अमेरिकामा राजदूतावासको खोजी : 'ए बहिनी ! तपाईँ नेपाली हो !?'
फर्कलान् र ती दिनहरु
माघ १०, २०७७

त्यो पौराणिक कालीन समय । यो आजको आधुनिक कालीन समय । हामीले गौरव गर्ने हाम्रो अतीत अनि आजको हाम्रो नाजुक अवस्था ।  तर दिनहरु बितिरहेका छन्, समय घर्किँदैँ छ । जीवन र जगतका वारेमा दिन प्रतिदिन नयाँ नयाँ सिद्धान्तहरु प्रतिपादन हुँदैछन् तर पूर्वीय दर्शनले दिएको सिद्धान्तलाई कसैले पनि न त होइन भन्न सकेका छन् न हो नै भन्ने ठोस केही प्रमाणहरु फेला परेका छन् । तर खण्डन गर्ने आधारभूमि भने खासै कोहीसँग देखिँदैन । आफूलाई आधुनिकतावादी भन्नेहरु झन संकीर्णतामा बाँधिएका छन् र सबैमा एउटा त्यस्तो नियामक दर्शनको खोजीमा छन् जसले जीवन र जगतलाई संयोजन गर्न सकोस् । 

महाभारतअन्तर्गत भीष्म पर्वको श्रीकृष्ण र अर्जुनको वार्तालापलाई जसलाई आज विश्वले श्रीकृष्णको प्रशंसाको रुपमा बुझेका छन् , कृष्णले गाएको जीवनको गीतको रुपमा लिएका छन् र कतिले त्यही दर्शन नै जीवन र जगतलाई जोड्ने कडीको रुपमा व्याख्या गरेका पनि छन् । आज पनि विश्वका दार्शनिकहरुले अभूतपूर्व ग्रन्थका रुपमा त्यही श्रीमद्भगवत् गीतालाई मात्र पनि लिने गरेका छन् । अझ मानव जीवन र सम्पूर्ण प्राणी जगतका वारेमा, यो लोक अनि परलोकका वारेमा धेरै सिद्धान्त प्रतिपादन गर्ने अर्का कृष्ण अर्थात् वेद व्यास हुन् जसको सम्पूर्ण अध्ययनको अतिसारतत्वका रुपमा श्रीमद्भागवतलाई लिइन्छ र त्यसको गणना अत्युच्च पावन श्रवण र पठनको रुपमा मानिन्छ । सम्पूर्ण भागवत नै द्वापरका दुई कृष्णका वारेमा घुमेको छ र महाभारतमा भने तीनओटा कृष्णका वारेमा स्पष्ट व्याख्यासहित राखिएको छ । तीनओटा कृष्ण अर्थात् वसुदेव पुत्र वासुदेवलाई कृष्ण नै भनिन्थ्यो र आज पनि श्रीकृष्णका नामले नै चिनिन्छ । अर्जुनको नाम पनि दशओटा छन् जसमध्ये कृष्ण पनि एक हो । स्वयं वेदव्यास आफैँ कृष्ण नामले पुकारिन्छन् । अर्थात् श्रीकृष्णद्वैपायन अर्थात् कुनै द्वीपमा जन्मिएका कृष्ण जसले पछि वेदको मूलतत्वहरुको सामयिक सुधार र अर्थ लगाए, तिनै वेद व्यास कहलाए । 

कुरा श्रीमद्भागवत ग्रन्थको हो । वेद व्यासले भगवानको लागि भक्तिका लागि, अभ्यर्थना र अर्चनास्वरुप तयार गरिएको भगवत् लीलाको वयान हो जसले जीवनमा कति दुःख र सुखको परिमाण र परिणाम सम्भव छ , त्यसको लेखाजोखा गराउँछ । जीवनको एउटा अदृश्य संगतिपूर्ण लक्ष्यभन्दा पनि तत्काल आएका आफ्ना समस्याहरुको समाधानका लागि आफ्नो लक्ष्य तयार गरेर गरिने एकाग्र ध्यान अर्थात् लक्ष्य भेदनको उपायहरुको व्यापकता र लघुताको चिरफार गरिएको महाकाव्य नै पुराणहरुमध्ये सर्वश्रेष्ठ मानिएको हो । जस्तो कि एउटा ठुलो वा सानो माला उनेपछि राखिने सुमेरुको स्वरुपमा भागवतलाई लिइएको पाइन्छ । कतिपय विद्वानले अठार पुराणपश्चात् उन्नाइसौँ पुराणको रुपमा महापुराणको रुपमा श्रीमद्भागवत महापुराणलाई लिइन्छ । मेरो घरमा पुराण लगाउँदा अठार पुराण भनिसकेपछि अन्त्यमा सुमेरुको रुपमा श्रीमद्भागवत महापुराणको वाचन र अर्थ लगाउने काम भएको थियो र अचम्भ भएको थियो - २०२५ सालको फागुनमा हाम्रो घरको १८ पुराणको साङ्गेमा मेरा भाइहरु हिमालय र पूर्णचन्द्रको ब्रतबन्ध गर्दा १९ जना नै वटुकले त्यसबेलामा उपनयनको प्रक्रिया पूरा गरी गायत्री मन्त्र प्राप्त गरेका थिए । त्यो संयोग सम्झँदा लाग्छ कुनै न कुनै तत्वले यो संसारलाई कतैबाट चलाई रहेको छ कि ? या फगत् संयोगमात्र हो कि ?

भागवतकोे अवधि किन सात दिनको बनाइयो या सप्ताह किन भनियो भन्दा पक्कै नै राजा परीक्षितलाई ऋषिपुत्रको श्राप परेपछि मात्र सात दिन बाँकी थियो जीवन, ऋषिको श्रापलाई विधिको नियम मानेर तक्षक नागले डस्नै पथ्र्यो । हुन त नाग जाति हुन् जो तत्कालै रुप परिवर्तन गरेर मानव चोलामा समेत देखिन सक्थे । पक्कै नै नागराज तक्षकले डस्नै पर्ने र चक्रवर्ती महाराज परीक्षितको त्यसैको कारणले इहलीला समाप्त हुने विधिको विधान रहेकोले पनि उनलाई सम्झाउन, बुझाउन र परमार्थपट्टि ध्यान एकाग्र गराउन अनि यो जीवन गए पनि केही फरक पर्दैन भन्ने ज्ञान दिनका लागि मात्र सात दिन बाँकी थियो, त्यसैले त्यसबेलामा तयार  गरिएको भागवतको सातदिने श्रवण प्रक्रिया आजसम्म पनि रह्यो । 

भागवतको द्वादश स्कन्धमा शुकदेव स्वामीमार्फत् राजा परीक्षितलाई भनिएको छ- मैले हे राजा, सात दिन लगाएर तिमीलाई श्रीहरिको महिमा भनेँ, अब त तिमीले पक्कै बुझ्यौ हौला, ब्रह्मा र रुद्र दुवै स्वरुप श्रीहरिकै अनुग्रह र क्रोधावतार हुन्, अब तिम्रो मृत्युको समय निकट आएको छ, बुद्धि भ्रमित नपार । आत्मा नित्य छ, आत्माको न जन्म हुन्छ, न मृत्यु हुन्छ । पृथ्वी, जल,आकाश, तेज, वायुको एउटा संयुक्त स्वरुप पञ्चतत्वबाट बनेको शरीरमा आत्माको प्रवेश हुन्छ, त्यसैलाई जन्म भनिएको हो भने त्यो आत्माको वहिर्गमनलाई मृत्यु भनिएको हो । जसरी घडा फुटे पनि घडाभित्रको शून्य आकाशमा एकाकार हुन्छ , भकुन्डो फुटे पनि त्यसभित्रको हावा जसरी वायु मण्डलमा मिसिन्छ , ठिक त्यस्तै हो , आत्मा नाश हुँदैन , स्वरुप बदलेर अर्को शरीरमा प्रवेश गर्छ । त्यसैले तिमी अब हे परीक्षित आफूमा केन्द्रित होऊ, तिमीले आफूमा नै श्रीहरिको अंश फेला पार्ने छौ र अब तक्षकबाट तिमीलाई कुनै भय यसकारणले हुने छैन कि तिमीले यो भवसागरलाई बुझिसकेका छौ । एकदिन त मर्नैपर्छ कारण जे पनि हुनसक्छ । त्यसपछि परीक्षितले आफूलाई एकदम सहजीकृत पाए र जीवन र मृत्युको बिचको अन्तरलाई एउटै माने अनि ध्यानमग्न भए । त्यहीबेलामा तक्षक आएर उनको इहलीला समाप्त पारेको हो । 

अर्थात् त्यस्तो  जीवन दर्शनको दर्शन पाइन्छ भागवतमा कि आफ्नै अघिल्तिर मृत्यु आउँदैछ र पनि निर्भयताका साथ त्यसलाई संयमतापूर्वक ग्रहण गर्न पनि साधुले सक्दारहेछन् । यो जीवन दर्शनले के कुरालाई स्पष्ट पार्छ भने पूर्वीय  दर्शनले मानिसलाई मानिस भएर बाँच्नका लागि झकझक्याउँछ । त्यो दर्शनको सूत्रपात वैदिक युगदेखि नै सुरु भयो र महाभारतकालमा त्यसको खास प्रयोग भयो । दर्शनले जीवनका अँध्यारा र उज्याला दुवै पाटाहरुलाई देखाउँछ । जीवनको खास उद्देश्य भनेको भगवत् भक्तिका साथै कुनै परिणामको अपेक्षा विना नै कर्ममा लिप्त हुने र त्यो कर्मले दिने परिणाम यो जुनीमा नपाए पनि अर्को जुनीसम्मको यात्रालाई देखाउँछ । अनि असल कामले अमर हुने परिणामको लोभ देखाउँछ र सदैव मरिमेटेर जीवन सार्थक बनाउनका लागि सद्व्यवहार अनि सत्कर्मको बाटो देखाउँछ । 

मलाई के शंका लाग्यो भने नानीको भिसा वैध छैन कि ? या पासपोर्ट पो म्याद सिद्धिएको छ कि ? अनि राजदूतावास जान मन नगरेको हो कि ? साँच्चै हामी उभिएको ठाउँबाट बाटो काट्ने बित्तिकै जस्तो दूतावास रहेछ । करिब ३०० मिटरमा नै । के को हुन्थ्यो आधा किलोमिटर र ? अनि उनी फर्कन लागेपछि मैले सोधेँ- नानी हिँड भित्र जाउँ र सबैसँग भेटेर फर्कन्छौँ नि हामी पनि । अनि हाम्रो पनि दुई घण्टामा फर्कने टिकट छ, नत्र अर्को टिकट किन्नुपर्छ । उनी अकमकाई अकमकाई भित्र पसिन् ।


तर हामीले के कुरा बिर्सनु हुँदैन भने त्यो बेला र आजको समयमा करिब ५हजार वर्षको फरक परिसकेको छ र त्यो  समयले आजको जस्तो जटिलतम समस्याहरुको समाधान गर्नु परेको थिएन । त्यसले पनि झन हामी एकाग्रचित्त र लगनशील भएर समस्याको समाधानमा लाग्नु जरुरी छ । 

तर कुरो फेरि आधुनिक कालको आउने रहेछ । आजको समृद्ध संसार र सुखी समाजका लागि अपरिहार्यता भनेको सम्बन्धित समाजको पूर्ण सहभागितामा उनीहरुको शासन जसलाई हामी आधुनिक समाजको भाषामा लोकतन्त्र या प्रजातन्त्र भन्दछौँ । प्रजातन्त्र भनेपछि सहभागितामूलक आफैँ हुनुपर्छ र समावेशी स्वतः हुन्छ । सन् २०२१ को जनवरीको २० तारिखको ठुलो प्रतीक्षा थियो विश्व जनमतलाई , विश्व समुदायलाई र खासगरी प्रजातन्त्रलाई आफ्नो शासन प्रणालीको रुपमा मान्नेहरुका लागि किनभने विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र , ५० ओटा संघीय राज्यहरुको एउटै सतीसालको खम्बाको रुपमा उभिएको संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको शपथ ग्रहण समारोह थियो । सधैँ झैँ शपथ ग्रहण समारोह मनाउन लागेको भए सायद त्यति वास्ता पनि हुँदैनथ्यो जस्तो कि प्रत्येक ४ वर्षमा हुने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि शपथ ग्रहण समारोह हुनेगर्थ्यो । २० जनवरी २०२१ मा विजेता राष्ट्रपति जोसेफ आर बाइडेन जसलाई सजिलो तरिकाले जो बाइडेन भनिन्छ, उपराष्ट्रपति कमला गोपालन ह्यारिसको शपथ ग्रहण समारोह आउने पहिलेदेखि सत्तारुढ राष्ट्रपति डोनाल्डले न त हार स्वीकार गरे, न त विजेतालाई वधाइ नै  दिए । वधाइ त अहिले सत्ताबाट संविधानतः बाहिरिँदासमेत दिन सकेका छैनन् जवकि आफ्नो ह्वाइट हाउसको आन्तरिक विदाइमा समेत आगामी प्रशासनमात्र भनेरमात्र सम्बोधन गरेका रहेछन् । 

४-४ वर्षमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुँदैगर्दा यसपटक सत्तासीन राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका उपराष्ट्रपति माइक पेन्सले ५३८ निर्वाचक मण्डलको मतमध्ये २३२मात्र पाए जवकि निर्वाचन जित्न कम्तीमा २७० निर्वाचक मण्डलको मत आवश्यक थियो अर्थात् ५०प्रतिशतभन्दा बढी । जनसंख्या अनुसार प्रत्येक राज्यमा निर्वाचक मत फरक फरक हुने गर्दोरहेछ । डोनाल्डले आफू जित्ने आँकलन मात्र गरेनन्, हारेपछि पनि आफू निर्वाचनमा धाँधली  गरेर हराइएको घोषणा गर्दैरहे, जनतालाई उत्तेजित पार्दैरहे । त्यतिमात्र होइन, निर्वाचन आयोगले प्रमाणित गरेर पठाएका निर्वाचक मण्डलको मत प्रमाणित गर्ने ६ जनवरी २०२१ को तल्लो सदन र माथिल्लो सदनको संयुक्त सदनको बैठकमा अराजक हतियारधारी भिड आएर सँसदको बैठक कक्ष, सभामुख न्यान्सी पेलोसीको कार्यालय र अन्य कोठाहरुमा तोडफोड गरेको थियो र त्यहीँको  भिडन्तमा परी तत्कालै ४जना र पछि एकजना प्रहरीको समेत निधन भयो ।

मानौँ ५ जनाको ज्यान यसकारणले गयो कि जुन सामान्यतया हार स्वीकार गरेर सहजताका साथ निर्वाचक मण्डलको गणना गर्ने वातावरण बनेको भए ती निरपराध व्यक्तिहरु मर्ने थिएनन् पनि र ती अराजक भिडको रुपमा प्रजातन्त्रको  मन्दिर संसद भवन क्यापिटल हिलमा मानिसहरु मार्न भनेर प्रवेश गर्ने नै थिएनन् । अनुमान गर्न सकिन्छ, ती हतियारधारीले यदि जो र कमला अनि पेलोसी अनि अरु डेमोक्राट निर्वाचक मण्डलका मानिसहरुलाई भेटेका भए हत्या गर्ने थिए किनभने तिनले सँसदको अध्यक्षता गरिरहेका  माइक पेन्सको कुर्सीमा उभिएर घोषणा गरेका थिए- हामी डोनाल्ड ट्रम्प राष्ट्रपति भएको घोषणा गर्छौँ ।

डोनाल्डका कटु आलोचक सभामुख न्यान्सी पेलोसीको कार्यालय तोडफोड गरेका थिए र उनलाई मार्नका लागि खोजेका थिए । अनि निर्वाचक मण्डलका मानिसहरु भागाभाग भएको थियो ज्यान जोगाउनका लागि । स्मरणीय छ , संयुक्त राज्य अमेरिकामा प्रान्तहरुबाट प्रमाणित गरेर पठाएको मतहरुलाई सँसदको रोहबरमा जे जस्तो त प्रमाणित गरेर निर्वाचनको आधिकारिक परिणाम घोषणा गरिन्छ र त्यस संयुक्त सदनको अध्यक्षता उपराष्ट्रपतिले गर्ने चलन छ । माथिल्लो सदन सिनेटको अध्यक्षता उपराष्ट्रपतिले गर्ने गरिन्छ । 
हाम्रा लागि डोनाल्ड या जो , जो भए पनि मित्र राष्ट्रका नेता हुन् । कसलाई कसले कति मत दिन्छ, त्यो अमेरिकीहरुको आन्तरिक राजनीति र मामिला हो । तर प्रजातन्त्रमाथिको कालो बादललाई हामी सचेत प्रजातन्त्रवादीले मन पराउँदैनौँ । चाहे त्यो  हङकङमा प्रजातन्त्रवादीमाथि गरिने हमला होस् या अमेरिकामा या भारतमा या नेपालमा । जहाँ भए पनि प्रजातान्त्रिक परिपाटीमाथि हुने हमलालाई, आक्रमणलाई सँसदका विरुद्धमा गरिने वचन या भौतिक आक्रमण, त्यो खप्नु हुँदैन । प्रजातन्त्रको  विश्वव्यापी घोषणामा हस्ताक्षर गर्ने  देशको नागरिकको नाताले पनि हामीले योपटकको अमेरिकाको निर्वाचनमा यदि धाँधली भएको छ भने अदालत छ, संसद छ जसले जनताका समस्या हेर्न भनेर प्रजातान्त्रिक संस्थाको माथिल्लो निकायका रुपमा विद्यमान छन् । झन अमेरिकामा अदालत धेरै बलियो छ , राष्ट्रपतिका आदेशहरुलाई समेत निरस्त पार्ने क्षमता छ न्यायाधीशको आदेशमा

यसपटक संसारले जो बाइडेनको जीतको मात्र चाहना राखेनन्, सखल्ल सत्तारोहण कहिले होला भनेर सास रोकेर बसे अनि २० जनवरी २०२१का दिन जब जो बाइडेन र कमला ह्यारिसले शपथ ग्रहण गरे, एउटा शान्त वातावरण देखियो र डोनाल्डको शासनको अन्त्य भएको महसुुस गरियो । 

एउटा कालो छाप भने छोडेर गएको देखिन्छ जातीय विभाजनको गोरा र काला । धनी र गरिबको बिचको खाडल । ह्वाइट सुप्रिमेसी । यसै पनि अमेरिका आतङ्कवादको निसानामा थियो अब जातीय विभाजनको आँधीभित्र कतै नहराओस् जसले गर्दा त्यहाँको प्रजातन्त्रले बिस्तारै निरंकुशताको स्वरुप नलियोस् । हाम्रो चाहना हो , विश्वको मानव अधिकार , प्रजातन्त्र र समानताका पक्षमा सबैभन्दा धनी  देशको रुपमा अमेरिकाले नेतृत्व  लिई रहोस् । त्यत्रो ठुलो र स्थायित्व प्राप्त प्रजातन्त्रमा समेत कस्तो अस्थिरता देखियो  यसपटक । आशागरौँ, अबका दिन सहज हुनेछन् र सँसद जस्तो जनताको अधिकारको रक्षा गर्ने मन्दिर वा  चर्च जे भनौँ , त्यसमाथि कसैले पनि हमला नगरोस् । नयाँ राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसप्रति सफल कार्यकालको शुभकामना । यसपटक जो बाइडेनले अमेरिकामा अहिलेसम्मकै ज्येष्ठ नागरिकको रुपमा ह्वाइट हाउस प्रवेश गरेको  र कमला ह्यारिसले पहिलो उपराष्ट्रपति,पहिलो एसियन अमेरिकन महिला , कालो बर्णकी महिलाको रुपमा इतिहास बनेको देखिन्छ । एकजना अनुभवी राजनेता र अर्की क्रान्तिकारी महिलाको जोडाले संसारको शक्तिशाली देशलाई ठिकसँग चलाउन सकून् भन्ने शुभकामना पनि । 

अमेरिकाको राजधानी कोलम्बिया जिल्लाको वासिङ्टन अर्थात् वासिङ्टन डीसी । म पनि २००७को नोभेम्बरमा पुगेको थिएँ । एक हप्ता भर्जिनियाको रेस्टन सहरमा बसेर सधैँ जसो वासिङ्टन घुम्न जाने गथ्यौँ म र भानिज प्रदीप पौडेल । मेरी बहिनी मुना र ज्वाईँसाहेब प्रदीप न्यौपानेको भानिज हो उहाँ । म पहिले पनि काठमाडौँ या सिन्धुलीमा पनि चिन्थेँ । तर न्युयोर्कबाट म वासिङ्टन हुँदै भानिजको कोठा रेस्टन सिटीमा जानु थियो । मलाई त्यहाँको वारेमा खासै थाहा थिएन र त बहिनी जगदम्बाले भानिजलाई मलाई लिन चाइनिज बसपार्कमा जानका लागि भनेकी रहिछन् । मलाई बहिनी बन्दनाले अमेरिकामा बसुन्जेलसम्मका लागि एउटा मोबाइल दिएकी थिइन् । सम्पर्कका लागि त्यो साधन अत्यन्त सजिलो भयो । चाइनिजले चलाएको बस सस्तो हुुने रहेछ । ग्रे हाउन्ड बस भन्दा धेरै सस्तो । ग्रे हाउन्ड बसले ८० डलर लिनेमा चाइनिजले ४० डलर लिने । अझ जाने आउने त्यही बसमा हो भने ७०  डलरमा लाने लैजाने रहेछ । त्यही बसमा वासिङ्टनसम्म आएँ । 

एउटा कुरा के भयो भने मलाई सुधीरबाबुले बस पार्कसम्म ल्याएर उहाँ दूतावासतिर जानु भयो । मलाई सोनुले खाना ख्वाईवरी पठाएकी थिइन् । बसपार्कमा आएपछि मैले लघुशंकाका लागि बारम्बार सोधेँ,मलाई चिनियाँ साथीले अघिल्तिरको मल देखाए त्यहाँ  जाऊ भनेर । मैले के बुझेँ भनेँ यसको कार्यालयमा ट्वाइलेट रहेनछ । कुनै यात्री जामका कारणले  ढिला भएकाले बस केही मिनेट रोक्यो । अनि मलाई के लाग्यो भने कतै ग्यास स्टेसन(आयल स्टेसन)मा रोके हुने ? एकैचोटि पेन्सिलभेनियामा रोक्यो तर मानिसलाई बाहिर जान दिएन । अनि एकैचोटि बाल्टिमोरमा गएर बस रोक्यो र केही बेर रोक्ने संकेत दियो । अनि मैले सोधेँ- यहाँ रेस्टरुम कहाँ छ ? उसले मलाई त्यही बसमा नै रेस्टरुम रहेको बतायो । म बेकारमा न्युयोर्क देखि  पिसापले च्यापेर आएको रहेँछु । अहिले पनि हाँसो उठ्छ । आफू त पिसापले च्याप्यो भन्दाभन्दै बस अरु ५ किलोमिटर दौडाएपछि बस रोक्ने देशको मान्छे अनि जहाँ अड्यायो, त्यहीँ मुनि गएर लघु वा दीर्घ शंका समाधान गर्ने बानी परेकोले  रोकेरै बसेँ किनभने कुनै ग्यास स्टेसनमा रोक्ला अनि त्यहाँको रेस्टरुमा जाउँला । तर कुरो सोचेभन्दा फरक पाएँ ।

त्यसपछि भानिजलाई फोन गरेँ । उहाँले  बस कहाँ छ मामा भन्नुभयो, मैले बाल्टिमोरमा भनेँ । अनि भन्नुभयो- म पनि ठ्याक्कै ३बजे बस स्टेसनमा आउँछु । अचम्भ के चाहिँ भएछ भने भानिज कतिवर्ष बस्नु भएको रहेछ बाल्टिमोर तर वासिङ्टनमा पस्नु भएको रहेनछ । मलाई लिन भनेर भानिज प्रदीप बाबु र बुहारी गोमा आउनु भएको रहेछ । भूमिगत रेलमा चढेपछि बल्ल भानिजले हाँसेर भन्नुभयो-मामाको निहुँमा हामीले पनि पहिलोपटक वासिङ्टन टेक्यौँ । रमाइलो नै भयो । भानिजको त्यो बेलामा काम रहेनछ । हामी त्यो हप्ता वासिङ्टन घुम्यौँ । कहिले ह्वाइट हाउसको नजिकै गयौँ त कहिले कला संग्रहालय त कहिले बोटानिकल गार्डेन या त्यसै पनि घुम्यौँ त कहिले मोनुमेन्ट । चौडा सडक, ठुला फुटपाथ, प्रत्येक राज्यका नाममा एभिन्युको नामाकरण गरिएको । साँच्चै भन्नेहो भने न्युयोर्कभन्दा  धेरै नै सफा सुग्घर लाग्यो मलाई त । त्यही सडकको बाटो गरेर वासिङ्टनमा जनवरी ६ तारिखमा प्रजातन्त्रको सुरक्षा गर्ने सँसद भवनमा आक्रमण गरियो भन्दा मलाई अचम्भ र  दुःख दुवै लाग्यो । 

एकदिनचाहिँ मैले भानिजलाई भनेँ-हाम्रो राजदूतावासमा पनि जाउँ न भानिज । अनि भानिजले भन्नुभयो- म त अहिलेसम्म गएको छैन, कता पर्छ पर्छ । अनि एउटा धेरै सडकको जोड्ने ठाउँमा पुगेर कसलाई सोध्ने ? वासिङ्टनको नक्शा पनि छैन, बाटो पनि थाहा छैन । एउटा ट्याक्सी ड्राइभरलाई सोध्यौँ-हामीलाई नेपाली राजदूतावास लैजाऊ । उसले नक्शा माग्यो, जुन हामीसँग थिएन । उसले पनि वास्ता नगरी हिँड्यो । आखिर हिँडेर नै जानु पर्ने त भयो तर कता ? अनि मैले एउटा स्वैर कल्पना गरेँ - भानिज, एउटा नेपाली आओस्, हामीलाई कता जाने भनोस् र हामीले भन्नेछौँ हामी त राजदूतावास जाने, लौन कता हो पुर्‍याई दिनुहोस् । या त ट्याक्सीमा  या त हिँडेरै । त्यहाँ एउटा मूर्ति पनि थियो, यसो यात्रुले पर्खने ठाउँ पनि थियो, चौडा बाटोमा हामीलाई गिज्याउँदै गाडीहरु तरह तरहका दौडिरहेका थिए । टाढा अलिपर दुईजना केटा केटीहरु गफ गर्दै थिए सायद ती चाइनिज र हिस्पेनिक जस्ता थिए । मैले जिस्क्याएर भानिजलाई भनेँ-यत्रो वर्ष अमेरिकामा बस्नुभयो तर वासिङ्टन घुमाउनचाहिँ म आइपुगेँ । उहाँ हाँस्नुभयो ।  मैले कतै नक्शामा हाम्रो दूतावास ह्वाइट हाउसको पछिल्तिरको भागमा भएजस्तो लागेको थियो ।

कुरा गर्दै थियौँ अन्यमनस्कभावले । ती दुईजनामध्ये चाइनिज जस्तो बाटो काटेर गयो अनि ती साँवला रङ्गकी नानी यतै आइन्। मैले नेपाली टोपी लगाएको थिएँ । अनि ती केटी नेपाली जस्तो लाग्यो र मैले नेपालीमा सोधेँ  परैबाट - ए बहिनी! तपाई नेपाली हो ? ती नानी फरक्क फर्केर हेरिन्, त्यहाँ अरु कोही थिएन हामी बाहेक । अनि नजिकै आएर भनिन्- हो म नेपाली हुँ । अनि मैले सोधेँ-राजदूतावास देख्नु भएको छ ? उनले हाँसेर भनिन्- किन नदेख्नू, यहाँबाट त्यस्तै आधा किलोमिटर जत्ति छ, हिँड्दा त्यस्तै २०मिनेट लाग्छ । आज मलाई फुर्सद छैन, यताबाट जानुस् न ! अनि मैले भनेँ- हामीलाई दूतावासको ढोकामा पुर्‍याइदिनुस् अनि तपाईँ फर्कनु होला नि ! अनि घर कहाँ नि नानी नेपालमा ? अनि उनले भनिन्-अर्घाखाँची हो । नाम नि ? भगवती पाण्डे । ए ल ल ठिकै छ हुन्छ नि तर परबाट देखाउँछु , जानुस् है त, पाण्डे बहिनीले भनिन् । हामीलाई के पनि थाहा छैन भने त्यो नाम ठिक हो कि होइन, या घर ठिक ठाउँ भनेको हो कि होइन । आखिर त्यो राजधानी नै हो , सबैखालका मानिसहरु त आउँछन् ठग पनि लुच्चा पनि चोर पनि । जे होस् एकजना नेपाली भाषी नानी भेट्यौँ । 

मलाई के शंका लाग्यो भने नानीको भिसा वैध छैन कि ? या पासपोर्ट पो म्याद सिद्धिएको छ कि ? अनि राजदूतावास जान मन नगरेको हो कि ? साँच्चै हामी उभिएको ठाउँबाट बाटो काट्ने बित्तिकै जस्तो दूतावास रहेछ । करिब ३०० मिटरमा नै । के को हुन्थ्यो आधा किलोमिटर र ? अनि उनी फर्कन लागेपछि मैले सोधेँ- नानी हिँड भित्र जाउँ र सबैसँग भेटेर फर्कन्छौँ नि हामी पनि । अनि हाम्रो पनि दुई घण्टामा फर्कने टिकट छ, नत्र अर्को टिकट किन्नुपर्छ । उनी अकमकाई अकमकाई भित्र पसिन् ।

हाम्रा  साथीहरुमध्ये हरि थपलियाजी र गोपालजी आउनु भएको रहेछ । मेरा कुरा गर्दै हुनुहुँदो रहेछ । त्यो बेलामा राजदूतको ठाउँ खाली थियो सायद सुरेश चालिसेको नाम भइसकेको थियो तर आउनु भएको रहेनछ । कालीप्रसाद पोखरेलजी कार्यबाहक हुनुहुँदोरहेछ । सँगै बसेर खाजा खाइयो । भीमबहादुर तामाङ दाइको भाइ बीबी तामाङसँग पनि त्यहाँ नै चिनजान भयो र पछि हामीलाई छोड्न रेलको स्टेसनसम्म साथीहरु पनि आउनु भयो र बहिनीले हामीलाई टिकट काट्न सहयोग गरेर हामी छुट्टियौँ ।

म त्यो बेलामा रेस्टन सिटी, डलेस अन्तर्राष्ट्रिय विमानस्थल घुमेँ ।दश दिनपछि म ह्युस्टन गएँ नर्थ क्यारोलाइनाहुँदै । ह्युस्टनमा ज्वईँ साहेव कोविदबाबु, बहिनी जगदम्बा, भान्जी आर्या र भान्जा आश्विन हुनुहुन्थ्यो प्रबुद्ध बाबुको घरमा ,पिताजी र माताजी पनि त्यहीँ हुनुहुन्थ्यो टीका लगाउनका लागि । अनि त्यहाँबाट ड्यालेस गइयो जहाँ कोविद बाबुको तालिम थियो अनि त्यहाँबाट सियाटल गइयो । त्यही ड्यालेसमा प्रिय मित्र लेखक तथा पत्रकार नारायण भट्टराईसँग भेट भयो । बहिनी सीतासँग पनि भेट भयो । वास्तवमा सीतासँग भेट्न जाँदा नै माधव बाबु, नारायणजी अनि भानिज रोजेशसँग भेट भएको  थियो । हामी मेरियट होटलमा बसेका थियौँ । पछि सुरेशलाई भेट्न शान्तालाई भेट्न ह्वाइट सेटलमेन्ट काउन्टी पुग्यौँ । म बसेँ, जगदम्बाचाहिँ फर्की अनि मलाई सुरेशले ड्यालसको डाउन टाउन देखाएको थियो । अहिले पनि म सम्झन्छु ज्वाईँ बाबुराम भट्टराई कति मिलनसार र भद्र हुनुहुन्थ्यो । शान्ता त बहिनी नै भई । उसले धेरै माया र सम्मान गरेकी थिइन् । सीताको त कुरै भएन उसले दिने सम्मानको के वर्णन गरुँ । हामीले सँग रेडियो नेपालको घटना र  विचार कार्यक्रम पनि चलाएका थियौँ पुरुषोत्तम दाहाल भाइको नेतृत्वमा । आज अमेरिकाको कुरा यत्तिमात्र , पछि प्रसङ्गमा लेखौँला । 

अन्त्यमा मेरा आत्मीय जन भरतराज गजुरेलजीको महायात्राको प्रसङ्ग । उहाँलाई म भानिज भन्थेँ पहिले । उहाँको मावल मेरै गाउँ ग्वाल्टारमा हो । मेरो विवाह भएपछि २०३१ सालबाट मैले उहाँलाई साँढदाजु भन्नुपर्ने भयो । भानिज भनिरहेको मेरो बानी मलाई पछिसम्म पनि भानिज नै भन्ने बानी परेको थियो तर दाइ या भरतजी भन्ने गर्थेँ । मेरी जेठी सासु राधा गजुरेल आचार्य आफैमा एउटी सँस्कारित महिला अनि भरत दाइ एउटा साँच्चै नै भलाद्मी मानिस हुनुहुन्थ्यो । धेरै वर्षसम्म राष्ट्रिय वाणिज्य बैँकको कर्मचारीको रुपमा रहँदा धेरै जिल्लामा व्यवस्थापक वा मेनेजर भएर काम गर्नुभयो । अत्यन्त इमानी, रेखी , कसैको कुनै लोभ नभएको । उहाँका छोरी विनया, विनीता , छोराहरु विजय र विनोद ती पनि उहाँको शालीनता र परोपकारका भावलाई पछ्याइरहेका छन् । उहाँले दिनु भएको सँस्कारलाई शिरोधार्य गरिरहेका छन् ।

भरत दाइको निधनले दिदी राधामाथि पर्न गएको यो बज्रपातमा हामी (देवकी र म, मेरो ठुलो  छोरो सिद्धि ,बुहारी विजया र सानो छोरो पुलकित , छोरीहरु करुणा तथा ज्वाईँ प्रदीप पौेडेल, अरुणा र ज्वाईँ रवि काफ्ले, अर्चना र ज्वाई नवराज सापकोटा तथा नातिनीहरु विश्रुता अधिकारी, आरुषि अधिकारी, सुदेष्णा पौडेल, प्रसिद्धि काफ्ले र अदिति सापकोटा)सबैको शब्द श्रद्धाञ्जलि अर्पण गर्दछौँ र यो बज्रपात सहने शक्ति श्रीकृष्णले राधा दिदी, छोराहरु विजय, ,विनोद, छोरीहरु विनया , विनीतालाई र सम्पूर्ण परिवारलाई दिनुहोस् भनेर प्रार्थना गर्दछौँ । हामीले पनि एउटा असल अभिभावक गुमाएका छौँ । यो सिन्धुलीका लागि पनि एक अपूरणीय क्षति हो किनभने उहाँमा रहेको बैँकसम्बन्धी सिपले  नेपालका लागि धेरै सहयोग गरेको थियो । एउटा घटना घटेको रहेछ २०४०सालको असार मसान्तमा । गुल्मी जिल्लाको पूर्तिघाटमा रहेको बाणिज्य बैँकमा त्यसदिन दिउँसै विशेष प्रहरीबाट आएको भनेर सात जना चोरले बैँकमा भएको सुन, चाँदी र नोटहरु लिएर गएछन् ।

बैँकका अरु स्टाफ र भरतजीसमेतलाई बाँधेर पैसा लिएर गएपछि राधा दिदी तीनतलामाथिबाट हाम फालेर गुहार गुहार राज्यको सम्पत्ति लुटे भन्दै रुँदै कराउँदै बुर्तीबाङ्सम्म जानु भएछ । नजिकका गाउँलेहरुले डरले सहयोग गरेनन् रे ! अनि ती डाकाको पछि पछि रुँदै कराउँदै जाँदा अर्को गाउँका मानिसहरुले सहयोग गरेछन् , त्यतिबेलासम्ममा बैँकबाट पनि मानिसहरु बाँधेको फुकाएर दौडदै आएछन् । चारजनालाई पक्राउ गर्न सकेछन् । पछि दिदीलाई सरकारले गोरखा दक्षिण बाहुले सुशोभित गरेको रहेछ । दिदीलाई किन त तपाईँले त्यत्रो जोखिम मोल्नु भयो ज्यानको भन्दा उहाँको भनाई थियो-एउटा इमानदार मेनेजरलाई चोरीको अबगाल पर्ने भयो, अनि जीवन भर जेलमा कोचिनु पर्ने भयो । दोष आफ्नो थिएन अनि इज्जत र अवगालभन्दा ज्यान ठुलो होइन भनेर म चोरको  पछि पछि लागेँ । अहिले पनि तीन तलाबाट हामफालेकोले उहाँको गोडामा जखम छ र दुख्छ । यसरी एउटा इमान र  जमानको बैँकर भएर भरत दाइले आफ्नो कार्यकाल सम्पन्न गर्नु भएको थियो । एउटा असल अभिभावक, एउटा असल पिता, हजुर्बाको रुपमा उहाँको छवि रहिरहने छ । शालीनता र भद्रताका लागि अनुपम व्यक्तित्व हुनुहुन्थ्यो भरत दाइ । 

२००५साल मंसिर ९ गते यस धराधाममा आउनु भएका भरत दाइको परमधाम गमन २०७७साल माघ ५ गते विहान २बजे भएको रहेछ । उहाँको आत्माको चिर शान्तिको कामना सहित शब्द श्रद्धासुमन व्यक्त गर्दछु । क्रमशः
 


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।