दिवा खाजा कार्यक्रम पछि विद्यार्थीको नियमितरुपमा उपस्थिति

दिवा खाजा कार्यक्रम पछि विद्यार्थीको नियमितरुपमा उपस्थिति

लोकसंवाद संवाददाता  |  शिक्षा  |  माघ १६, २०७७

पाल्पा । जिल्लाको रम्भा गाउँपालिकामा कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सो कार्यक्रम सञ्चालनमा ल्याएपछि विद्यार्थी नियमितरुपमा कक्षा कोठामा उपस्थिति हुन थालेको विद्यालयले जनाएको छ । 

रम्भा गाउँपालिका शिक्षा शाखा संयोजक काशीराम बस्यालले कक्षा ५ सम्ममा सञ्चालित दिवा खाजा कार्यक्रम यस आर्थिक वर्षदेखि कक्षा ८ सम्मका बालबालिकालाई पनि प्रदान गरिएको बताउनुभयो । सङ्घीय सरकारको सहयोगमा कक्षा पाँचसम्म सञ्चालनमा रहेको यो कार्यक्रम गाउँपालिकाको लगानीमा कक्षा ८ सम्म सञ्चालनमा आएको संयोजक बस्यालले बताउनुभयो ।

खाजा कार्यक्रमपछि दिनभर घरमा बस्ने बालबालिका नियमितरुपमा उपस्थिति हुने र कक्षा छाडने दर न्यून भएको बस्यालको दाबी छ । कक्षा पाँचसम्मका लागि रु २० लाख र कक्षा ६ देखि ८ सम्मलाई रु १० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो । 

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकासँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालन गरी सबै बालबालिकालाई विद्यालयमा नियमित गराउन थालेको छ । तिनाउ गाउँपालिकास्तरीय शिक्षा समितिका सदस्य चक्रब्यूह थापाले दिवा खाजा कार्यक्रमले विद्यार्थी सङ्ख्या बढेको बताउनुभयो ।

शिक्षक र विद्यार्थीबीचको सम्बन्ध सुमधुर हुँदा शिक्षण सिकाइ प्रक्रियासमेत प्रभावकारी बनेको सदस्य थापाको भनाइ छ । स्थानीयस्तरमा उत्पादित पोषणयुक्त खाजा खाने विद्यार्थीमा स्वास्थ्यका दृष्टिकोण फाइदाजनक रहेको छ । रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गस्थित कालिका माविका प्रधानाध्यापक जर्नादन पोखरेलले दिवा खाजाले बालबालिकामा अल्छीपन नहुने हुदाँ शिक्षण सिकाइ प्रक्रियामा उत्साहका साथ सक्रियता रहने बताउनुभयो ।

पोषणयुक्त आहाराका कारण शारीरिकरुपमा समेत स्वच्छ रहन्छन् । निजी र सरकारी स्कूलबीचको समानता रहेका प्रअ पोखरेलको दाबी छ । दिवा खाजा कार्यक्रम सञ्चालनपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या उत्साहजनक रहेको छ । शिक्षा समिति सदस्य थापाका अनुसार प्रावि तहका बालबालिकाभन्दा बालशिक्षामा दिवा खाजापछि विद्यार्थीको आकर्षण बढ्दो रहेको छ । कोरोना सङ्क्रमणपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दा व्यवस्थापनमा समस्या देखिएको छ