काइकेको प्रत्येक घरधुरीलाई ग्यास

काइकेको प्रत्येक घरधुरीलाई ग्यास

लोकसंवाद संवाददाता  |  समाज  |  माघ १६, २०७७

डोल्पा । दाउरा कम पाइने मध्यडोल्पाको काइके गाउँपालिकामा सबै घरधुरीलाई ग्यास वितरण गर्न लागिएको छ । 

दाउराको अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रत्येक घरधुरीलाई दुईवटा ग्यास र एक चुलो वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले राससलाई जानकारी दिनुभयो । सात वडा रहेको काइके गाउँपालिकाको कूल जनसङ्ख्या पाँच हजारको हाराहारीमा छ ।

सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालय गरी जम्मा एक हजार ५० घरधुरी रहेको काइकेमा फागुन पहिलो साताभित्र सबैको घरघरमा ग्यास पुग्ने अधिकृत अधिकारीले जानकारी दिनुभयो । रु एक करोड एक लाख २५ हजारमा उपभोक्ता समितिमार्फत ग्यास खरिद गरिएको उहाँको भनाइ छ । वनजङ्गल संरक्षण तथा धुवाधुलोबाट बच्नका लागि यो अभियान सञ्चालन गरिएको हो ।

अत्यधिक चिसो रहेको यहाँ दाउराबाट आगो बाल्न मुस्किल हुनुका साथै काममा निस्किँदासमेत छिट्टै आगोको जोहो गर्न समस्या भएपछि ग्यासको अवधारणा ल्याइएको गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भारी हिउँमा दाउरा नपाइने भएकाले तत्काल खाना पकाउन सजिलो होस् भनी ग्यास खरिद गरी गाउँपालिकाले स्थानीयवासीलाई दिन लागेको छ ।”

नेपालगञ्जबाट खरिद गरी मनकामनाको ग्यास जाजरकोट हुँदै डोल्पासम्म यातायातको साधनमा ढुवानी हुन्छ भने दुनैबाट काइकेसम्म खच्चडमा बोकाएर ढुवानी गर्न लागिएको प्रवक्ता रोकायले जानकारी दिनुभयो । प्रत्येक वडामा समिति बनाएर ग्यास खरिद तथा वितरण गर्न लागिएको छ । दुई हजार सिलिण्डर र एक हजार ५० चुलो वितरण हुन लागेको हो । गाउँपालिकाको यो कामबाट सबैभन्दा बढी यहाँका महिला खुशी भएका छन् । घरायसी काममा व्यस्त हुने यहाँका महिला सधँै खाना पकाउन र बालबालिकालाई खाजा पकाउँदा हैरान हुँदै आएका थिए । 

ग्यास पाउने भए पनि आफू निकै खुशी भएको कार्यपालिका सदस्य थललक्ष्मी रोकायले जानकारी दिनुभयो । सडक सञ्जालसँग नजोडिएको काइकेमा खाद्यान्न ढुवानीदेखि अन्य दैनिक उपभोग्य सामग्री ढुवानी गर्दा खच्चड वा मानिसले बोकेर लैजानुपर्ने बाध्यता छ ।