भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्रीले शिलान्यास गर्ने

भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्रीले शिलान्यास गर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १२, २०७७

चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली माघ १७ गते चितवन आउनुहुने भएको छ । भरतपुरमा दुई वटा विकास आयोजननाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली यहाँ आउन लाग्नुभएको हो ।
 
नेकपा चितवनले आइतबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको कार्यक्रमबारे जानकारी दिएको छ । पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला पार्टी कार्यालय संयोजक पार्वती रावलले भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास प्रधानमन्त्रीबाट हुने जानकारी दिनुभयो । यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुल्चोक–गोन्द्राङ छ लेन सडक विस्तारको शुभारम्भ पनि प्रधानमन्त्रीले गर्नुहुनेछ । उहाँका अनुसार यी दुई कार्यक्रम सम्बन्धित मन्त्रालयको समन्वयमा हुन लागेका हुन् ।
 
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापतिसमेत रहनुभएका रावलका अनुसार उक्त कार्यक्रमपछि भरतपुरमा जनसभाको आयोजना गरिएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा मध्याह्न १२ः१५ बजे हुने जनसभालाई प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साहलगायतका नेतो सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
 
वर्तमान राजनीतिक परिस्थितिमा आम जनसमुदायलाई चासो रहेका विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्ने रावलको भनाइ थियो । उहाँले भन्नुभयो, “नेपाल  सरकार र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आगामी योजना के छ  लगायतका समसामयिक प्रश्नमा स्पष्ट धारणा जनसमक्ष ल्याउन कार्यक्रम आयोजना गरिएको हो ।” संसद् विघटन गर्नुपरेको बाध्यात्मक परिस्थितिबारे पनि सर्वसाधारणलाई प्रधानमन्त्रीले स्पष्ट पार्ने उहाँको भनाइ छ ।
 
भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडकसँगै चार बिघा चार कट्ठा जमिनमा सिटीहल निर्माणको काम शुरु भएको छ । सङ्घीय सरकारको बजेटबाट सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले बोलपत्र आह्वान गरी आयोजना अघि बढाएको हो ।
 
बोलपत्र रकम  एक अर्ब छ करोडको रहेकोमा ७७ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको हो । सिटीहलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सँगै ३०० क्षमताको कन्फरेन्स हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो । दुईवटा भर्याङ र दुइवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक छ हजार ५०० वर्गमिटरमा हुने उहाँको भनाइ छ । जुन क्षेत्रफल एक बिघाको हुनेछ ।
 
यस्तै नारायणगढको पुल्चोकदेखि गोन्द्राङ्गसम्मको छ लेन सडक दुई वर्ष चार महिनाभित्र बनिसक्ने गरी एक अर्ब १२ करोडमा ठेक्का लगाइएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको उक्त सडक खण्ड भरतपुरको मुख्य शहरी क्षेत्रमा पर्दछ । यी दुवै आयोजनाको काम शुरु भइसकेको छ ।