शहीद सप्ताह अन्तर्गत शहीद श्रेष्ठ र चन्दप्रति श्रद्धाञ्जलि

शहीद सप्ताह अन्तर्गत शहीद श्रेष्ठ र चन्दप्रति श्रद्धाञ्जलि

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १५, २०७७

काठमाडौँ । शहीद सप्ताह कार्यक्रमअन्तर्गत आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिकमा माल्यार्पण गरी उहाँहरुप्रति श्रद्धाञ्जलि दिइएको छ । काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा  उहाँहरुलाई प्राणदण्ड दिइएको स्थान शोभाभगवती विष्णुमती नदी किनारामा कामपाले गत वर्ष निर्माण सम्पन्न गरेको पूर्ण कदको शालिकमा माल्यार्पण गरिएको थियो ।   
 
सभामा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले  हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको बाजी मार्ने शहीदको योगदान कसैसँग तुलना हुन नसक्ने बताउनुभयो ।   कामपा वडा नं १५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले शहीदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।  

हुकुमी शासनविरुद्ध काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएका आरोपमा १९९७  साल माघ १५ गते  श्रेष्ठ र चन्दलाई शोभाभगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो ।  बैतडीमा जन्मिनुभएका चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो ।  त्यस्तै रामेछापको भँगेरीमा जन्मिनुभएका श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणाशासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो । 

विगत वर्ष झैँ यस वर्ष पनि कामपाले यही माघ १० देखि  १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस मनाइरहेको छ ।  राणाशासनको विरोध गरेको आरोपमा१९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशम्शेरसहितको इजलासले श्रेष्ठ, चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र  पूर्णनारायण प्रधान गरी पाँचजनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो ।
 
पछि पूर्णनारायणको सजायलाई आजीवन कैदमा परिवर्तन गरियो । कारागार सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु पचलीस्थित खरीबोट र माथेमालाई सिफल उकालो बकाइनाका रूपमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो । 

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्बीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीदोद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने छ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ ।

विसं २०१२ देखि कामपाको संयोजकत्वमा शहीद सप्ताहअन्तर्गतका कार्यक्रम मनाउँदै आएको छ ।प्रजातन्त्र प्राप्तिका लागि १९९७ सालमा काठमाडौँका विभिन्न स्थानमा शहादत प्राप्त गर्नुभएका चार शहीदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ ।