लागुऔषध कारोवारी पुनः सक्रिय

लागुऔषध कारोवारी पुनः सक्रिय

लोकसंवाद संवाददाता  |  समाज  |  माघ १४, २०७७

काभ्रेपलाञ्चोक । प्रतिबन्धित लागुऔषध कारोवारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएको पाइएको छ । कोरोना भाइरसको सन्त्रासपछि करिब एक वर्ष रोकिएको लागुऔषध तस्करी पुनः सक्रिय भएको हालैको घटनाले पनि पुष्टि गरेको छ ।

गत साल फागुन दोस्रो सातायता कुनै लागुऔषध तस्करीका घटना बाहिर आएनन् तर गत सोमबार मात्रै प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ तथा लागुऔषध इन्जेक्सनसहित दुई जनालाई विपी राजमार्गस्थित इलाका प्रहरी कार्यालय मङ्गलटारले पक्राउ गर्यो । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–३ का १९ वर्षीय शम्शेर घिसिङ र सुनसरीको धरान उपमहानगरपालिका–२ का २७ वर्षीय अजित कामतलाई पूर्वबाट विपी राजमार्ग हुँदै काठमाडौँ आइरहेको अवस्थामा मङ्गलटारमा सवारी जाँचका क्रममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ‘नाइट्राभेट–१०’नामक लागुऔषध २८ पत्ता ९८४० ट्याब्लेट०, डाइजापान इन्जेक्सन १० थान, बुप्रिनोर्फिन १० थान, फोनारागन १० थान बरामद भएको मङ्गलटार प्रहरीले जनाएको छ । हाल घिसिङ र कामतलाई प्रहरीले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोक प्रहरी एक वर्षपछि नेपालमा प्रतिबन्धित औषधि बरामद गर्न पुनः सफल भएको हो । यस घटनाले लागुऔषध कारोवारी पुनः सक्रिय भएको थापाले बताउनुभयो । उहाँले कारोवारीको खोजीकार्य तीव्ररूपमा गरिने बताउनुभयो । “घटनाले एक वर्षपछि कारोवारी पुनः सक्रिय भएको देखिन्छ, अब हामी विशेष निगरानी गर्छौँ”, उहाँले भन्नुभयो ।

प्रहरीले गत वर्ष फागुन दोस्रो साता पनौती नगरपालिका–६ स्थित एक घरबाट लुकाइछिपाई राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गरेको थियो । उक्त घरमा डेरा गरी बस्ने ३२ वर्षीया शुभद्रा तिमल्सिनाको कोठाबाट बिक्री वितरणका लागि दराजमा कपडाले बेरेर राखेको अवस्थामा उक्त परिमाणमा ट्याब्लेट बरामद गरी तिमल्सिनालाई प्रहरीले पक्राउ गर्यो ।

त्यसको केही महिनाअघि विराटनगरबाट विपी राजमार्ग हुँदै बनेपा आउँदै गरेको गाडीमा खानतलासी गर्दा सुनसरीको गढी गाउँपालिका–३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहेता र भारतको कानपुरस्थित युपीका २१ वर्षीय मनोजकुमार मेहेतालाई ५० पत्ता ९७५० चक्की० नाइट्राभेट–१० औषधिसहित पक्राउ गरी लागुऔषध ऐन–२०३३ अनुसार मुद्दा चलायो ।

सोही हप्ता आसपास इलाका प्रहरी कार्यालय बनेपाले पनि सुराकीकै आधारमा नाइट्राभेट–१० नामक औषधिको ८२ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट सात जनालाई पक्राउ गर्यो । बनेपा नपा–१३ स्थित साँगाबाट ५० पत्ता ९एक हजार ५१४ चक्की० बोकेका तनहुँको शुक्लागण्डकी नपा–१ का २४ वर्षीय उत्तम कार्की र खोटाङको चिउरीडाँडाका २५ वर्षीय आशीष थापालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको थियो ।