आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  माघ १२, २०७७

काठमाडौँ । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्वतयारीस्वरूप नेपाल एस्ट्रोनोमिकल सोसाइटीले लोगो प्रतियोगिता आयोजना गरेको छ । आइतबारदेखि माघ १९ गतेसम्म लोगो आह्वान गरिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । 

प्रतियोगितामा उत्कृष्ट हुने लोगोले  पाँच हजार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उक्त लोगो ‘आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१’ को औपचारिक लोगो हुनेछ । ओलम्पियाडसम्बन्धी नेपाली समाजमा जनचेतना कार्यक्रमअन्तर्गत सन् २०१३ देखि प्रत्येक वर्ष लोगो प्रतियोगिता आयोजना गरिँदै आएको सोसाइटीले जनाएको छ ।
  
सोसाइटीले ओलम्पियाडमा विद्यालय तहका प्रतिस्पर्धी विद्यार्थी मात्र नभई अन्य तहका व्यक्तिको पनि सहभागिता होस् भन्ने उद्देश्यले हरेक वर्ष ओलम्पियाडको लोगो प्रतिस्पर्धा गराउँदै आएको छ । यसैअनुरुप आठौँ ओलम्पियाडका लागि आइतबारदेखि आवेदन खुला गरिएको छ । प्रतियोगितामा हालसम्म कपिल रोकाया, योञ्जन जेन्सुन, सन्दीप तिवारी, सम्राट राई, सफल श्रेष्ठ, रेमन बाला तथा सुनिल खड्गीले विजेताको उपाधि हासिल गरिसकेका छन् ।
  
लोगोमा खगोल विज्ञान, शिक्षा, नेपाल र ‘आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१’ समावेश गरिएको हुनुपर्ने नियम छ । आवेदन निःशुल्क छ तर एक व्यक्तिले बढीमा तीन लोगो पेश गर्न सक्ने जनाइएको छ । डिजाइनमा आफ्नै मूल विचार र सिर्जना हुनुपर्छ । लोगो ६०० र ६०० पिक्सेलको आकारमा हुनुपर्छ । लोगो बढीमा ५० शब्दमा वर्णन गरिएको हुनुपर्छ । बिना विवरणको डिजाइन मूल्याङ्कन नगरिने जनाइएको छ । इच्छुकले धधध।लभउबबिकतचयलयmष्अबकियअष्भतथ।यचनरयथिmउष्बम मा गई आफ्नो सिर्जना आवेदनमार्फत दिन सकिने जनाइएको छ । 

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि सोसाइटीको कार्यालयमा सम्पर्क गर्न सकिने अध्यक्ष भट्टराईले बताउनुभयो ।