नेपाली राजनीति: मियोविनाको दाइँ, के हुन सक्ला उपयुक्त मियो ?
माघ १२, २०७७

मियो केन्द्र हो, जसको वरिपरि त्यही मियोमा बाँधिएका गोरुहरू घुम्छन् र तिनीहरूको निरन्तरको घुमाइले पराल माडिन्छ, बचेको धान झर्छ वा दाइँ हुन्छ । फलतः इच्छित लक्ष्य प्राप्त हुन्छ । 

कदाचित गोरुलाई मियोमा नबाँधी दाइँ गर्न लागियो भने गोरु दायाँबायाँ लम्किन थाल्छ र केहीबेरमै छेउको छिमेकीको बाली खान पुग्छ । धपाएर बल्लबल्ल ल्यायो, फेरि बालीतिरै जान्छ । मियोमा ल्याएर त्यसलाई नबाधुन्जेल दाइँ हुनै सक्दैन । यदि कसैले मियोविनै दाइँ गर्छु भनेर सुरु गर्‍यो भने त्यो निरर्थक सिद्ध हुन्छ । यसर्थ मियो या केन्द्र, जसले निश्चित उद्देश्य प्राप्तिका सहायकहरूलाई लक्ष्यबाट विचलित हुन नदिई दाइँ वा लक्षित कार्य सफलतापूर्वक सम्पन्न गर्न प्रमुख भूमिका खेल्छ । 

हाल नेपालका राजनीतिक, सामाजिक, पारिवारिक कुनै पनि संस्थामा मियो नै नभएको र मियो भएको भए तापनि गोरु उक्त मियोमा नबाँधिएको अवस्था छ । एकताका राज संस्थालाई मियोको भूमिकामा थियो ।

राजाको सक्रिय शासनताका राज संस्था राजनीतिक केन्द्र थियो । राज्य सञ्चालनका प्रत्येक अंग प्रत्यक्ष वा परोक्ष रूपमा राजसंस्थाप्रति उत्तरदायी हुन्थे र तिनीहरूको उक्त संस्थाप्रति भावनात्मक आस्था पनि थियो । तर, त्यो मियोमा बाँधिएका गोरुहरू त्यही दाइँको पराल खाँदै, उघ्राउँदै बसे, पराल आधाउधी खाइसके, दाइँको लक्षित उद्देश्य वा देश निर्माण कार्य सम्पन्न हुन पाएन । पछि राजतन्त्ररूपी मियो उखेलियो र गणतन्त्र स्थापना गरियो । 

त्यसैगरी राष्ट्रियताको भावनाले समेत लामो समयसम्म राष्ट्रिय एकताका लागि बल दियो । नेपालको एकीकरणपश्चात् सबैजसो पूर्वराजा रजाैटाहरूले पुनः विभाजनको प्रयास गरेनन् अथवा एकात्मकतालाई स्वीकार गरी नेपालको अखण्डतासँगै राष्ट्रियताकाे बीज अंकुरित भयो । 

त्यो राष्ट्रियताको भावनासमेत नेपाली जनतालाई एक सूत्रमा बाँध्ने मियो बन्यो । उपनिवेशवादको युगमा भारत र चीन जस्ता विशाल मुलुकहरूसमेत शताब्दीयौँसम्म पराधीन बन्न बाध्य भए तर नेपाल उपनिवेश बन्नबाट जोगियो । सदा स्वाधीन रहन सफल भएकाले उपनिवेश बन्दाको पीडाकाे अनुभव कहिल्यै गर्न नपरेका कारण नेपाली जनतामा भारतीय वा अन्य उपनिवेशको तीक्तता चाखेका मुलुकका जनतामा जतिको बलियो राष्ट्रियताको भावना जागृत हुने वातावरण त बनेन तथापि, राष्ट्रियता पनि राष्ट्रिय एकताको केन्द्रबिन्दु वा मियो थियो । 

जाति, धर्म, सम्प्रदाय आदि अनेकताका भावनालाई  उनेर एकताको माला बनाउने धागो थियो राष्ट्रियता । हल नमिलेका, कोही कता, कोही कता तन्किइरहने, प्रायः बसिरहने लोसे पाराका भए तापनि राष्ट्रियतारूपी मियोमा बाँधिएका बहर, लुते, बलिया, हान्ने, सबै  प्रकारका गोरुहरू बाह्य शक्तिको आक्रमणको सुइँको पाउनासाथ एकजुट भएर गर्जिन्थे । 

चल्न त चल्छ, चलिरहन्छ तर जसरी माटाे, ढुङ्गा, हावा, पानी जस्ता निर्जीव वस्तुहरू आफू स्वयंको कुनै हैसियत वा पहिचानविना अर्काको मात्र लाभका लागि क्रियाशील हुन्छन्, त्यसैगरी देश पनि चलिरहन्छ, यसका अङ्ग, पूर्जाहरूको अरूबाट उपयोग, खरिद, बिक्री आदि भइरहन्छ । 

समयक्रममा आयातीत भाषा, संस्कृति र धर्मको बढ्दो प्रभाव, उपभोग्य एवं विलासिताका सबैजसो वस्तुमा परनिर्भरता, स्वदेशलाई कुनै पनि कुरामा आत्मनिर्भर तुल्याउन कुनै पनि शासन व्यवस्थाका नेतृत्वकर्ताहरूबाट इमानदार प्रयास नभएको तीतो सत्य तथा उल्लेख्य युवा जनशक्तिको रोजगारीको खोजीमा विदेश पलायन जस्ता कारणले आममानिसमा उत्पन्न वितृष्णाको फलस्वरूप राजा वीरेन्द्रको वंश नास हुनेगरी घटेको हत्या काण्डपछि राष्ट्रियताको मियो अझ खिइँदै गयो र अन्तत: भाँचियो । अब कुन बेला दाम्लो फुकालेर गोरु कहाँकहाँ पुग्ने हो, केके बिगार गर्ने हो, थाहा छैन ।

नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य थियो, परन्तु यहाँ बुद्ध, इस्लाम, कृश्चियन, किरात आदि धर्म मान्नेहरूको पनि बसोबास नभएको भने होइन ।  धार्मिक सहिष्णुताको उत्कृष्ट अभ्यास भएको यस देशमा धर्मले पनि विविधतालाई एकाकार गर्न विशिष्ट योगदान दिँदै आएको थियो । मानिसलाई नैतिक रूपमा अनुशासित तुल्याई सत्कर्म गर्न प्रेरणा धर्मबाट प्राप्त हुन्छ । धर्मरूपी मियोले व्यक्तिलाई अनुचित कार्य गर्नबाट रोक्ने मात्र नभएर विभिन्न सामूहिक उद्देश्य प्राप्ति हेतु गोलबन्द पनि बनाउँछ । कुनै पनि धर्मको उद्देश्य कल्याणकारी नै हुने भए तापनि धार्मिक ठेकेदारहरूले धर्मको उद्देश्यको गलत व्याख्या गरी धर्मको मर्ममा मात्र प्रहार गर्दै आएका छैनन्, आममानिसमा रहेको  धार्मिक आस्थाको जगमा डाेजर चलाएका छन् । 

विश्वका कतिपय धर्म साम्राज्यवादलाई फलीभूत गराउन र नेपाल जस्ता गरिब राष्ट्रका भ्रमित जनतालाई भड्काउन प्रयोग गरिएका छन् । आज मानिसका मनमा धर्मप्रतिको श्रद्धायुक्त आस्थामा तुसारापात भएको छ । यहाँ धार्मिक सहिष्णुता मात्र खल्बलिएको छैन, धार्मिक आस्थाको मियो उखेलिएको छ, आत्मिक अराजकताले नैतिकतालाई पराजित गरी सामाजिक विकृतिहरूमा अभूतपूर्व वृद्धि गराएको छ ।

तर, विडम्बना नै भन्नुपर्ला, देशले कुनै 'राजनेता'लाई मियो बनेको देख्न पाएन । राष्ट्रिय एकताका लागि हिजोदेखि आजसम्म कुनै त्यस्तो राजनीतिक दल वा नेतृत्व देखिएन, जो राष्ट्र निर्माणका लागि केन्द्रीय भूमिका निर्वाह गर्न सक्षम होस् । बीपी, पुष्पलाल, गणेशमान, कृष्णप्रसाद, मदन, मनमोहन, गिरिजाप्रसाद जस्ता  केही नेता दलीय रूपमा 'रानो' बनेका भए पनि राष्ट्रिय एकताका प्रतीक बन्न भने सकेनन् । अरू जति आए, दयनीय विचारका धनीहरू आए, खाए, मोटाए, गए । आमजनताको मानसपटलमा फलानाले चाहिँ गर्ला कि ? मियो बनेर यो बेथितिलाई समेट्ला कि भनेर लिन सक्ने आज, यतिबेला कुनै एक दल वा एक नेताको नाउँ जीवित छैन ।

जबसम्म केन्द्र स्थापित हुँदैन, तबसम्म कुनै पनि एकाइ पूर्ण हुँदैन, छरपस्ट हुन्छ, अधुरो एवं अशक्त हुन्छ । त्यस्तो अधुरो र शक्तिहीन राजनीतिक प्रणाली तथा जनविश्वासरहित नेतृत्वबाट राष्ट्रका विविध अवयवलाई एकताबद्ध गर्दै सबैलाई उत्साहजनक तवरले सक्रियतापूर्वक दाइँमा सहभागी हुने वातावरण बन्ने आशा गर्नु मूर्खताशिवाय केही हुन सक्दैन । 

यस्ता भावनाहरू व्यक्त वा अव्यक्त रूपमा यत्रतत्र छरपस्ट देखिन्छन्, सबैले अनुभूत गरेकै छन् ।  निराशाको बिस्कुन देखाएर भ्रमको खेती गरी कुनै व्यक्तिगत लाभ लिन कुनै व्यक्ति वा निकायले संगठित ढंगले आमसमाजमा नि:शुल्क बाँडिएका भावना होइनन् यी, यी त देखी, भोगी, विगत लामो समयदेखि सबै नेपाली जनताले आफ्नै इन्द्रिययहरूद्वारा अनुभव गरिएका नमीठा तर यथार्थ कुराहरू हुन् । त्यसै कारण वर्तमान राजनीतिक व्यवस्था, दल वा कुनै नेता तत्काल नेपालको भरपर्दो मियो बन्न सक्ने सम्भावना देखिँदैन ।

विविधतालाई विनाभेदभाव एक सूत्रमा बाँध्न अर्को मियो 'कानुन' हो । उचित कानुनको उपयुुक्त शासकीय विधिमार्फत निष्पक्ष रूपमा कठाेर कार्यान्वयनले आमरूपमा कानुनप्रतिको सम्मानजनक त्रास स्थापित हुन्छ । नेपालमा कानुनको अभ्यास परापूर्वकालदेखि नै हुँदै आएको भए तापनि मुलुकले कहिल्यै सक्षम राजनीतिक नेतृत्वद्वारा उपयुक्त शासकीय विधि एवं राजनीतिक प्रणालीको अनुभव गर्ने अवसर नपाएको हुनाले सधैँ कानुन मुठ्ठीभर व्यक्तिहरूको कठपुतली तथा पर्दा पछाडि हुने ठूलाखाले अपराधको संरक्षण गर्नमा प्रयोग भयो। 

कानुनको कार्यान्वयन गराउने व्यक्ति वा निकायले नै कानुन मिच्ने, भ्रष्टाचार जस्ता जघन्य अपराध नियन्त्रण गर्न स्थापित निकायहरू नै त्यस्ता अपराधहरूका पात्र वा संरक्ष्रक बन्ने र त्यस्ता अपराधीहरूले सहज उन्मुक्ति पाउने गरेका कयौँ दृष्टान्त सबैका सामु छन् । कानुनको पालना गर्ने र गराउने दुवैमा कानुनप्रति रत्तिभर आस्था र विश्वास नहुँदा 'यहाँ जसले जे गरे नि हुन्छ' भन्ने मानसिकताले जरो गाडिसकेको हुनाले कानुनरूपी मियो शक्तिहीन बनिसकेको छर्लङ्ग छ । यसको ताजा उदाहरण वर्तमान प्रधानमन्त्रीद्वारा गरिएको संसद विघटन र त्यसको सेरोफेरोमा विकसित घटनाक्रमले देशको मूल कानुन, संविधानको निरीहता बेदाग झल्किरहेको छ ।

उल्लेखित मुख्य चार प्रकारका केन्द्रहरूमध्ये कुनै एक मात्र पनि बलियो भएको भए अग्रगमनको आधारशिला बन्थ्यो । तर, दुर्भाग्य ! ती सबै मियोहरू उखेलिएका वा केन्द्रहरू भत्किइसकेका छन् । केन्द्र एक सिङ्गो वस्तुको अस्तित्वका लागि अनिवार्य शर्त हो । एउटा अणुको पनि केन्द्र हुन्छ, न्युट्राेन र प्रोटाेननिर्मित न्युक्लिअस, जसको वरिपरि इलेक्ट्रोनरूु चक्कर लगाउँछन् । पृथ्वी जस्ता ग्रह, उपग्रहहरूको केन्द्रको उचित चुम्बकीय शक्तिले सबै पदार्थसमेत समग्र वायुमण्डललाई समेटेर सिङ्गो स्वरूप धारण गरेको छ । 

सूर्य स्वयं केन्द्रको रूपमा रही समग्र सौर्यमण्डलरूपी एक पूर्ण शरीर ग्रहण गरेको छ । खर्बौं ताराले सुसज्जित विशाल आकाशगंगाहरू ब्ल्याक होल नामक केन्द्रको  उपस्थितिले एक एकाइका रूपमा व्यवस्थित भएका हुन् । मानिसलगायत सम्पूर्ण जीवहरूको केन्द्र वा मियो मस्तिष्क हो । प्राणीका सम्पूर्ण अंगहरू र तिनको कार्यको नियन्त्रण तथा व्यवस्थापन तिनीहरूको मस्तिष्कले गर्छ । यी भए प्राकृतिक संरचनाका प्राकृतिक केन्द्रहरू । यसबाट के कुरा प्रष्ट हुन्छ भने विनाकेन्द्र केही पनि पूर्ण हुँदैन । 

त्यसरी नै कुनै ठूलो उद्देश्यप्राप्ति हेतु कृत्रिम रूपमा पनि केन्द्रहरूको निर्माण गरिएको हुन्छ । परिवार सञ्चलनार्थ बाबु वा आमा केन्द्र, विद्यालयको मियो प्रधानाध्यापक, गाउँको मियो अध्यक्षसहितको स्थानीय सत्ता र राज्यको केन्द्रीय सत्ता जस्ता विविध आवश्यक केन्द्रको निर्माणद्वारा त्यही केन्द्रमा सबै गोलबन्द भई इच्छित थप लक्ष्य प्राप्तिको प्रयास गरिन्छ । 

खासै बलियो राजनीतिक, धार्मिक वा अन्य कसिलो केन्द्र नभएको छिमेकी देश भारतमा एकताको केन्द्रको रूपमा 'राष्ट्रियता' रहेको देखिन्छ । अमेरिका, जापान जस्ता विकसित देशहरूको केन्द्र कानुनको सशक्त कार्यान्वयन हो । छिमेकी चीनको एकताको मन्त्र साम्यवादी कानुनको समुचित प्रयोग हो । दिगो र बलिया केन्द्रको निर्माण नगरिएका वा भएका केन्द्र पनि भत्किएका केही अफ्रिकी तथा इराक, अफगानिस्तान जस्ता एसियाली मुलुकहरूको हविगत हेरे बुझिन्छ, केन्द्र वा मियोविहीनताको दुर्दशा । 

केन्द्रविहीन वस्तु सिङ्गो हुन नसक्ने हुनाले त्यसको अलग्गै अस्तित्व नै हुँदैन, त्यो त हावा वा पानी जस्तो कुनै निश्चित र अर्थपूर्ण उद्देश्यविना जता पनि वहने स्वभावको हुन्छ । मानव जस्तो सभ्य, सचेतनायुक्त, असंख्य संभावनाको वाहक, उत्कृष्ट प्राणी बस्ने समाज एवं राष्ट्रमा मियोविनाको दाइँ भएको पटक्कै सुहाउँदैन । 

यसर्थ अन्योलको हालको बिखण्डित परिवेशलाई एकाकार गरी वास्तविक रूपमै सिङ्गो राष्ट्रको निर्माण गर्नका लागि केन्द्र वा मियोको भूमिका निर्वाह गर्ने के होला भन्ने प्रश्न स्वाभाविक हो । भोगिसकेको राजतन्त्रात्मक पद्धतिप्रति पुनः जनविश्वास पैदा हुने अवस्था नरहेको, धार्मिक चेतनाको दायरा फराकिलो हुँदै र धर्मप्रतिको आस्था साँघुरिँदै गएकाले धर्मले मात्र सबै पक्षलाई समेट्न सक्ने संभावना नरहेको, वर्तमान राजनीतिक नेतृत्व र पद्धति क्यान्सरग्रस्त भई उपचारै असंभव भइसकेको यस धरातलीय यथार्थलाई दृष्टिगत गर्दा अबको नेपाललाई साँच्चै एक सिङ्गो सभ्य नेपालमा एकीकृत गर्न सक्ने मियो भनेको 'कानुन' नै हो । कानुनमा अनेकतालाई एकतामा परिवर्तन गर्न सक्ने क्षमता हुन्छ । अधिकांश उन्नत देशहरूमा पनि कानुनबाहेकका उल्लेखित अन्य केन्द्रहरू भत्किइसकेका छन्  । यदि सद्दे भए पनि तिनऊहरू सहायक केन्द्रको भूमिकामा छन् । कानुन मुख्य केन्द्र भएका मुलुकहरूले प्रगतिपथमा धेरै छिटो फड्काे मारेका उदाहरण हाम्रो सामु प्रस्तुत छन् ।

चल्न त चल्छ, चलिरहन्छ तर जसरी माटाे, ढुङ्गा, हावा, पानी जस्ता निर्जीव वस्तुहरू आफू स्वयंको कुनै हैसियत वा पहिचानविना अर्काको मात्र लाभका लागि क्रियाशील हुन्छन्, त्यसैगरी देश पनि चलिरहन्छ, यसका अङ्ग, पूर्जाहरूको अरूबाट उपयोग, खरिद, बिक्री आदि भइरहन्छ । 

तर, यदि साँचै देशको भविष्य गतिलो बनाउने हो भने वर्तमान असफल राजनीतिक पद्धति र विचार एवं दिशाहीन नेतृत्वको सट्टामा देश र परिवेश सुहाउँदो नयाँ पद्धति र चिन्तनशील तथा ऊर्जावान बौद्धिक नेतृत्वमार्फत  समयसापेक्ष कानुनको निर्माण गरी त्यसैलाई मियो वा सशक्त केन्द्रको रूपमा स्थापित गरियो भने त्यसबाट  कुनै व्यक्ति, जाति वा समुदायविशेष मात्र नभएर राष्ट्रका सबै अंग लाभान्वित हुनुको अलावा नेपाल एक अखण्ड एकाइका रूपमा अर्थपूर्ण ढंगले विकास र सम्मृद्धितर्फ अग्रसर हुनेछ ।

 


लेखक अधिवक्ता हुनुहुन्छ ।