भक्तपुरमा चार हजारलाई खोप दिइने

भक्तपुरमा चार हजारलाई खोप दिइने

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १५, २०७७

भक्तपुर  । पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर अस्पतालबाट शुरु भएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई कोरोनाविरुद्धको खोप लगाएर भक्तपुरमा  अभियान शुरु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यममा बालुवाटारबाट एकैपटक तीन अस्पतालबाट खोप अभियानको उद्घाटन गरेसँगै भक्तपुर अस्पतालमा डा गौतमलाई खोप लगाएर उद्घाटन गरिएको हो ।  

देशैभर एकैसाथ शुरु भएको खोप अभियानअन्तर्गत भक्तपुरमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक,  स्वास्थ्य स्वयम्सेविका, सरसफाइ मजदूर र कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव बोक्नेलाई खोप लगाइने डा गौतमले जानकारी दिनुभयो । 

भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगर अस्पताल थिमिबाट आज बिहान १०ः३० बजेदेखि कोरोनाविरुद्धको खोप लगाउने कार्य शुरु हुने भएको हो । भक्तपुर अस्पतालमा जिल्लाका अस्पतालका स्वास्थ्यकर्मीसँगै चाँगुनारायण र भक्तपुर नगरपालिकाका अग्रभागमा रहेर काम गर्नेहरुलाई यो खोप लगाइने भएको हो । नेपाल कोरिया अस्पतालबाट मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाका तोकिएका व्यक्तिमा खोप लगाउन शुरु भएको हो । 

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भक्तपुरमा चार हजार भायल खोप पठाएको छ ।  शून्य दशमलव ५ मिलिलिटर खोपको मात्रा एक जनालाई दिइने भएकाले एक भायल बराबर कम्तीमा १० जनालाई खोप लगाइने छ । यसअघि खोपसम्बन्धी स्वास्थ्यकर्मीलाई भक्तपुरको सिद्धिस्मृति प्रतिष्ठानमा तालीम दिइएको थियो । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार देशभरका ६२ अस्पताल र १२०  खोप केन्द्रबाट खोप अभियान शुरु भएको छ । पहिलो चरणमा कोरोनाविरुद्ध अग्रभागमा काम गरिरहेका चार लाख ३० हजार जनालाई खोप लगाइने सरकारले जनाएको छ । अठार वर्ष उमेर पुगेका व्यक्तिले  खोप लगाउन सक्ने भक्तपुर अस्पतालका मेसु डा गौतमले जानकारी दिनुभयो । 

गर्भवती, स्तनपान गराइरहेका, तुरुन्त गर्भवती हुने योजनामा रहेका तथा एलर्जीको समस्या भएका व्यक्तिले खोप लगाउन मिल्दैन ।  मुटुको रोग तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीले निर्धक्क खोप लगाउन मिल्नेछ । 

खोप लगाइसकेपछि स्वास्थ्यमा कुनै गम्भीर असर नपर्ने जिकिर गरिएको छ । खोप लगाएका ठाउँमा सुन्निने, दुख्ने वा रातो हुने, टाउको दुख्ने वा ज्वरो आउने, जीउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने र बान्ता हुने जस्ता समस्या देखिए नआत्तिन आग्रह गर्दै उहाँले गम्भीर समस्या आए सरकारले उपचार गर्ने बताउनुभयोे । त्यस्तो अवस्था आएमा उपचारका लागि भक्तपुर अस्पताल तयारी अस्पतालमा रहेको जनाइएको छ ।