जन सांस्कृतिक महासङ्घले माघ २३ गतेको सभामा विविध सांस्कृतिक कार्यक्रम गर्ने

जन सांस्कृतिक महासङ्घले माघ २३ गतेको सभामा विविध सांस्कृतिक कार्यक्रम गर्ने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ १५, २०७७

 काठमाडौँ । जन सांस्कृतिक महासङ्घले नेकपा ओली समूहद्वारा माघ २३ गते काठमाडौँमा आयोजना गरिने विशाल जनसभामा विविध सांस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको छ । नेकपा केन्द्रीय सदस्य, महासङ्घका महासचिव एवम् बागमती प्रदेश इन्चार्ज प्रेमनाथ अधिकारीको अध्यक्षतामा बुधबार बसेको महासङ्घका राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले सो निर्णय गरेको महासङ्घले जनाएकाे छ  ।  माघ २३ गते काठमाडौँमा हुने विशाल जनसभालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा वलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसका साथै  माघ १५ गते प्रज्ञा भवनमा आयोजना हुने जिफण्टको सभामा समेत महासङ्घले साङ्गीतिक प्रस्तुति दिने  तयरी थालेको हो ।

बागमती इन्चार्ज अधिकारीका अनुसार २३ गते हुने जनसभामा महासङ्घका ७ ओटै घटक सङ्गठन, जिल्ला र प्रदेश कमिटीले राजधानीका  विभिन्न स्थानबाट ब्यानरसहित जनसभामा सहभागिता जनाउने छ । नेकपाका केन्द्रीय सदस्य एवम् महासङ्घका अध्यक्ष  खगेन्द्र राईको नेतृत्व र मधु गुरुङको संयोजनमा पुतलीसडक चोकमा जम्मा भई रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र रामेछापका कलाकार तथा प्रदेश कमिटीका जिम्मेवार सदस्यहरूका साथै जनसङ्गीत घटक सङ्गठनका सबै सदस्यहरू संलग्न हुनेछन् । प्रेमनाथ अधिकारीको नेतृत्वमा र नारायणभाइ श्रेष्ठको संयोजनमा त्रिपुरेश्वर चोकमा जम्मा भई काभ्रे, ललितपुर र काठमाडौँका कलाकार तथा प्रदेश कमिटीका सदस्यहरू तथा  भाषा तथा लोकसाहित्य घटक र जनपक्षीय चलचित्रकर्मी सङ्घ घटक र डम्बर पहाडी, लय सग्रौला लगायत समस्त सदस्यहरू सहभागी हुनेछन् । 

उदय श्रेष्ठको नेतृत्व र छिरिङ लामाको संयोजनमा जमल चोकबाट मकवानपुर र दोलखा जिल्लाका कलाकार तथा प्रदेश कमिटीमा आवद्ध सदस्यहरू सहभागी हुनेछन् । जसमा जन नाट्य घटक र सामाजिक–सांस्कृतिक घटक लगायत कालिका पाठक, राजबहादुर खत्री लगायतका सदस्यहरूको सहभागिता रहनेछ । राजेश थापाको नेतृत्व र आरसी नेउपानेको संयोजनमा घण्टाघर चोकबाट धादिङ र चितवन जिल्लाका कलाकार तथा प्रदेश कमिटीका सदस्यहरूका साथैै ललितकला मञ्चका सदस्यहरूको सहभागिता रहनेछ । नेकपा केन्द्रीय सदस्य भूमिका सुब्बाको नेतृत्व र किशोर अनुरागको संयोजनमा सिन्धुली र भक्तपुर जिल्लाका कलाकार र प्रदेश कमिटीका सदस्यहरूका साथै जनसाहित्यिक मञ्च घटकमा आवद्ध सबै सहभागी हुनेछन् । अशोक राईको संयोजन तथा माधव प्रधानको सञ्चालनमा करिब डेढ घन्टा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने समेत जनाएकाे छ ।