अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ

अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १६, २०७७

सर्लाही । सर्लाहीको धनकौलमान रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई यहाँ ल्याइएको छ । उनलाई प्रहरीले बुधबार साँझ काठमाडाँै त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो ।  सञ्चालक अग्रवाललाई आज सर्लाही ल्याइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

उहाँले जिल्ला प्रहरी कार्यालयमा अग्रवालका विरुद्धमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि जिल्ला ल्याइएको   जानकारी दिनुभयो । उहाँका अनुसार सर्लाही प्रहरीको पत्रचारकै आधारमा अग्रवाललाई काठमाडौँमा पक्राउ गरिएको थियो । अग्रवालविरुद्ध  १७ करोड माग दाबी गर्दै उखु उत्पादक किसानले जाहेरी दिएका थिए । सोमध्ये उनले  १२ करोड ६३ लाख ७२ हजार १९८ तिरिसकेको बताइएको छ । “अग्रवाल पक्राउ परेको खबर पाएपछि थप किसानको पनि जाहेरी आउनसक्छ”, प्रहरी उपरीक्षक राठौरले भन्नुभयो   “काठमाडौँमा पक्राउ परेका अग्रवाललाई सर्लाही ल्याइएको छ ।”  

उखुको भुक्तानी नपाएपछि किसानले काठमाडौँसम्म पुगेर आन्दोलनसमेत गरेका थिए । यसपछि गृहमन्त्रालयले चिनी उद्योगका सञ्चालकलाई पक्राउ गरेर भए पनि  किसानका रकम प्रदान गर्ने   प्रक्रिया शुरुआत भएको  थियो ।