करीब २५ लाख लगानीमा अम्बा र ड्रागन फ्रुटको व्यावसायिक खेती

करीब २५ लाख लगानीमा अम्बा र ड्रागन फ्रुटको व्यावसायिक खेती

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ १३, २०७७

रुपन्देही । सरुमारानी गाउँपालिका वडा नं २ दर्भानमा व्यावसायिक रुपमा अम्बा र ड्रागन फ्रुटको खेती गरिएको छ । 

तीन व्यक्तिको साझेदारीमा हाम्रो बहुद्देश्यीय कृषि फार्ममार्फत विसं २०७६ असार र साउनदेखि अम्बा र ड्रागनको खेती गरिएको छ । दर्भानका स्थानीय केशरबहादुर गुरुङ, दाङका हीरामणि पौडेल र रुपन्देहीका खुमानन्द भुसालले साझेदारीमा व्यावसायिकरुपमा खेती गर्दै आउनुभएको छ । 

दर्भानमा ७०० र बराखुट्टीमा ६०० गरी एक हजार ३०० अम्बा र एक हजार २०० ड्रागनका बोट लगाएको सञ्चालक गुरुङले जानकारी दिनुभयो । भारतको तामिलनाडुबाट बोटको २०० मा खरीद गरी  ताइवान पिङ्क र ताइवान ह्वाइट गरी दुई जातको अम्बाको विरुवा  लगाइएको छ । 

'नेपालका विभिन्न क्षेत्रमा भारत तथा चाइनाबाट अम्बा खरीद गरिएको पाइन्छ', उहाँले भन्नुभयो, 'जिल्लासँंगै छिमेकी जिल्लामा खपत हुने विश्वासले  खेती गरेका हौँ ।' एक वर्षको अवधिमा दुई चरणमा अम्बा फलेको र बेचेको सञ्चालक गुरुङले बताउनुभयो । 'दुई चरणमा प्यूठान र दाङमा गरी १५ क्विन्टल अम्बा बेचिसक्यौँ', उहाँले भन्नुभयो, 'अब तेस्रो चरणको अम्बा फल्दैछ ।' प्रतिकेजी  १०० का दरले जिल्लासँगै बुटवलमा पनि अम्बा बिक्री गरिएको उहाँको भनाइ छ । अन्य खेतीको तुलनामा अम्बा खेती गर्न सजिलो छ । वर्षमा एकपटक मात्र मलजल गरे पनि अम्बा खेती राम्रो हुने उहाँले बताउनुभयो । 

त्यस्तै ड्रागन फ्रुटको पनि पहिलो उत्पादन बिक्री गरिएको छ । विसं ०७७ साउनदेखि कात्तिक महिनाको अवधिमा एक क्विन्टल ड्रागन फ्रुटको बिक्री भएको जनाइएको छ । भारतको गुजरातबाट बिरुवा खरीद गरी फ्रुटको खेती गरिएको हो । पहिलो वर्ष केही कम मात्रामा फल दिए पनि अबका वर्षमा यसले राम्रो फल दिने उहाँले बताउनुभयो । फार्ममा रातो र सेतो गरी दुईथरीको ड्रागन फ्रुट उत्पादन भएको छ । रातोलाई प्रतिकेजी  ८०० र सेतोलाई प्रतिकेजी  ७०० मा बिक्री गरेको उहाँले बताउनुभयो । 

उत्पादित फ्रुट जिल्लासँगै बुटवल, काठमाडौँमा माग आएअनुसार खपत भएको हो । नेपालमै यो खेती कम मात्रा गरिएकाले बिक्रीवितरण सहजरुपमा हुने विश्वास लिएको उहाँले बताउनुभयो । तीन जनाको करीब २५ लाख लगानीमा खेती गरिएको हो । वार्षिक  एक लाख  भाडा तिर्ने गरी प्यूठानमा १६ रोपनी र दाङमा १० कट्ठा जमीन भाडामा लिइ उक्त खेती गरिएको हो । ड्रागन फु्रट र अम्बासँगै चार रोपनी क्षेत्रफलमा एप्पलवेयर, ४०० बिरुवा स्टाबेरीको पनि खेती गरिएको छ । 

सानैदेखि किसान खेती गर्दै आउनुभएका उहाँले कम्युनिष्ट पार्टीले लिएको नारालाई सार्थक बनाउन राजनीतिसँगै कृषि पेशा अगालेको जानकारी दिनुभयो । भाषणमा कृषि क्रान्तिका नारा लगायौँ, व्यवहारत खासै कृषि क्रान्ति भएन । उहाँले भन्नुभयो, 'व्यवहारत कृषि क्रान्तिका लागि हामीले यी खेती गरेका हौँ ।' अम्बा र ड्रागनको बिरुवा उत्पादन गर्ने र  आफ्नो खेतीबाट सबै किसानलाई जोड्ने योजनासमेत बनाएको उहाँको भनाइ छ । 

व्यवसाय सञ्चालनका लागि एक जना व्यवस्थापक पनि राखिएको छ भने धेरै काम गर्ने समयमा अन्य कामदार पनि खटाउने गरिएकोसमेत उहाँँले बताउनुभयो । हावापानी राम्रो रहेकाले जिल्लामा यसको उत्पादन राम्रो हुने विश्वास लिइएको छ ।