कोरोना भाइरसको पुष्टि भएको १ वर्ष ६ दिनमा खोपको सुरुवात : पहिलो दिन मै ९ हजार ४८ जना लगाए

कोरोना भाइरसको पुष्टि भएको १ वर्ष ६ दिनमा  खोपको  सुरुवात : पहिलो दिन मै ९ हजार ४८ जना लगाए

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १५, २०७७

नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको ठीक १ वर्ष ६ दिनपछि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुरुवात गर्नेवित्तिकै देशैभर कोराना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको हो । प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र सबै नेपालीले कोरोनाभाइरसविरुद्ध खोप निःशुल्क रुपमा उपलब्ध गराउने बताएका छन्। उनले भने, ‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्नेछौँ । मेरो विचारमा तीन महिना लाग्न सक्छ जस्तो लाग्छ ।’ 

करिब एक सय २० स्थानबाट एकै पटक देशव्यापी रूपमा खोप कार्यक्रम अघि बढाएको छ। खोप लगाएपनि मास्कको प्रयोग गर्न, सरसफाइ, सामाजिक दूरी कायम गर्ने विषय र खानपानमा ध्यान दिन आग्रह गरिएको छ । नेपालमा कोभिड खोप अभियानको पहिलो दिन बुधबार साँझ ५ बजेसम्म ९ हजार ४८ जनाले खोप पाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाइएका व्यक्तिमा कुनै स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६४ जिल्लाका ९३ केन्द्रमा कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु गरिएको छ । 

त्यो तापक्रम सामान्य फ्रिजको तापक्रम हो । यसकारण यो अन्य केही खोपभन्दा ओसारपसार र वितरणमा सहज छ । फाइजर–बायोएनटेकले बनाएको खोपलाई माइनस ७० डिग्री सेल्सीअस तापक्रममा राख्नुपर्ने भएका कारण नेपालजस्ता देशका लागि भण्डारणमा निकै चुनौतीपूर्ण छ । अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणमा कोभिशिल्ड पुरै मात्रामा दिइएको अवस्थामा ९० प्रतिशतसम्म प्रभावकारी  रहेको छ ।

 

कुन प्रदेशमा कतिले लगाए खोप ?

प्रदेश १:                   एक हजार ५५
प्रदेशं २:                   ७ सय २६
वाग्मती प्रदेश:           दुई हजार ६९४
गण्डकी प्रदेश :          एक हजार ८४३
लुम्बिनी प्रदेशः           ७ सय ३३
कर्णाली प्रदेशः          ७ सय ५१
सुदूरपश्चिमः             एक हजार ८२ 

गत साता मात्र भारतले १० लाख कोभिशील्ड खोप उपलब्ध गराएपछि पहिलो चरणमा खोप वितरण सुरु गरिएको हो । अहिले पहिलो मात्रा खोप लिएका व्यक्तिहरूले चार हप्तापछि दोस्रो मात्रा खोप लिनुपर्नेछ । 

यसरी सुरु भयो खोप कार्यक्रम

बुधबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. सागर राजभण्डारीले पहिलो खोप लगाएपछि खोप कार्यक्रम सुरु भएको थियो । त्यसअघि प्रधानमन्त्री ओलीले खोप कार्यक्रम उद्घाटन गरेका थिए । कोरोना खोप कार्यक्रम सुरु भइरहँदा धेरैको अनुहारमा खुसी देखिन्थ्यो । तर उनीहरुका मनमा प्रश्नको पनि भेल थियो । करिब १० बजे अस्पतालका निर्देशक डा.राजभण्डारीले खोप लगाएपछि डा.अनुप बास्तोला र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख रुना झाले खोप लगाउँदै खोपसँग त्रसित नहुन र ढुक्क भएर लगाउन आग्रह समेत  गरेका थिए ।  

प्रदेश २ मा पहिलो कोभिड खोप वीरगन्जको नारायणी अस्पतालको एनआईसीयू वार्डकी इन्चार्ज नर्स हेमा थापालाई दिइएको थियो । थापाले खोप लगाएपछि अन्यलाई पनि खोप लगाउने कार्यक्रममा सहभागी हुन आग्रह गरेकी थिइन् । उनले भनिन्, ‘विश्वभरि फैलिएको महामारीमा खट्दा डर लागेको थियो तर खोप लगाउँदा धेरै खुसी छु । नराम्रो महसुस भएको छैन । डराएर वा भ्रममा परेर नलगाउनु भन्दा मन प्रफुल्लित बनाएर लाउँदा सकारात्मक छ। त्यसैले नडराईकन यो खोप लगाउन आग्रह गर्छु ।’

स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजयकुमार झाका अनुुसार  पहिलो चरणका लागि प्रदेश २ मा ३४ हजार ८०४ मात्रा खोप आएकोमा हालसम्म ३१ हजारभन्दा बढी खोप लगाउने व्यक्तिहरुको नाम संकलन भइसकेको छ । 

१८ वर्ष उमेर नपुगेका, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवतीले भने यो खोप लगाउन हुँदैन । खोपको पहिलो डोज लगाउँदा कुनै गम्भीर समस्या देखा परेमा दोस्रो डोज दिइनेछैन । 

नेपालमा पहिलो कोरोना संक्रमित ९ माघ, २०७६ मा भेटिएको थियो । त्यसपछि १० चैतमा दोस्रो संक्रमित भेटिएका थिए । पहिलो संक्रमित भेटिएको ठीक एक वर्ष ६ दिनपछि कोरोनाविरुद्धको खोप नेपालमा लगाउन सुरु गरिएको हो । खोप दिएपछि मानिसको शरीरमा यसले रोग प्रतिरोधी क्षमतालाई सक्रिय बनाउँछ । जसले गर्दा एन्टीबडी बन्छन् र कोरोनाभाइरस संक्रमण विरुद्ध लड्छन् । एक जना मानिसलाई यो खोपको दुई मात्रा चारदेखि १२ साताको फरकमा दिइन्छ । यो खोप २ देखि ८ डिग्री सेल्सीअस तापक्रममा सुरक्षित राख्न सकिन्छ ।

त्यो तापक्रम सामान्य फ्रिजको तापक्रम हो । यसकारण यो अन्य केही खोपभन्दा ओसारपसार र वितरणमा सहज छ । फाइजर–बायोएनटेकले बनाएको खोपलाई माइनस ७० डिग्री सेल्सीअस तापक्रममा राख्नुपर्ने भएका कारण नेपालजस्ता देशका लागि भण्डारणमा निकै चुनौतीपूर्ण छ । अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणमा कोभिशिल्ड पुरै मात्रामा दिइएको अवस्थामा ९० प्रतिशतसम्म प्रभावकारी  रहेको छ ।

सिरम इन्स्टिट्यूटले ब्राजिल र बेलायतमा गरिएको परीक्षणको तथ्यांक देखाएर कोभिशील्ड अत्यधिक प्रभावकारी रहेको बताएको छ । तर भारतको बिरामी अधिकारकर्मीको समूह अल इन्डिया ड्रग एक्सन नेटवर्कले यसको अनुमति प्रक्रिया हतारमा दिइएको र आवश्यक परीक्षण नभएको बताउँदै आएको छ । कम्पनीले खोपको भारतीय परीक्षण फेब्रुअरीमा गर्ने बताएको छ ।