कालीगण्डकी करिडोरमा धमाधम कालोपत्र हुँदै

कालीगण्डकी करिडोरमा धमाधम कालोपत्र हुँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १६, २०७७

काठमाडौं ।  थोरै मात्रै ट्रयाक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोरमा धमाधम कालोपत्र अघि बढाइरहेको छ । सडकका विभिन्न खण्डमा कतै वैदेशिक सहयोगमा त कतै नेपाल सरकारको बजेटबाट कालोपत्र अघि बढाइएको छ ।

दक्षिणमा गैँडाकोटबाट उत्तर कोरोलासम्म जोड्ने उत्तर–दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोरमा पहिले खुलिसकेका स्थानमा कालोपत्र अघि बढाइएको उत्तर–दक्षिण तथा व्यापारिकमार्ग विस्तार आयोजना निर्देशनालयले जनाएको छ । चार सय १७ किमी लम्बाइको यो करिडोरमा अहिले गैँडाकोटबाट राम्दीसम्म १३२ किमी सडक एक्जिम बैंकको ऋण सहयोगमा निर्माण अघि बढाइएको छ । पूरै करिडोरमा गरी १०० किमीबाहेक अरु सडक कालोपत्र गर्न लागिएको निर्देशनालय प्रमुख शिवप्रसाद नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय सडक निर्माण भइरहेका छन् भने कतिपय कालोपत्रका लागि ठेक्का प्रक्रियामा छन् ।”

गैँडाकोटबाट राम्दीसम्मको सडकमा चालु आवमा ३१ किमी ग्राभेल र त्यसमध्ये १० किमी सडक कालोपत्र भएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । गत वर्ष पुसमा सडक निर्माणका लागि भारतीय कम्पनीलाई जिम्मेवारी दिइएको थियो । राम्दीबाट कोरोलासम्म नेपाल सरकारको लगानीमा निर्माण भइरहेको निर्देशनालयका प्रमुख नेपालले बताउनुभयो । यो खण्डमा चालु आवमा छ किमीसमेत गरी अहिलेसम्म २१ किमी ग्राभेल भएको छ । राम्दीबाट रिडीसम्म ३० किमी सडक कालोपत्रका लागि बहुवर्षीय सहमति मागिएको छ । करिडोरमा अझैसम्म ४५० मिटर सडकको ट्रयाक खुलिसकेको छैन र सो सडक यही खण्डमा पर्छ । कालोपत्रको प्रक्रिया अघि बढ्दासम्म ट्रयाक खुलिसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सेनाले ट्रयाक खोलिरहेकाले केही समयभित्रै खुलिसक्ने अपेक्षा गरिएको छ ।”

करिडोरको पहिलो खण्डमा गैँडाकोटबाट राम्दी, दोस्रोमा राम्दीबाट रिडी र तेस्रो खण्डमा रिडीबाट हर्मीचौरसम्मको सडक पर्छ । रिडीबाट हर्मीचौरसम्म १७ किमी सडक कालोपत्रका लागि ठेक्का भइसकेको छ । हर्मीचौरबाट मालढुङ्गासम्म ४९ किमी सडकमा नेपाली सेनाले विस्तारको काम गरिरहको छ । यो खण्डका केही भाग गुल्मी र केही बाग्लुङ जिल्लामा पर्छ । उहाँले भन्नुभयो, “सेनाले हस्तान्तरण गरेपछि यो खण्डमा पनि कालोपत्रका लागि प्रक्रिया अघि बढाइनेछ ।”

मालढुङ्गाबाट कोरोलासम्म नै सडक कालोपत्रका लागि ठेक्का सम्झौता भइसकको छ । मालढुङ्गाबाट बेनी र बेनीबाट जोमसोमसम्म सडक कालोपत्र गर्ने आयोजनाले जनाएको छ । मालढुङ्गाबाट बेनीसम्म १३ किमी ठेक्का प्रक्रिया अघि बढाइएको प्रमुख नेपालले जानकारी दिनुभयो । सो खण्डमा कालोपत्रका लागि सूचना निकाली सकेर ठेक्का मूल्याङ्कनको क्रममा छ । एक÷दुई महिनामै सडक कालोपत्रको काम अघि बढ्ने उहाँको भनाइ छ ।