई डाक्टर बनाउन चाहानु हुन्थ्यो । तर, उहाँको इच्छा भने इन्जिनियर हुने  थियो। यहाँनेर भने बाबु छाेराकाे तालमेल मिलिरहेको थिएन । पढ्न त उहाँले जेनतेन दुई वर्ष पढ्नु भयो । अर्थका कारण किताब थिएन । साथी भाइसँग मागेर पढ्नुपर्ने । माग्दा कसैले दिन्थे । कसैले दिँदैनथे । परिणाम उहाँ फेल हुनुभयो ।

त्यसपछि उहाँले आफ्नै रुचिको इन्जिनियरिङ पढ्नु थाल्नु भयो । त्यस बेला कलेज जाउलाखेलमा थियो । पढाई सिभिलको मात्रै हुन्थ्यो । त्यस बेला डिप्लोमाको सर्टिफिकेट दिने चलन थियो । 

पहिलो जागिर 

उहाँ २०१७ सालमा इन्जिनियरिङको डिप्लोमा लिएर उहाँ कोदारी राजमार्गमा काम गर्न जानुभयो ।  अन्तरवार्तामा काम गर्न कहाँ जाने भनेर सोधिएको थियो । सोधिएका मध्ये कोदारी सबैभन्दा टाढा थियो । उहाँले कोदारी नै रोज्नुभयो । कारण त्यहाँ जाँदा भत्ता सबैभन्दा धेरै आउँथ्यो, उहाँ भन्नुहुन्छ । 

काठमाडौँ उपत्यकाबाट कहिले बाहिर नगएको मान्छे उहाँलाई कोदारी पुग्न नै सात दिन लाग्यो । बाटो थिएन । उहाँको तलब त्यसबेला एक सय पचास थियो । अनि भत्ता पनि त्यति नै । यसो गर्दा उहाँले महिनाको तीन सय बुझ्नुहुन्थ्यो । 

यो नै उहाँको जीवनको पहिलो कमाई थियो । स्कुल जाँदा बुबाले दुई पैसा खाजा खर्च दिएर पठाउने केटोलाई तीन सय त कहाँ हो कहाँ । यसको खुसी अपरम्पार छ, उहाँ भन्नुहुन्छ । उहाँ जागिर खाएर तीन महिना पछि घर फर्कनुभयो । त्यस बेला उहाँले तलब भत्ता मिलाएर बुबालाई एक हजार रुपैयाँ दिनुभयो । त्यो एक हजारले बुबालाई यति असीमित खुसी दियो कि बयान गरी साध्य छैन उहाँ भन्नुहुन्छ । 

फेरी पढाई

उहाँलाई दुई वर्ष जागिर गरेपछि पैसाले मात्र केही हुँदैन अब पढ्नुपर्छ भन्ने लाग्यो । अनि त्यहाँको जागिर छोडेर घर फर्कनुभयो ।  त्यसपछि पुलचोक श्रीमहलमा कृषि मन्त्रालय अन्तर्गत रहेको कृषि इन्जिनियरिङ शाखामा काम गर्न थाल्नुभयो । जुन पढ्नु पर्छ भन्ने चेतले उहाँ फर्कनु भएको थियो त्यसका कारण उहाँले आइए पनि 'जवाइन' गर्नुभयो । 

हुन त उहाँले प्राप्त गरेको डिप्लोमा जसलाई ओभरसियर भनिन्थ्यो त्यसले बि.कम पढ्न पाइन्थ्यो । तर, उहाँलाई कमर्स मन नपर्ने कारणले आइए 'ज्वाइन' गर्नु भएको हो । आइए पनि सेकेन्ड डिभिजनमा पास गर्नुभयो । उहाँले बिए पनि सेकेन्ड डिभिजनमा नै पास गर्नुभएको हो । 

एमए पनि गर्न त मन थियो तर, कीर्तिपुरसम्म पढ्न जान पनि टाढा अनि घर पनि हेर्नुपर्ने भएका कारण त्यसभन्दा अगाडि भने जान सकेन उहाँको पढाई । कृषिको अफिस त्यस बेला पचहत्तर जिल्लामै थियो । अनि नेपालगन्ज, भैरहवा, विराटनगरमा अफिस तथा क्वार्टर बनाउने काममा धेरै वर्ष उपत्यका बाहिर बित्यो उहाँको । 

विवाह

उहाँको विवाह २०२२ सालमा भएको हो । उहाँ पिमबहालको श्रीमती भने मिखाबहालको । एउटा टोल वारी पारी । देख भेट भएको हो । बोलचाल भने थिएन । बुबाको साथीको छोरी । अनि बौद्धधर्मकुलबाट नै हो उहाँ पनि । 

श्रीमतीको पढाई चार कक्षासम्म मात्र । उहाँको भने आइए अनि डिप्लोमा । त्यसैले पढाई कम भयो भनेर उहाँले प्रौढ कक्षामा पनि पढाउनु भयो । तर, बुहारी मान्छे विविध व्यवहारिक समस्याका कारणले राति पढ्न जान मिलेन अनि श्रीमती आफैँले म पढ्दिन भनेर छोड्नुभयो । तर, उहाँले पढाई छोड्दा पढाउन नपाएकोमा उहाँलाई भने एकदमै दुःख लागि रहेको छ । 

उहाँका दुई छोरी दुई छोरा । एउटा छोरी भने नेपालमा आफ्नै व्यवसायमा हुनुहुन्छ । अर्को छोरी अमेरिकामा । एउटा छोरा अस्ट्रेलियामा । अर्को छोरा भने आइटीमा मास्टर्स । उहाँ आफ्नै काममा व्यस्त हुनुहुन्छ । 

बुबाको कामको निरन्तरता 

उहाँ २०५० सालमा जागिरबाट अवकाश हुनु भएको हो । उहाँले इन्जिनियरका रुपमा लोकसेवा पनि पास गर्नुभयो । अनि विश्व बैङ्क र एसियाली विकास बैङ्कमा पनि काम गर्नुभयो । 

उहाँले चाहेको भए आफैँ कन्सल्टेन्सी खोलेर वा कतै अन्त कन्सल्टेन्सी गर्न सक्नुहुन्थ्यो । तर, उहाँलाई के लाग्यो भने बुबाले त्यत्रो त्याग गरेर केही नखाई केही नलिई गरेको बुद्ध धर्मको सेवा तथा प्रचार प्रसार मैले पनि गर्नुपर्छ ।  त्यसपछि उहाँले तीन वर्ष घरमै बसेर बुद्ध धर्म सम्बन्धी अध्ययन गर्न थाल्नुभयो । त्यसपछि बुबाको शिष्यहरू उहाँकोमा आउन थाले । 

बुबाले नेवारीमा मच्छिन्द्रनाथ नेपालमा कसले ल्यायो भनेर एउटा किताब लेख्नुभएको थियो २०१४ सालमा । जुन छ, सात पटक 'रिप्रिन्ट' नै भइसक्यो । मच्छिन्द्रनाथका बारेमा यहाँ सुनिएका कथा त्यसैका हुन भन्नुहुन्छ उहाँ । 

अनि उहाँलाई बुबाले मच्छिन्द्रनाथ भनेको सबै नेपालीको हो त्यसैले नेवारीको त्यो किताबलाई अनुवाद गर्न भन्नुभएको रहेछ उहाँलाई । जागिरका कारण नभ्याइरहेको उक्त कामलाई उहाँले शुरुवात गर्नुभयो । 

तर, अनुवादका रुपमा नभई उहाँले त्यसलाई औपन्यासिक ढाँचामा ढालेर निकाल्नु भो । उक्त किताब पनि चर्चित भयो । अनि उहाँलाई लाग्यो ममा यो लेखनको क्षमता पनि रहेछ । त्यसपछि जागिरकाे सिलसिलामा नभ्याई रहेको उहाँको लेखन यात्रा पनि सुरु भयो । 

भगवान् बुद्ध अनात्मवाद । उहाँ आत्मालाई मान्नुहुन्न । अनि बुबा बुद्धको अनुयायी तथा प्रचारक । उहाँले पनि आत्मा छैन भन्नुहुन्थ्यो । तर, बुबा बितेपछि बुबाको आत्माको चिर शान्तिको कामना धेरैले गरे । यो कुरो उहाँलाई अलि चित्त बुझेन । उहाँलाई लाग्यो बुबाले पढाएको नमिलेको त होइन कतै ? उहाँको मनमा प्रश्न उब्जियो । 

त्यसपछि उहाँले अध्ययन गरेर बुद्धवादमा कर्म र पुर्नजन्म भन्ने किताब नै तयार गर्नुभयो । आफू बुद्ध धर्मको खासै ठुलो अध्येता नभएका कारण पुस्तक ठिक छ कि छैन भनेर उहाँले त्रिपिटकाचार्य कुमार काश्यप तथा बज्रयानका ठुला गुरु डिपि बज्र बज्राचार्यलाई देखाउन लग्नुभयो । उहाँहरूले यति गहन विषयमा यति सरल तरिकाले कसरी लेख्यौ भनेर आश्चर्य पनि प्रकट गर्नुभयो । र, भूमिका लेखिदिएर छिट्टै निकाल्न समेत भन्नुभयो । उक्त पुस्तक पनि तीन पटक पुनः प्रकाशन भयो । त्यसपछि उहाँले आफ्नो लेखन यात्रालाई जारी राख्नुभयो । 

नेपाल बौद्ध परिषद्

उहाँको बुबाले २०१३ सालमा बुद्ध धर्म प्रचार समिति भन्ने संस्था गठन गर्नुभएको थियो पाटनको महापालमा । अनि भारतका विद्वान पण्डित राहुल सांकृत्यायन नेपाल आएका बेला उक्त अफिसमा उहाँलाई भेट्न आउनु भएको रहेछ । त्यसबेला उहाँ पनि उक्त अफिसमा हुनुहुँदो रहेछ । 

उहाँले बुबाको उक्त संस्थालाई निरन्तरता दिन खोज्नु भएको थियो । तर, विविध कारणले त्यो सम्भव भएन । अनि २०५४ उहाँले सालमा नेपाल बौद्ध परिषद् भन्ने संस्था खडा गर्नुभयो ।   बौद्ध धर्ममा रहेका थेरवाद, महायान र बज्रयान सबै आफूलाई ठुला ठान्छन् । यसो हुँदा एक आपसमा मेल हुँदैन भनेर उहाँले यी सबैलाई मिलाएर बुद्धयान भन्ने अवधारणा अघि बढाउनु भयो । सबै बुद्ध धर्मका अनुयायी एक हौँ भन्ने हिसाबले । धेरैले यसको प्रशंसा पनि गरे । 

पछि उहाँले २०५९ सालमा एउटा घर भाडामा लिएर निःशुल्क रुपमा थेरवाददेखि बज्रयानसम्मको आधारभूत निःशुल्क शिक्षा पनि सुरु गर्नुभयो । कक्षामा पचास साठी जना विद्यार्थी हुन्थे । ठुलो स्वरले कराउँदा उहाँको घाँटी बिरामी भयो । अप्रेसनसम्म गर्नुपर्‍यो । 

सुगत् बौद्ध महाविद्यालय

२०६२ सालमा लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना भयो । तर, कलेज भने एउटै थिएनन् । अनि उहाँले कलेज विनाको यो कस्तो विश्वविद्यालय भनेर प्रश्न गर्नुभयो ।  मलाई स्वीकृति दिने हो भने म कलेज चलाउँछु भन्नुभयो । र, २०६६ सालमा उहाँले सुगत् बौद्ध महाविद्यालयको नाममा निवेदन समेत दिनुभयो । तर, पाठ्यक्रम नभएको नाममा स्वीकृत भने दिइएको थिएन । 

पछि २०६८ सालमा उहाँको कलेजलाई तीन महिना भित्र कक्षा सुरु गर्नुपर्ने सर्तमा स्वीकृति दिइयो । यो खबर उहाँलाई ललितपुरका पूर्व मेयर बेखारत्न शाक्यले गर्नुभयो । त्यो बेला उहाँ अस्ट्रेलिया घुम्न जानु भएको थियो । त्यहाँ बुद्ध जयन्तीका दिन उहाँलाई विशेष अतिथिका रुपमा सम्मान पनि गरियो । तर, यो पूर्वनिर्धारित कार्यक्रम भने थिएन । 

अब उहाँलाई समस्या पर्‍यो तीन महिनामा कलेज चलाउनु कसरी सम्भव होला ? विद्यार्थी बटुल्नु पर्‍यो अरु काम पनि गर्नु पर्‍यो । तर पनि उहाँ हिम्मत नहारीकन हवाई टिकट नपाइने उक्त समयमा नेपाल बन्दको दिनको टिकट लिएर नेपाल फर्कनु भयो । कलेज चलाउनका लागि । दुःखको कुरा गरी साध्य छैन उहाँ भन्नुहुन्छ । 

अनि उहाँले बौद्ध परिषद्का सदस्यहरूलाई विद्यार्थी नभए बल्ल बल्ल स्वीकृति पाएको कलेज खारेज हुन्छ भन्ने बुझाएर घर घर गएर अनुरोध गरेर विद्यार्थी ल्याउनुभयो । विद्यार्थी त सोह्र जना पुगे अब शिक्षक कहाँबाट ल्याउने । फेरी त्यही बेला उहाँलाई आन्द्राको क्यान्सर भएको थियो । अनि जति ठुलो स्वरले कराएर पढायो त्यति नै आन्द्रा बाहिर निस्कन्थ्यो । अब एउटा कलेज चलाउनका लागि यो भन्दा सङ्घर्ष के होला र ? उहाँ प्रश्न गर्नुहुन्छ । 

अर्को कुरा बौद्ध धर्ममा एमए नगरेकाले पढाउन नपाउने नियम पनि आयो । अनि उहाँले आफ्नो कुनै नाम तथा पैसा नराखीकन पढाउनुभयो । अहिले भने शिक्षकहरू पर्याप्त भएकाले उहाँले पढाउनु परेको छैन ।

उहाँले कलेज चलाउन पैसा चाहियो भनेर दाताहरूलाई भनेपछि उहाँले आधारभूत कक्षा चलाउँदा प्रभावित भएकाहरूबाट चार लाख रुपैयाँ उठ्यो । उहाँले उक्त रकम अक्षयकोषका रुपमा राख्नुभएको छ । र, उहाँले सम्मानका रुपमा प्राप्त गरेको अन्य रकम पनि उहाँले उक्त अक्षय कोषमा नै राख्नु भएको छ । जुन अहिले बढेर सात लाख रुपैयाँ भएको छ ।

त्यसबेला उहाँले गरेको यावत दुःखको प्रतिफल उहाँ संस्थापक अध्यक्ष भएको सुगत् बौद्ध महाविद्यालय अहिले पनि राम्रो सँग चलिरहेको छ । जसलाई सुरुमा सञ्चालन गर्न उहाँले घरको कम्प्युटरदेखि सोफासम्म दिनुभएको थियो ।

यसमा उहाँको श्रीमतीको पनि अमूल्य योगदान रहेको छ । जसले आफूले पढ्न नपाए पनि अरूको अवस्था आफ्नो जस्तो नहोस् भनेर श्रीमानलाई आफ्नो पैसा समेत दिएर सहयोग गर्नुभएको छ । तर, दुःखको कुरा क्यान्सर रोगका कारण केही समय अगाडि उहाँको देहावसान भयो । 

सङ्घसंस्थामा संलग्नता 

महीश्वरराज बज्राचार्य  विभिन्न संघसंस्थाको संस्थापक अध्यक्ष हुनु भएको छ । ती हुन ः-

क) नेपाल बौद्ध परिषद्

ख) सुगत बौद्ध महाविद्यालय

ग) वसन्ती स्मृति प्रतिष्ठान

प्रकाशन, सम्पादन तथा सम्मान

उहाँका बुद्ध धर्म सम्बन्धी करिब एक दर्जन कृति प्रकाशित छन् । जसमध्ये बुद्ध धर्ममा मद्य मांसको प्रयोग–एक समीक्षात्मक अध्ययन (नेपाली भाषा), २०६६ भने एमएको पाठ्यक्रममा पनि समावेश गरिएको  कृति हो । 

त्यस्तै बुद्ध धर्मका झन्डै आधा दर्जन बढी स्मारिका, आलेख तथा स्तोत्रको पनि उहाँले सम्पादन गर्नुभएको छ ।  साथै उहाँले नागरिक तथा सामाजिक स्तरमा थुप्रै अभिनन्दन र सम्मान समेत प्राप्त गर्नुभएको छ । 

अन्त्यमा 

एउटा सामान्य मानिसले आफ्नो मेहनत, लगन र निस्स्वार्थ भावले काम गर्न चाहेका खण्डमा आफ्नो क्षेत्रमा उसले अविस्मरणीय योगदान गर्न सक्छ भन्ने कुराको उदाहरण लिन सकिन्छ महीश्वर बज्राचार्यको जीवनीबाट ।