चिसो हावाले

चिसो हावाले

दाजु गुरुङ  |  साहित्य  |  माघ १०, २०७७

त्यति वास्ता गरिनँ मर्निङ वाकको हतारमा । खुलदुली मच्चिइरहन्छ पुस्तक कोसेली पठाउने को होला भन्ने । कुनै साथी वा परिचित अनुहार- कति सम्झँदा पनि अटाउन सकिरहेको छैन, सम्झना भनौँ या यादको सूचीमा । यो परिचय न त घरदेश र परदेशमा छ, न त फेसबुक फ्रेन्ड लिस्टमा । हुटहुटी चलाइरहन्छ खुलदुलीले । दौडिँदै भिक्टोरीया हार्वर–भ्यू पुगेर मोबाइल कोट्याउन थाल्छु थकाइ मार्ने बहानामा ।

 २३ः५५ बजे, १७ नोभेम्बर

'संयोग नै पर्‍यो सोल्टीको हातमा केही पुस्तक पठाएकी छु, घर आएको मौका छोपेर । स्वीकार गर्नु हुनेछ अवश्य नै ।' 

  सृजना अभिलाषी
 २ गुरुङ जी, एउटा मेरो कवितासंग्रह परेको छ— चिसो हावाले ।

एकै सर्कोमा पढेर भ्याइदिन्छु हिजो राति आएको म्यासेज । सम्झनाभित्र अझै छिर्न सकिनन् सृजना । ‘सोल्टीको हातमा पठाएकी छु ... चिसो हावाले .....’ म्यासेजले रन्थनाइदिन्छ भुलक्कड दिमागलाई । राम्ररी चिन्ने हुनुपर्छ वा यतै बसोबास गर्ने । को होला उनको सोल्टी ? ...हैरान हुन्छु केही समयसम्म । फेरि थपिएको छ लेखिका अर्थात् नयाँ कवि परिचय । नो रिजल्ट मात्र देखाइरहन्छ फ्रेन्ड लिस्टमा । पुस्तकको फोटो राखिएको छ प्रोफायल आइडीमा । असफल प्रयास निक्कै गरिरहँ उनको प्रोफायल खोल्न । खुलेन । फोटो तन्काएर तल सानो अक्षरमा नाम खोजेँ सृजना अभिलाषी । किनारमा सानो फोटो देख्दा आशा पलाउँछ अलिकति । पुस्तकमा प्रिन्ट नगरिएको । फोटो लिनेबेलामा राखिएको हुनुपर्छ, अड्कल मेरो । प्रस्ट नभएकाले फोटो ग्यालरीमा तानेँ इडिट गर्न । तन्काउँछु सके जति । पहिले कतै देखे देखेजस्तो । कालो सनग्लास र खुला छोडिएको कपालले धेरै भाग छोपिएको छ अनुहारको पाटो । निक्कै माथापच्चीस गरेँ । नामले अलमल गराए पनि बाजी मार्‍यो दाहिनेपट्टिको ओठ माथिको कालो कोठीले ।
अञ्जना माधवी अर्थात्  सृजना अभिलाषी ।

एउटा बिर्सन लागेको सपनाजस्तो । देखिएको भन‌ौँ वा नदेखिएको । न त सुखद न त दुःखद । कुनै बिरानो कथाजसरी । बिस्तारै खोतलिन्छ सम्झनाको चाङ । सधैँ सम्झनामा पिङ खेलिरहने विस्मिृतिका पलहरू । भर्खर फेसबुकको साम्राज्य विस्तार भइरहेको उस बेलाको अवस्था । अहिले जसरी सबैले खोजिने रोजिने विषय बनिसकेको थिएन फेसबुक । रहर र कौतुहलताले कम्प्युटरमा झुन्डिरहनु समयको कुरो । भेटेजतिलाई फ्रेन्ड रिक्वेस्ट पठाउने अनि एक्सेप्ट गर्ने । त्यहीबेला जोडिन आइपुगिन् अञ्जना माधवी अर्थात्  सृजना अभिलाषी ।

झन्डै दशकको नजिक पुगिसकेछन् ती दिनहरू । सपना बनिरहेछ यो नाम र जोडिएका झिना मसिना सम्झनाहरू । फेसबुकको बजार बिस्तारै तातिँदै गइरहेको हुन्छ- युगले इन्टरनेटसँग फड्को मारिरहँदा । त्यो तातो नशा बिस्तारै झाङ्गिँदै जान्छ म भित्रभित्र पनि । नशा रहरको लिगमा बेतोड दौडिरहन्छ; छिटै धेरै साथी बनाउने लहडमा । कति भेटिए कति मेटिए यो लहडमा । क्रम न हो, चलिरहेछ अहिले पनि । रहर र लहडको मात्रा; मात्र घटीबढी । छिट्टै जोडिइन् अनि छिट्टै छोडिइन् साथीको यात्रामा अञ्जना माधवी । हराइन् बिर्सिने गरी ।

अनिवार्य दैनिकी बनेर चल्छ फेसबुकको नशा । हातहातमा नेट र वाइफार्ई थिएन जो सबै काम मोबाइलले गरिरहेछ अहिले । निक्कै महँगो थियो फोन, इन्टरनेट । अलिक असहज थियो परिस्थिति पनि । दैनिक बाह्र घण्टे काम । काम नगरी धर छैन । काम काम काम । काम नै जीवन अनि जिउनु भनेको नै काम गर्नु । यही मान्यता राखिएको छ र सिकिएको छ अहिलेसम्म । सोच्न सकिँदैन अलग हुने कुरो । कामबाट बचेको अलिकति समय फेसबुकमा खर्च गर्ने; अरू हुँदै गरुन् । नशाले यतै डोर्‍याउँथ्यो बचेको समयमा । घर पुग्यो कि कम्पयुटरमा झुन्डिनुपर्ने । समयमा नुहाउनु र खाना खान ढिलो गरिँदा बारम्बार समस्तिकाको गाली खान पछि नपर्ने । तर आफूलाई दिनहुँ नयाँनयाँ स्टाटस लेख्नुपर्ने फेसबुकमा । कमेन्ट गर्नुपर्ने अचम्मको नशा वा रहर । कनी कनी, सकी नसकी कविता गीत मुक्तकहरू लेख्नैपर्ने । नसके चोरचार सापटी लिन पछि नपर्ने । अनि छिनछिनमा कम्प्युटर खोलेर लाइक र कमेन्टहरू कति आए भनेर खोलामा बकुल्लाले माछो ढुके जसरी हेर्नुपर्ने । नशा भनौँ कि दशा ? यो क्रममा पछ्याइरह्यो यो नामले । निक्कै पछ्याएपछि प्रोफायल खोतल्न मन लाग्यो; खोतलेँ । काठमाडौँबाट । शिक्षा र पेशामा स्टाफ नर्स, टिचिङ हस्पिटल त्रि.वि.वि. । रिलेसन ओपन अनि सिङ्गल । सेतो एप्रोनमा सजिएका धेरै रङ्गीन फोटाहरू भित्ताभरि ।

कताकता मनलाई तानिरहन्छ सेतो एप्रोनमा सजिएको रङ्गीन तस्बिरले । मनको कुनै एउटा कुनाबाट आदर पलाएझैँ हुन्छ बिस्तारै । यस्ता प्रतिभाहरू देशको निरन्तर सेवामा तल्लीन छन्, आफू पलायन भएर हराइरहेछु बेनाम सहरमा । फोटो सेयर गर्छु, सम्मान स्वरूप । भावनात्मक आग्रहले खोजिने साथी बन्छिन् यसरी । बिस्तारै लाइभमा आउने कुरो चल्छ च्याटिङमा । अनुरोध गरिरहिन् तर स्वीकार गरिनँ मैले; किनकिन । बहाना खोजिरहेँ नजोडिन । मोह जागेन र जगाइनँ पनि । केवल लाइक सेयर र कमेन्टहरूमा मात्र सीमित गर्न चाहेँ फ्रेन्डसिपलाई ।

तापक्रम निरन्तर बढिरह्यो घटाउने अप्सन बिर्सिएझैँ । नशा भनौँ वा दिनचर्या केही घण्टा कम्प्युटरमा झुन्डिनुपर्ने । यो क्रममा निक्कै माथिमाथि वेग मारियो च्याटिङमा, उर्लिएको सम्बन्ध सपना जसरी घण्टौँ घण्टा । नजोडिएको दिन लामो कथा व्यथाहरू लेखेर म्यासेज बक्समा पोस्ट गरिने । अनि जनसेवाको पेशामा आबद्ध हुनेलाई बारम्बार म्यासेज गरेर डिस्टर्भ गरेकोमा क्षमा लेख्न नचुक्ने । एकपल्ट गीत लेखेर पोस्ट गर्दा निक्कै मन पराइन्- यो प्रसङ्गलाई । मोडलिङको इच्छा पोखिन् अचम्म । पेशासँग मेल खाँदैन भन्ने मेरो कमेन्टमा निक्कै बेर च्याटिङ हडतालमा उत्रिन् गाँठे । ठट्टाको रूपमा लिएँ सोचिनँ अरू । पटक पटक लाइभ आउने रिक्वेस्ट नचलेपछि कुरो पुग्यो मोबाइल नम्बरमा । मागिन् । दिएँ खुरुक्कै ।

गजबको हलचल मच्चाइदिन्छ फेसबुक–वालमा राखिएका नयाँ फोटाहरूले । कतै समुद्री किनारमा डुल्दै गरेको, कतै बोट यात्रा र सी–बिचमा स्विमिङ गरिरहेको । अनि कतै साथीहरूसँग बिबिक्यूमा रमाउँदै होलिडे मनाएको । अचम्म बनाउँछ ती नयाँ फोटाहरूले । पहिले देखेको थिइनँ उनको फेसबुक–वालमा । अलमलिन्छु कतै पोखरा राराताल वा त्रिशूलीतिर डुल्न गएको दृश्य हुन् कि भनेर । नाम निसान थिएन् हिमाल पाहाडहरुको । वरु थिए सामुद्रिक किनार र वरपर देखिने ससाना आईल्याण्डहरु । र समय साँक्षी वनेर पर पर क्षितिजसम्म फैलिरहे झै लाग्थ्यो समुन्द्रका लहरहरु । मनमा चलेको हुटहुटी मेट्न सोधिरहँदा ‘मिडल इस्ट लेखिन्’ जवाफमा । किन कसरी कहाँ भन्ने सवालमा यतै काम गरिरहेको बताउँछिन् केही वर्षदेखि । अनि अर्को जिज्ञासामा लेखेकी थिइन् ‘टिचिङ हस्पिटलमा छु भन्ने भ्रम रहेछ तपाईंंलाई ।’ निःशब्द भएँ, निकै समय प्रतिउत्तर पढेर ।

सुनसान छ घर । स्कुलबाट फर्केका छैनन् सैतानहरू । सपिङ गर्न हिँडेी होलिन समस्तिका । फुर्सत भयो कि सपिङ । कति सकेको होला ? झन् असहज लाग्छ परिवेश छिट्टै घर आएको बेला । एक्लै कसरी बस्नु रित्तो घरको भित्तो हेरेर ? कामबाट भागेको बिरामी । कम्प्यूटर अन गर्छु डराई डराई । थुप्रै म्यासेजहरू झुन्डिरहेछन् वाल पेपरमा । वास्ता गर्दिनँ । मन छैन नयाँ लेख्न पढ्न । फोटो ग्यालरीमा सेभ गरिएका फोटाहरू दनादन सेयर गरेँ; के गर्ने के नगर्ने द्विविधामा । गरिरहेँ ।

‘मिडल इस्टमा काम गरिरहेछु गुरुङजी । केही वर्षहरू बितिसके र बितिरहेछन् यसरी नै । कति बित्ने हुन् थाहा छैन । अनिश्चिततामा बितिरहेछ साला जिन्दगी ।’ लामो जवाफ लेख्छिन् निक्कै डराएको बेला । राम्रा नराम्रा कुराहरू प्रशस्तै सुनेको छु, खाडी मुलुक नपुगे पनि । धेरै चाहिँदा नचाहिँदा कुराहरू निरन्तर सम्प्रेषण गरिरहने मैदान भएको छ सामाजिक सञ्जाल । बढी नकारात्मक सोच र खोजमा चासो लिने बानी छँदैछ हामीमा । यो रापले छोएको छ मलाई पनि । केही सम्बन्ध छैन उनीसित । डराइरहेँ किन किन । लामो म्यासेज लेखेर पोस्ट गरेँ खुलदुली मेट्न । ‘डराउन पर्दैन, गुरुङजी ! यो इजरायल हो इजरायल । तपाईंंको हङकङभन्दा सुरक्षित छ र छु पनि । ..फेरि तपाईंं र मेरो नाता नै के छ र ! चासो लिनुभएछ धन्यवाद !’ यस्तै यस्तै लामो कुराकानी हुन्छ फोनमा । निकै रमाइलो र मीठो लाग्छ उनको कमान्डिङ भ्वाइस । अनि स्पष्ट लाग्छ सोच र संवादहरू । एउटा वर्षौ चिरपरिचित आवाज धेरैपछि सुनिएको जस्तो । कता कता चसक्क छोइदिन्छ मिठो मनलाई ।

नबुझेको प्रतिक्रिया लेख्छिन् कविताको प्रसङ्ग जोड्दा । तर गीत गजल र मुक्तकहरू मन पर्छ रे ! मोडलिङ गर्ने रहर । एउटा उनलाई सुहाउने गीत लेखिदिन ढिपी गरिरहन्छिन् बारम्बार । यहाँको परिवेश बनाउँछु विदेशी भूमि भएर के भो र ? एकसे एक छन् यहाँ प्रतिभा सम्पन्न नेपालीहरू ।  तपाईंं र तपाईंंहरू जस्तै स्वेच्छिक पलायन मनहरू । म पनि पर्छु होला त्योभित्र । भएको जे जस्तो जागिर छोडेर बिरानो मुलुकको ढोका चहारिरहेछु भिसाको बिल्ला भिरेर । संसार जितिएला जस्तो लागेको थियो पहिलोपल्ट बोइङ चड्दा । माथि उडिरहेको होइन कुनै दिशाहीन दिशातिर भौँतारिहेछु वर्तमानमा उभिँदा । तल तल खस्दै खस्दै गइरहेछु नजानिँदो तवरले । थाहा छ गुरुङजी, यस्ता कुराहरू मनमा खेल्दा डेथ–सीको किनारतिर डुल्न जान्छु बुद्घ खोज्न । एक तमासले चल्ने चिसो हावाले बिर्साइदिन्छ सबै सबै उद्वेलित मनका कथाहरू । हरेकपल्टको कुराकानीमा नयाँ रोचकता थप्ने गर्थिन् अञ्जना माधवी ।

धेरैपल्ट उठाइरहिन् चिसो हावाको प्रसङ्ग । कुनै आख्यान पढिरहेजस्तो लाग्छ उनका स्टाटसहरू । गजब छ शब्द संयोजन र शिल्पता । कवितात्मक शैली र तारिफ योग्य पङ्क्तिहरू । तारिफ गरिदिन्थेँ साँचो मनले । उनी रिसाउँथिन् । अनि तर्क गर्थिन्- गर्मी याममा असाद्घे गर्मी अनि जाडो पनि साह्रै जाडो । जे गर्दा पनि नहुने मान्छेलाई । यही नहुने कुराले छटपटिँदा समुद्रमा चल्ने चिसो हावाले सेकिदिन्छु मन । कहिले साथीसँग कहिले एक्लै गइरहन्छु त्यतातिर । निरन्तर चलिरहने छालका तरङ्ग हेरेपछि स्थिर भएको ठान्छु मनको सागर । भर्खरै पनि गएकी छु र त अहिलेसम्म धानिरहेछ ती पलहरूले । खुला छोडिदिन्छु हावाको झोक्कामा माथि माथि उडाउने गरी यो मन र शरीरलाई । खोइ कसरी बताऊँ ! कपालका केस्राहरूले हावाको सहारामा अनुहारमा हल्का हल्का थप्पड लगाइरहँदाको अनुभूति ? अलौकिक ! स्वर्णिम ! झन् साँझ–बिहान घाम बादलसँग लुकामारी खेल्दै तेर्साे परेर हेरिदेओस् पर क्षितिजदेखि । आहा ! केवल हावाको लय मात्र बजिरहन्छ दुवै कानभरि । बिर्सिदिन्छु अत्यासलाग्दो वर्तमानलाई थोरै सही । भोगिरहेको जीवनमा बेग्लै ऊर्जा थपिदिन्छ चिसो हावाले । ‘अन्तै गएँछु भने सधैँ सधैँ मिस गरिरहने छु’, लेख्ने गर्र्छिन् फेसबुकको वालमा ।

घुम्न आउन निम्ता बाँडिन् एक दिन फोन गरेर । हुन्छ भन्न सकिनँ, त्यति टाडाको ठाउँमा । यसो झोला बोकेर कुद्ने कुरो भएन । फुसर्द पनि हुँदैन भनेको बेला । उतै फर्काइदिन्छु उनको आग्रहलाई । प्रशस्तै भेटिन्छन् दलालहरू यहाँ भिसा सम्बन्धी काम गर्ने । सहज रूपमा स्वीकार्दै भोलिदेखि नै भिसाको काम सुरु गर्ने सन्देश छाडिन् तत्कालै घुम्न आउने योजनामा । ख्याल ख्यालमा साँच्चै पो हुन्छ कि कसो ! सोच्न बाध्य हुन्छु, थोरै झस्किँदै । ठट्टाले ठूलो मूल्य चकाउनुपर्ने हुन्छ कहिलेकाहीँ । एउटा कुरो । यसो फेसबुक र फोनमा दुई–चार चोटि गफ हान्दैमा हाम फालेर आउँछु भन्नु कति सान्दर्भिक ? विग टक हुनसक्छ ? कति प्रयास गरेर कन्ट्र्याक्टमा काम गर्न पाएको अवसर घुम्ने चक्करमा चट भयो भने ? नहोला भन्न सकिन्न विदेशको ठाउँमा । फेरि आइहालिन् भने कहाँ राख्ने होला ? अर्को फसाद । यो गौँथलीको गुँडजस्तो हङकङको बसाइ । सँगै राखौँ परिवारलाई के भन्ने ? कस्तो परिचय दिने ? कुरा खेल्ने बनाइन् मोरीले । थामिँदैन कुरो यतिमा । नयाँ म्यासेज पो लेख्छिन्- ‘सधैँका लागि आउने सोच बनाएकी छु गुरुङजी । चाँडो बोलाउने अनुरोध ।.... लौ न बूढाबूढी स्याहार गर्दा गर्दा दिमाग ट्वाइलेट भइसक्यो हरे ... ।’

घुम्न आउने हो कि सधैँका लागि आउने ? धरोधर्म दिमाग घुम्न थाल्छ फ्युजनमा । सञ्जालको जालमा कति बोलिए, लेखिए, सुनिए, केही रमाइलाका लागि, केही समय कटनीमा । आवश्यक छन् छैनन् समय नै जानोस् । कति रहरमा, कति लहडमा हेक्का छैन सबैको । सुन्नेले, बुझ्नेले सुने बुझे कसरी भन्ने बिर्सिदिएको छु मैले त । किन फरक फरक अर्थ लगाउँछन् मान्छे ? कसरी विश्वास अडिन्छ नदेखिएको नचिनिएको मान्छे र ठाउँमा ? जो बारम्बार अनुरोध आग्रहमा पनि भेटिँदैन अनलाइनमा । छरपस्ट भइसकेका छन् अस्वीकृति । फेरि म विवाहित मान्छे-  दुई बच्चाको अभिभावक । देख्ने दुनियाँँको आँखामा एक इमानदार लोग्ने । खासै पालेको छुइनँ यस्ता सोचहरू । अल्लारे होइन म । कसरी यस्तो सोच आयो होला उनमा । घरीघरी दिमाग घुम्छ फनफनी पछिल्ला कुराहरूले ।

मिडल–इस्ट राम्रो रोजगारीको स्थल बनिरहेछ अचेल । धेरै नेपाली बैँसहरूले रगत पसिना बगाइरहेछन् केही दशक यता । धेरै जानकारी छैन तर केही सुनेको छु, पढेको छु मिडिया र सामाजिक सञ्जालहरूमा । पछिल्लो समयमा राम्रो वा सुरक्षित रोजगारी र गन्तव्यको सूचीमा थपिएको मुलुक हो इजरायल । राजनीतिक, सामाजिक एवम् धार्मिक परिपाटीको आधारमा सजिलो र उदार बन्नसक्छ अन्य मुस्लिम देशहरूको तुलनामा । सजिलो छ भन्ने गर्छिन् अञ्जना । झन् मन यसै यसै तानिने गर्छ उनको चिसो हावाले स्टाटस पढिरहँदा । जाऊँ जाऊँ लाग्छ कुनैबेला घुम्नलाई । तातो रापले सेकिरहेको बेला चिसो हावामा नुहाउन । कति मनमोहक होला त्यो क्षण । तातो रापलाई चिसो हावाले विस्थापित गर्दा । भावुक बनिदिन्छु कल्पित उडानमा । ती सबै सबै समयले जन्माएका कथाहरू । अनि पात्रहरू कति थरीथरीका, चित्र विचित्रका ।

धेरै पात्रहरू खेल्दा रहेछन् समयका कथाहरूमा । यसरी पात्रहरूलाई जन्माइरहन्छ समय । यसैको वरिपरि घुमिरहेछ जिन्दगी । कुनै बिन्दु चाहिँदो रहेछ घुम्नलाई अनि धेरै पात्र र भूमिका पनि । एउटै अन्दाज पर्याप्त बनिदिन्छ कहिलेकाहीँ । त्योबेला उसै जन्मिदिन्छ कहिले नदेखिएको नभेटिएको अन्दाजको एक मन पर्ने नौलो आकृति । दिनहुँ सयौँ अनुहारहरू ठोकिन्छन् आ–आफ्नै बाटाहरूमा । हेक्का हुँदैन । तर समय एउटा पात्र वरिपरि घुमिरहेछ केवल दूरभाषामा । कहिलेकाहीँ बोलिन्छ र पढिन्छ- घरीघरी विद्युतीय लिपीमा । छाया बनेर सताइरहन्छ निरन्तर । थाहा छैन किन सताइरहेछ  र किन डराइरहेछु म । फेरि भित्रभित्र फतक्कै गल्दै गइरहेछु नजानिँदो तवरले; कुनै अप्रत्यासित भयानक अतिक्रमणको भयले । हिजोको जाँगर हराएको छ ममा । यदाकदा हतारमा खोल्ने अनि बन्द गरेर भागिरहन्छु कम्प्युटरसँग । छिट्टै फन्को मारेर सटडाउन गरी बन्द भैरहेको स्क्रिनलाई हेरिरहन्छु घण्टौँसम्म बेअर्थमा निभेको कालो स्क्रिनलाई ।

कताकता सामर्थ्य हराउँछ उनीसित च्याटिङको सामना गर्न अनि फेसबुक–वालमा फन्को मार्न । तर नपढी, नहेरी सक्दिनँ उनको स्टाटसहरु । अचम्म लाग्छ- किन तानिरहेछ समयले त्यतातिर । एकदिन हिम्मत गरेर पढिदिन्छु उनकोे वालमा पुगेर पुस्तक चर्चाको टिप्पणी । घटना बिर्सिसकेको थिएँ पुरानो भएकाले । एकपल्ट च्याटिङमा पुस्तक पठाइदिने वाचाअनुसार  हुलाकमार्फत् पोस्ट गरिदिएको थिएँ दुईवटा पुस्तकहरू । महिनौँ दिन बेखबर रह्यो मेरो कोसेली । झुटो बोलेजस्तो भयोे समयमा नपुगिदिँदा । हराएको ठानेर पोस्ट अफिस र ठेगाना दिनेलाई बेस्सरी गाली गरेको छु मनमनै । बल्ल हात लागेछन् दुई पुस्तक- टाँकी रातो फुल्छ र सुरु हुन अगावै टुङ्गिएको यात्रा । दुवै पुस्तकका फोटा सहित निक्कै लामो स्टाटस पिङ खेलिरहेको रहेछ पुरानै शैलीमा । मायागरी पठाइदिने दूरदेशको मित्रप्रति हार्दिक आभार अनि एक भूगोल धन्यवाद सारंश पढ्छु विद्युतीय लिपिमा ।

थाहा भएन कसले कति सत्य र झूटो बोले ती स्वच्छन्द पलहरूमा । भए नभएको सपना बाँडे होलान् एक अर्कालाई प्रभावित गर्नेक्रम खोज्दै । ब्लफ हान्ने धेरै भेटिन्छन् सञ्जालभित्र कति छद्म नामले । झुटो बोल्दिनँ चिप्लिएको छु, कहिलेकाहीँ म पनि । बेलाबेलामा साथीहरू भन्ने गर्छन्-  अभर पार्नसक्छ तिम्रो झुक्किने बानीले । विशेषतः पिएको बेला धेरै नै हुने गर्छन् यस्ता गल्तीहरू । कुन सुरमा के कुरा पोस्ट गरिए थाहा हुँदैन अनि नशा उत्रिएपछि केही पछुताउने । अचम्म लाग्छ, आफ्नै बानी सम्झँदा । कतै धेरै तानाबाना बुनिरहँदा बिर्सिरहेको छैन आफैँँले आफैँँलाई । ..तर कुनै प्रलय हुनेवाला छैन यतिमा । यो सत्य हो केही भौँतारिरहेको थिएँ शंका र चिन्तामा । धेरै शंका र चिन्ता गर्ने मान्छे काँतर हुन्छ भन्छन् काँतर भइरहेको छु म । डराउन थालेको छु आफ्नै मान्छेहरूसँग । औँला ठड्याइरहेझैँ लाग्छ समयले । कुनै दिन एक्कासि आक्रमण गरेर मलाई नाङ्गो अनि एक्लो बनाइछाड्नेछन् यो यात्रामा । यस्तै शंका र सोचले सताइरहन्छ हरेक क्षण । एकान्त खोज्न थालेको छु सुरक्षित बन्न ।

उठाउने हिम्मत हराइरहेछ दिनहुँ घरीघरी आइरहने लङ-डिस्ट्यान्स कललाई । अनायसै रित्तिएकाछन् हिजोका उत्साहित शब्दहरु । अनि घुम्न आउने निम्ता दिएर भाग्न खोजिरहेछु आफैँसँग । हङकङको बसाइ । अत्याधुनिक र एक्काइसौँ शताब्दीको सहर । तर पुरानो शताब्दीको थोत्रो घरमा बाँचिरहेछु नयाँ ब्रान्ड भिरेर । कता कता आफ्नै गुँडले तर्साइरहन्छ बेलाबेला । अनलाइन जोडिन डराउँछु अहिले पनि, यो अघिल्लो शताब्दीको रङ्गहीन भित्तो देखेर । थोत्रो घरका भित्ताहरू र दलिन लुकाइरहेछु कसैले नदेखून् भनेर । अनि जिन्दगी पनि थोत्रो भित्तो जस्तै भइरहेछ हरेक दिन कमाएर ल्याउँदै टालिरहनुपर्ने बाध्यताभित्र । थाहा छैन टाल्न नसकेको दिन कुन कुन ठाउँबाट चुहिने हो जिन्दगी ! जरुरी ठान्दिनँ, यो चुहिने वास र जिन्दगी विज्ञापन गर्नु । तर कति रहरलाग्दो छ, यो मेरो पुरानो घर र सम्बन्ध ! धेरै हिउँद वर्षाको घाम–पानीमा ओत दिएर बचाइरहेछ मलाई । ओतका लागि सधैँ टालिरहेछु र त यसरी चलिरहेछ टालेको जिन्दगी ।

 घस्रँदै काटिन्छन् दिनहरू, एउटा फरक अनिर्णय वा द्विविधामा । कठिन परीक्षणको यो समय । तर कसरी मान्ने कठिन अनि असहज ? सम्झिए केही छ, नसम्झिए केही छैन । तथापि हरेक दिनको दैनिकी र सोचाइमा घरीघरी चसक्क चसक्क घोच्न आइरहन्छ समयको छुरी । कुराले पिङ खेल्न छोड्दैन काँतर आशङ्काको डोरीमा । शंकामा मनको लङ्का जलिरहेछ भित्रभित्रै । अनि दिनहुँ सजाय खेपिरहेछु द्विविधामा बाँचेर । अनिर्णयमा चलिरहेछ समय घच्याक घच्याक । कुनै बेमोडलको थोत्रो मोटरगाडीझैँ ।

त्यो दिन छिट्टै घर हिँडिदिन्छु बिसञ्चोको बहानामा । खासै वास्ता गरेनन् कामका सुपरभाइजरले । ‘केही दिनदेखि असहजता देखिरहेछु दाजु दाइ तपाईंंमा । खासमा के भइरहेछ ? ........काम भनेसि रोग भोकले छेक्दैन नेपालीलाई । अनि सुतेको बेला सुतेको सुतेकै हुन्छन् कहिले नउठ्नेगरी । बेलाबेलामा डाक्टरी चेक गराए पो थाहा हुन्छ रोग लागे नलागेको  । टाँकी फूलका लोभी फर्सीहरू ।’ मेरै अनुकूल बोलेर घर जाने बाटो खनिदिँदा आरमले झोला टिपेर हिँड्छु  अलिकति गनगन खपेर ।

सुनसान छ घर । स्कुलबाट फर्केका छैनन् सैतानहरू । सपिङ गर्न हिँडेी होलिन समस्तिका । फुर्सत भयो कि सपिङ । कति सकेको होला ? झन् असहज लाग्छ परिवेश छिट्टै घर आएको बेला । एक्लै कसरी बस्नु रित्तो घरको भित्तो हेरेर ? कामबाट भागेको बिरामी । कम्प्यूटर अन गर्छु डराई डराई । थुप्रै म्यासेजहरू झुन्डिरहेछन् वाल पेपरमा । वास्ता गर्दिनँ । मन छैन नयाँ लेख्न पढ्न । फोटो ग्यालरीमा सेभ गरिएका फोटाहरू दनादन सेयर गरेँ; के गर्ने के नगर्ने द्विविधामा । गरिरहेँ ।

फेसबुकको वाल ढाकिन्छ मेरो पूर्ण परिवारका फोटाहरूले । समस्तिका र बच्चाहरूका समयसँगै बितिरहेका आकृतिहरू । परिवारका सामूहिक फोटाहरू सेयर गरेको थिइनँ यस अगाडि । खुसी लाग्छ मनमा । कता कता हल्का र सहजताको आभास । पहिले किन गरिनँ ? सोधिरहेँ, आफैँँलाई अनिश्चित पश्चात्तापमा । कति धेरै अबोध लाग्छन्, बच्चाहरूका आकृति हेरिरहँदा । निर्दाेष अनुहारहरू अनाहकमा वञ्चित र थोरै ओझलमा हिँडिरहेछन् मेरै कारण । झन् धेरै अपराध बोध जाग्छ हेरिरहँदा । अपूर्ण लाग्दैन कुनै पनि कोणबाट । सुन्दर अनि पर्फेक्ट छ प्रिय संसार । बरु धमिलो लाग्छ आफ्नै नजर । अनि सोच्न बाध्य हुन्छु- बिरामी छँदै छैन समयदेखि । यतै भेट्छु रमाउन खोजेको रोजेको संसार । फरक खोज्नु, सोच्नु जरुरी देख्दिनँ यी वालका पानाहरूमा । घुमाउन छोडिदिन्छु माउसलाई सटडाउनमा पुर्‍याएर ।

मलाई पो हतार लाग्छ भित्ते घडी खत्रक् खत्रक् गरेर बिस्तारै घस्रिरहँदा । अलिक छिटो छिटो दौडिदिए हुन्थ्यो जस्तो लाग्छ यस्तो बेला । समय नभइसकेको घोषणा गरिरहँदा पर्खने धैर्यता हराउँछ ममा । रित्तो घरमा एक्लै कति बसिरहनु असहजता र बेखबरभित्र । फेरि कसैलाई थाहा पनि छैन मेरो उपस्थिति । उपस्थिति खोज्दै दौडिन्छु सडकतिर । अझै बाँकी छ बच्चाहरूको स्कुल बस आउने समय ।

एउटा बेग्लै स्फूर्ति जागेको छ मनमा । बच्चाहरूलाई पार्कतिर घुमाउन लैजाने निधो गरेको छु हात समाएर । होमवर्कमा ध्यान दिने सोचमा छु अबदेखि । घरमा समस्तिकालाई सघाउने मनाशयले बारम्बार किचनमा ओहर दोहर गरिरहन्छु त्यो दिनको साँझदेखि ।

'यो बूढोलाई के भइरहेछ आज ? सधैँ वरको सिन्को पर नसार्ने मान्छे । किन छुनुमुनु गरिरहेछ  किचन भित्र बाहिर ? जानु नी कमप्युटरमा  झुण्डिन ।'

फिस्स हाँसेर टारिदिन्छु समस्तिकाको सवाल । टिभीमा कार्टुन हेर्न व्यस्त छन् चकचके सैतानहरू । त्यहीँ बसिदिन्छु सज्जन भएर । केही पछुतो भइरहेछ बेअर्थमा यस्ता सुन्दर पलहरू यसै यसै बितेर गएकोमा । जहाँ न त समस्या बढ्छ न त पालिन्छ नै । केवल खुसी छ । छ केवल माया अनि अपनत्व । अनि मीठो सन्तुष्टि फुलिरहेछ जिन्दगीको । परिवारलाई छलेर घण्टौँ आँखा पोल्ने र टाउको दुख्नेगरी हिजोसम्म के खोजिरहेको थिएँ कम्प्युटरमा ? सम्पूर्णता यहीँ रहेछ आफ्नो आँगनमा । साँच्चै टाउको दुखाइरहेँ यतिका समय बेअर्थमा ।

बिर्सिदिएको छु कम्प्युटर चलाउन केही दिनदेखि । बिस्तारै हिजो अस्तिको द्विविधा  बिरानो बन्दै गइरहेछ दैनिकीमा । लङ–डिस्टेन्स कलले गिज्याउँदैन घरीघरी । एकदिन फेरि दोहोर्‍याउन मन लाग्छ पुरानो नशालाई । तर अहिले कुनै आग्रह पूर्वाग्रह झाँङ्गिएको छैन, पुराना दिनहरूमाझैँ । बेफिक्री डुल्छु फेसबुकको वालतिर । लाइक र कमेन्टहरूको बाढी नै चलेछ फोटाहरू माथि । हेर्छु । पढ्छु खुसीमा । तर सधैँ लाइक कमेन्ट गरिरहने एउटा परिचित नाम भेटिन्न कहीँ कतै । अनि नयाँ स्टाटस पनि । अचम्म । थोरै कौतुहलता थोरै हतारमा दनादन घुमाइरहेँ माउसलाई । कही भेटिन्न खोजिएको नाम । अचानक हराइन् फ्रेन्ड–लिस्टबाट अञ्जना माधवी ।

कति छिटो यतिका हिउँदहरू नापिसकेछन् एउटा टिठलाग्दो पलले । कहिले कछुवाको तालमा कहिले खरायोको दौडमा । दौडिरहेछ दौडिरहेछ पछाडि नहेरी आफ्नै रफ्तारमा ।
थाकेको महसुस हुन्छ कताकता । केही समय विस्मृतिमा दौडिरहन्छु ती हिजोका दिनहरूमा फर्केर । थोरै मजा अनि बेमजाले चाकाचुली खेलिरहन्छ यो समयभित्र । अघिदेखि हातमा नाचिरहेको मोबाइल झन्डै खसेको, अचानक कसैले नजिकैबाट क्रमभङ्ग गरिदिँदा । झसङ्ङ हुन्छु ब्यूँझिए जसरी । '...सिङ साङ ! ...सिङ साङ !!' भनिरहँदा मोडिन कर लाग्छ त्यतातिर । कुनै अपरिचित लेङ–लोई  नजिकै उभिरएर 'हुम्कई ..' भन्दै मोबाइल तेस्र्याउँछिन फोटो खिचिदिन अनुरोध बोकेर । फिस्स हाँसिदिन्छु उनको मुस्कानसँगै । पारिपट्टि हङकङ सहर काउ–लुनलाई एकहोरो हेरिरहेछ बढो रमाइलो मानेर । यो साँघुरो समुद्रिक तटमा साना ठूला पानी जहाजहरू दौडिरहेछन् आफ्नै रफ्तारमा । तिनैलाई कैदी बनाइदिन्छु लेङ–लोईको रहरका विभिन्न पोजहरूमा । तर किन नसहेको होला भिक्टोरिया हावर फेरीको चिसो हावाले यो क्षणलाई ? बारम्बार जिस्किन आइरहेछ हामीकहाँ ।