रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत

रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत

लोकसंवाद संवाददाता  |  विदेश  |  माघ १५, २०७७

एजेन्सी ।  पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो रिपब्लीकन सिनेट सदस्यहरु उभिने संकेत देखिएको छ । 

ट्रम्पको उक्साहटमा अमेरिकी संसदमा आक्रमण भएको भन्दै डेमोक्रेटिक पार्टीले उहाँ विरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाएको छ । ट्रम्पको कार्यकाल समाप्त भइसकेको अवस्थामा पनि अमेरिकी माथिल्लो सदन सिनेटमा महाभियोग प्रस्ताव अद्यापी विचाराधीन छ । 

डेमोक्रेट पार्टीको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले भने ट्रम्प विरुद्ध महाभियोग प्रस्ताव पारित गरी सिनेटमा छलफलका लागि पठाइसकेको छ । 

उक्त प्रस्तावमा आगामी फेब्रुअरी ९ देखि सिनेटमा छलफल गर्नेगरी कार्यतालिका सार्वजनिक भइसकेको छ । 

ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित हुन कम्तीमा १७ जना रिपब्लीकन सिनेटरले डेमोक्रेट पार्टीलाई साथ र समर्थन गर्नु पर्नेछ जुन डेमोक्रेटका लागि फलामको च्यूरा चपाएसरह हुनेछ । अमेरिकी कानुन बमोजिम कुनै पनि राष्ट्रपति विरुद्धको महाभियोग पारित हुन सिनेटमा दुई तिहाई मत आवश्यक पर्दछ ।