युयुत्सु आरडी शर्मा : भिमफेदीले दिएको कवित्व र हिमालले निखारेका 'हिमाली कवि' !

युयुत्सु आरडी शर्मा : भिमफेदीले दिएको कवित्व र  हिमालले निखारेका 'हिमाली कवि' !

आशिष पौडेल  |  अन्तर्मन्थन  |  माघ १७, २०७७

जन्मले मात्र केही हुँदैन र कर्मलाई केहीले रोक्न सक्दैन, यो भनाई भारतको पन्जाबमा जन्मनु भएका तथा मातृभाषा नेपाली नभएपनि नेपाल र नेपाली साहित्यलाई विश्व बजारमा चिनाउन महत्वपूर्ण योगदान गर्नुभएका कवि तथा अनुवादक युयुत्सु आरडी शर्माका सन्र्दभमा भन्न सकिन्छ । एउटा सर्जकका लागि भाषा तथा सीमा कहिले पनि  वाधक बन्न सक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण समेत हो उहाँ । 

यो आलेख मूलतः उहाँ कसरी नेपाल प्रवेश गर्नुभयो र नेपालका डाँडापाखा तथा हिमालले उहाँभित्र रहेको कवि व्यक्तित्व कसरी उजागर गर्नमा मद्दत गर्‍यो अर्थात्  हालसम्म भएका उहाँको जीवनको आरोह अवरोहमा केन्द्रित छ ।   

पारिवारिक अवस्था 

उहाँको बुवा पहाडी । हिमाञ्चल प्रदेशको । आमा भने पञ्जाबी  । बुवा हिमञ्चलको भाखडानन्दल ड्याममा काम गर्नुहुन्थ्यो । उहाँका अनुसार त्यो ड्याम भारतको पहिलो तथा अहिलेसम्मकै विशाल ड्याम पनि हो । 

उहाँको आमाको तीन दिदी बहिनी । छोरा थिएनन् । त्यसकारण उहाँको हजुरबाले उहाँलाई छोरा जस्तै गरी पालनपोषण गर्नुभयो । उहाँको हजुरबा अर्थात मास्टर धेरुराम ।  हजुरबाले त्यसबेला लाहोरबाट ब्रिटिशहरुसँगै पढेर एफए गर्नुभएको थियो । एफए भनेको अहिलेको अवस्थामा बुझ्दा आइए जस्तै रहेछ । जो बिए भन्दा अगाडिको पढाई रहेछ ।  अनि उहाँले आफ्नो इलाकाको स्कुलमा पढाउन थाल्नुभयो । र, उहाँ त्यो क्षेत्रमा प्रसिद्ध शिक्षकको रुपमा समेत परिचित हुनुहुन्थ्यो । 

तर, उहाँको बुवाको भने एकदमै फरक क्षेत्रको । इन्जिनियरिङ, वर्कशप, ड्याम आदि । हजुरबा भने बौद्धिक । हजुरबाको सङ्गतमा उहाँको बाल्यकाल बितेको हुनाले उहाँमा पनि त्यो प्रभाव पर्‍यो । हजुरबाले कविता, ब्रिटिश कवि तथा यस्तै यस्तै कुरा गर्ने हुनाले उहाँको सानैदेखिको रुचि नै कविता तथा साहित्य आदि जस्ता स्रृजनात्मक काममा रहयो । हजुरबाको सानिध्य उहाँलाई केवल आठ वर्षसम्म मात्र प्राप्त रहयो । यो बिचमा उहाँ बुवाकोमा पनि आउजाउ गर्नुहुन्थ्यो । 

उहाँको बुवा भने पछि धार्मिक प्रवृत्तिको हुनुभयो । समय मिल्यो कि नागा साधुहरुकोमा जाने । एकदिन गुरुपूर्णिमाको दिन बुवाले उहाँलाई एकजना ठूलो जटावाल गुरुकोमा लिएर जानुभो । अनि मेरा दुईवटा छोरामध्ये यो जेठो हो । यसलाई ठूलो साधु बनाउनु पर्‍यो । त्यसैले यसलाई तपाईँकोमा समपर्ण गर्न ल्याएको भन्नु भएछ । 

ती साधुले चिलिम तान्दै पाँच मिनेटसम्म खोके ! अनि उहाँतिर हेर्दै यसका बारेमा मैले पहिले पनि सुनिसकेको छु, यसलाई रामायण सबै कण्ठस्थ आउँछ । त्यसकारण यसलाई साधु होइन स्कुल पठाइदिनुस । शायद ! साधुले यसो नभनेका भए तपाईँ र मेरो भेट पनि हुने थिएन होला उहाँले गम्भिर हुँदै ठट्टा गर्न पनि भ्याउनु भयो  । 

एकदिन उहाँको हजुरबाले उहाँलाई गाउँमा कुलदेवताको पूजा गर्ने ठाउँमा लिएर जानु भएछ । त्यहाँ नागदेवताको पूजा हुन्थ्यो । उहाँ पूजा भएको ठाउँमा बस्नुभयो । अरुहरु पनि बसेर काम्दै थिए । उहाँलाई पनि अचानक काम्न आयो । अनि नाग जस्तै गरेर काम्न थाल्नुभयो । 

त्यसदिनदेखि उहाँलाई देउता आयो भनेर गाउँमा मान्न थाले । अनि कसैको गाइवस्तु हराएको, सुन हराएको बारेमा आएर सोध्न थाले । उहाँले पनि त्यसै भनिदिन थाले पनि गाउँलेले मिल्यो भन्न थाले । तर, उहाँलाई भने यसले अप्ठेरो महशुश भइरहेको थियो । पछि बुवाको देहान्त पछि उहाँले यसलाई नियन्त्रण गर्नुभयो । र, पछि त्यो हरायो पनि । 

जन्म र बाल्यकाल 

उहाँको जन्म पञ्जाबको नकोदर गाउँमा भएको हो । सन् १९६० मा । उहाँ शिख होइन । खेतीपाती गर्नुभएन् । नकोदर भनेको नयाँ ढोका । यसको कारण रहेछ, मध्य एशिया, इरान, इराकबाट प्रवेश गर्ने नाका भएका कारण यसलाई नकोदर भनिएको रहेछ । उहाँ हाल यसै नामबाट एउटा साहित्यीक पत्रिका निकाल्ने सोचमा समेत हुनुहुँदो रहेछ । 

अलेकजेण्डर पनि पंजाबसम्म आएका रहेछन, उहाँ भन्नुहुन्छ । नकाेदर पंजाबकै एउटा गाउँ । नकोदर गाउँको वरपर अन्य थुप्रै गाउँ थिए । अनि ती सबैको बजार भनेको नकोदर नै थियो ।  उहाँको बाल्यकाल पनि अरुको जस्तै डण्डी बियो, कपर्दी, गुच्चा, कुस्ती आदि खेलेर बितेको हो । उहाँ सानै हुँदा पन्जाबका मानिस वैदेशिक राजगारीमा जाने चलन चलिसकेको थियो । बेलायत, क्यानडा, अमेरिका जान्थे प्रायः मानिसहरु । अनि तिनका घर पनि ठूला ठूला हुन्थे । ती घरमा मानिस कोही नहुँदा केटाकेटीको खेल्ने ठाउँ बन्थ्यो । 

यहाँ छोरी दिन गाह्रो भएको कविलाइ पैसा, मान, सम्मान र इज्जत सबै । त्यो देखेर उहाँको श्रीमती पनि छक्क पर्नुभयो । यहाँ कविको इज्जत नै छैन । मानमर्दन र हेला होचो गर्न पाए रमाउँछन नेपालमा कविलाई, उहाँको आक्रोश निस्कियो । 

उहाँहरु ती ठूला रित्ता घरमा गएर एक, दुई गरेर धर्को तान्नुहुन्थ्यो । अनि अर्को साथीले भने त्यो धर्को पत्ता लगाउनु पर्थ्याे । एकप्रकारले भन्नुपर्दा लुकामारी भनेजस्तै, उहाँ भन्नुहुन्छ । 

प्रारम्भिक शिक्षा

उहाँ आफ्नो प्रारम्भिक शिक्षा रामायण, महाभारत आदि पढ्दै हजुरबा,आमाबाट प्रारम्भ भएको मान्नुहुन्छ । तर पनि आधिकारिक स्कुले शिक्षा भने रामगढियामा भएको हो उहाँको । जसलाई गुरुद्वाराले चलाउँथ्यो । 

शायद ! त्यसैले होला स्कुलको भवन पनि राम्रो थियो । बस्ने डेस्क बेञ्च पनि राम्रा थिए । उहाँ हेडसरको नाति । पढाई पनि राम्रो । त्यसैले फर्स्ट बेञ्चमै बस्नुहुन्थ्यो । कक्षामा बीस, पच्चीस जना जति थिए । केटीहरु चारपाँच जना थिए होलान उहाँ भन्नुहुन्छ । 

शिखहरु धेरै थिए । उनीहरुको जीउडाल पनि अलि भयङ्कर हुने हुँदा अलि उच्छृंखल पनि थिए । उनीहरु उहाँलाई उ बाहुन आयो भनेर जिस्क्याउँथे । उहाँको नाम नै पण्डित थियो । अनि कुस्ती खेल्दा पनि मासु नखाएर दाल खाने बाहुनले खेल्न सक्दैन भनेर भन्थे  रे !   त्यो बेला एउटा फिल्म आएको थियो मनोज कुमारको । पण्डितजी ‘मेरे मर्ने के बाद’ । त्यसमा पण्डितको खिल्ली उडाइएको थियो । त्यसले पनि उहाँलाई निकै उडाए साथीहरुले । 

सातकक्षा पछि उहाँसँगैको डिएभी स्कुलमा पढ्नुभयो दश कक्षासम्म । स्कुल करिब तीन किमि टाढा थियो । हिँडेर जानुपर्ने । गर्मी एकदमै । अनि उहाँ स्कुलबाट फर्कने बेला भने हरमंगत सिंह भन्ने साथीकोमा खाना खाएर चारबजे तिर फर्कनु हुन्थ्यो । 

उहाँले सन् १९७५ तिर एसएलसी दिनुभएको हो । त्यसपछि उहाँ डिएभि कलेजमा पढ्न थाल्नुभयो । कलेजको हेड क्लर्क उहाँकै गाउँमा बस्थ्यो । आमाले उसलाई छुट मिलाइदिन भन्नु भएको रहेछ । उसले आधा शुल्क मिनाहा गरिदियो प्रिन्सिपललाई भनेर, उहाँ भन्नुहुन्छ ।  उहाँ स्कुल पढ्दा भने एकदमै राम्रो विद्यार्थी । कलेज पढ्दा पनि नराम्रो भने होइन । तर, स्कुल जस्तो अलि भएन उहाँ भन्नुहुन्छ । 

गाउँमा कसैलाई उदाहरण दिनुपर्‍यो भने मेरै उदाहरण दिने गर्थे, उहाँ भन्नुहुन्छ । उहाँ एकदमै पढन्ते टाइपको मान्छे । उहाँ बिहान कलेज जानुहुन्थ्यो । अनि फर्केर आएर खाना खाएपछि घर पछाडिको धान, गहुँको हरियो खेतमा गएर पढ्नुहुन्थ्यो । 

एकपटकको कुरा हो, उहाँ बिहानै खेत तिर मर्निङ वाक गर्न निस्कनु भएको थियो । उताबाट एकजना सरदारजी र उनको बडेमानको कुकुर आइरहेको थियो । उहाँलाई एक्कासी खेतमा लडेको थाहा छ । तर भएको के रहेछ भने कुकुरले उहाँको नाडीको मासुको चोक्टा नै लुछेछ । 

त्यसपछि उहाँलाई चौधवटा सुई लगाइयो । उहाँलाई टाइफाइड पनि भयो । अनि त्यसबेलादेखि भने उहाँ अर्न्तमूखी स्वभावको हुनु भयो । अहिले पनि उहाँलाई त्यो घटनाले सताउँदो रहेछ ।  कसैले उहाँलाई बोलायो भने उहाँको पहिलो प्रश्न हुने गर्छ, कुकुर त छैन ? छ भने त म आउँदिन उहाँ विगतमा फर्कनुभो । 

घटना न्यूहार्म्पसायरको हो । उहाँलाई कविका रुपमा कसैले बोलाएर जानु भएको थियो । उहाँले कुकुरका बारेमा सोध्न बिर्सनु भएछ । पछि फर्कने बेलामा सोध्नुभो कुकुर त छैन ? ती मान्छेले जवाफ दिए–मेरो त काम नै कुकुरलाई तालिम दिने हो । यहाँ त असीवटा कुकुर छन् । त्यसपछि उनले होटल बुक गराइदिए र उहाँ होटल गएर बस्नुभयो ।

बेरिङ युनियन क्रिस्चियन कलेज  

उक्त कलेज अमेरिकन क्रिस्चियन मिशिनरीजले चलाएको थियो । उहाँको गाउँमा त्यसबेला एकजना भर्खर बेरिङ कलेजबाट एमए गरेर आएको थियो । उहाँ हुनुहुन्थ्यो प्रो.डा.पर्ल लाभ । लाभसँग उहाँको साहित्य र अन्य पढाइको कुरा हुन्थ्यो । अनि उहाँलाई लाग्यो केटो ठिक छ । 

त्यसपछि उहाँलाई लाभले बेरिङ कलेजका लागि सिफारिश गरिदिनुभो । तर, आमा भने नजिकैको जालन्धरमा पढ्छ भन्दै हुनुहुन्थ्यो । उता भए होस्टलमा बस्नु पर्थ्यो । यता भए बिहान गएपछि घर आउन पाइन्थ्यो । 

तर लाभले यो केटो राम्रो पढ्ने मान्छे हो, उतै पढ्छ । त्यहाँ पढाउने एकजना उहाँको साथी पनि हुनुहुँदो रहेछ । अनि उहाँले लिखित र अन्तरवार्ता दुवै दिनु भयो । अनि छनौट भएर दुईवर्ष अंग्रेजी एमए पढेर पास हुनुभो । उहाँले अंग्रेज अर्थात् गोरो मान्छे देखेको त्यो नै पहिलो पटक थियो । सबै सेतो भएको यस्तो गोरो मान्छे पनि हुँदो रहेछ भनेर उहाँलाई अचम्म पनि लागेको थियो त्यसबेला । 

अनि उहाँ कलेजमा जाँदा एउटा दरी र सिरानी बोकेर बसबाट जाँदै हुनुहुन्थ्यो । बसबाट ओर्लेपछि एकजना मान्छे साइकलम आइरहेको थियो, उ पनि गोरे नै । उसले लगेर होस्टेल देखाइदियो । अनि उसले प्राय सबै विद्यार्थीको फी पनि लगेर तिरिदिने काम गर्थ्यो । 

उहाँले आफैं कहिले पनि फी तिर्नुपरेन । फी उसलाई लगेर दिएपछि काम खत्तम । किताब पनि त्यस्तै आवश्यक किताब उसले ल्याइदिने काम गर्थ्यो  । क्रिस्चियन भएपनि धार्मिक प्रवृतिको भएको कारण त्यस्तो भएको हुनसक्छ, उहाँ भन्नुहुन्छ । 

उहाँले एमए गरेको एकवर्ष पछि खालिस्तानको आन्दाेलन शुरु भयो । त्यसपछि त्यो कलेज नै त्यहाँबाट गयो । शायद ! एकवर्ष ढिलो भएको भए म त्यहाँ पढ्न पाउँदैन थिएँ होला । अनि यो आजको युयुत्सु आरडी शर्मा हुने थिएन होला उहाँ कल्पनाको सागरमा डुब्नु भयो । 

एमफिल र नेपाल सम्बन्ध

एमए सकाएपछि उहाँ एमफिल गर्न राजस्थान जानुभयो । एमफिल सकाएपछि उहाँले पन्जाब युनिभर्सिटीमा जागिर पाउनु भयो ।  उहाँले पञ्जाब युनिभर्सिटिमा करिब दुई वर्ष काम पनि गर्नुभयो । सन् १९८२ देखि ८४ सम्म । त्यो उहाँको स्थायी नै जागिर थियो । तलब त्यस्तै सत्रसय जति भारु होला, उहाँ भन्नुहुन्छ । त्यो नै उहाँको पहिलो तलब तथा कमाइ थियो । त्यसबेला सय नेपाली बराबर एकसय पैंतालिस भारु थियो । 

त्यो पहिलो तलब उहाँ आफूले गुरु मान्ने हजुरबालाई दिन चाहनुहुन्थ्यो । तर त्यो उहाँको इच्छा पुरा भएन । कारण हजुरबा बितिसक्नु भएको थियो । पहिलो तलब उहाँले हजुरआमालाई दिनुभयो । 

उहाँले एमफिल गर्दै गरेको राजस्थानमा त्यसबेला नेपालका गुणनिधि शर्मा पनि पिएचडी गर्दै हुनुहुन्थ्यो । अनि उहाँले थेसिस बुझाउने क्रममा शर्मालाई आफूले पञ्जाब युनिभर्सिटीमा काम पाएको बताउनु भयो । 

तर त्यो बेला खालिस्तान आन्दाेलनले एकदमै गति लिइरहेको थियो । अनि शर्माले उहाँले नेपालमा एकदमै राम्रो पनि छ । र, तपाईँ जस्तो मान्छे नेपाललाई चाहिन्छ पनि । त्यसैले एउटा चिठी लेखिदिन्छु भनेर उहाँले डिन अफिसलाई चिठी पनि लेखिदिनु भयो ।

त्यसबेला डिन अफिसमा महेश कुमार उपाध्याय र जीवनदेव गिरी हुनुहुन्थ्यो । अनि डिन अफिसबाट उहाँलाई चिठी पनि आयो । उप–प्राध्यापकको नियुक्ति सहितको । काम भोजपुरमा । साथमा तलब पनि तोकिएरै । चौधसय पचास । 

त्यसबेलासम्म उहाँलाई नेपाल भन्ने देशका बारेमा केही पनि थाहा थिएन । नेपाल भन्ने कहाँ हो ? के हो ? पछि उहाँले साथीहरुसँग नेपालको बारेमा सोध्नु पनि भयो । उनीहरुले नेपाल एकदम राम्रो छ भन्ने जवाफ दिए । नभएपनि एकपटक नेपाल गएर घुमेर हेरेर आउँदा पनि के फरक भो र ! त्यसमाथि यहाँ खालिस्तानको युद्ध शुरु भएको छ के बस्छस भनेर साथीहरुले पनि भनेका नै थिए । 

नेपाल यात्रा 

नेपाल त जाने ! तर कहाँबाट ? कसरी जाने ? उहाँलाई केही जानकारी थिएन । उहाँ आइएसबिटी बस स्टैण्ड जानुभो । र, डिन अफिस किर्तिपुरको चिठी देखाउँदै आफूलाई नेपाल जानुपर्ने बताउनुभयो । तर गाडीवालाले स्पष्ट बताउन सकेन । 

अर्कोलाई सोध्नुभो–नेपालगञ्जसम्म जाने बतायो । अनि एकजना मंगोल अनुहारको नेपालीलाई सोध्नुभो । उसले हिन्दी बुझेन । अनि अर्को बसको कण्डक्टरले लखनउ तथा गोरखपुर जान भन्यो ।

बसमा चढेपछि एकजना नेपाली अनुहार लाग्ने मान्छेलाई उहाँले सोध्नुभो– ‘मलाई नेपाल जानु छ कसरी जाने ?’ उसले आफू काठमाडौं जाने र पुर्‍याइदिने बतायो । उक्त मानिस कृषि अनुसन्धान परिषदको कर्मचारी रहेछ । पछि उहाँहरुसँगै रात्रि बसमा आएर सुन्धारा झर्नुभयो । सुन्धारा झर्दा नेपाल भनेको हिमालयको देश भन्ने सुनेको हिमाल अनि हिउँ होला भनेको त त्यस्तो केही देख्नुभएन । तरपनि उहाँलाइ काठमाडौं सफा लाग्यो रे ! त्यसबेला ।

अनि पञ्जाबमा महिलाले कहिले होटल चलाएको नदेखेको मान्छे महिलाले चलाएको होटलमा गएर चिया पिउनु भो । अनि उनै मित्रको कालिकास्थान डेरामा केही समय आराम गरेर अर्को एकदिन काठमाडौं घुमेर जानु भो किर्तिपुर । किर्तिपुरको डिन अफिसमा उहाँले चौधसय पचास रुपैयाँ थोरै भयो । अनि भोजपुर टाढा पनि भएकोले काम नगर्ने भनेर अंग्रेजीमा कुरा गर्दै हुनुहुन्थ्यो । 

नजिकै एकजना भलादमी देखिने मान्छेले उहाँको कुरा सुन्दै थिए । पछि अर्को मान्छेसँग नेपालीमा के कुरा भयो थाहा छैन । अनि पछि ती अर्को मान्छेले उहाँ हेमन्त राणा हुनुहुन्छ । आर्मी स्कुलको प्रिन्सिपल भनेर परिचय गराए । उहाँलाई तपाईँको अंग्रेजी राम्रो लाग्यो रे ! अनि तपाईँजस्तै एउटा शिक्षक चाहिएको छ भन्ने कुरो चल्यो । 

उहाँले त्यति टाढा नजाने भनेपछि राणाले भिमफेदी त नजिकै छ । तलब चौधसय पचास । अनि भत्ता चारसय । साथै बस्न खान क्वार्टर भनेपछि उहाँले हिसाब गर्नुभयो र भिमफेदी जानका लागि तयार हुनुभयो । अनि रात्री बस चढेर पुग्नुभो हेटौंडा । ‘बाइरोडको बाटोमा धुलो उडाउँदै’ ।

अनि हेटौंडा पुगेपछि अब फेरी भिमफेदी के मा जाने ? भनेर सोध्दा एउटाले ट्रक देखाइदियो । फोहोर धुलो ट्रक कसरी चढ्ने ? भन्ने लाग्दै थियो । उहाँले नियुक्ति पत्र देखाएपछि आर्मी स्कुलको सर हुनुहुँदो रहेछ भनेर ट्रकको अगाडि सिटबाट उहाँको भिमफेदी यात्रा शुरु भयो । 

कवि व्यक्तित्व 

पहाडको घुम्ती सडक, खोला कलकल बगिरहेको अनि हरिया पहाड यसले उहाँको कवि मनमा यसरी डेरा जमायो कि यो उहाँको कवि व्यक्तित्व निर्माणको एउटा ‘टर्निङ प्वाइन्ट’ नै बन्यो । 

उहाँलाई लाग्यो उहाँले साहित्यको किताबमा पढेको स्वर्ग यही हो । अनि कालिदासदेखि सेक्सपियर अनि मालगुड्डी तथा रदरफोर्डसम्मले वर्णन गरेको प्रकृति यही नै हो । उहाँलाई लाग्यो साहित्यको क्रान्ति अब यही भिमफेदीबाट शुरु हुनेवाला छ । 

कलेजले उहाँलाइ लिन एउटा जिप पठायो । क्वार्टर देखायो, गाउँ घुमायो । अब यति सबै भैसकेपछि एउटा लोभी कवि मनलाई के नै चाहियो र ! उहाँ भन्नुहुन्छ । 

उहाँको कवि व्यक्तित्वको प्रस्फुटन गरेकै भिमफेदीले हो भन्नुहुन्छ उहाँ । त्यहाँको प्राकृतिक सौन्दर्य, ऋतु परिवर्तन, कहिले झमझम पानी परिरहेको छ, पहिरो गएको छ, जाडोमा चिसो स्याँठ, बादल नै आफैंतिर आइरहेजस्तो लाग्ने आकाश ।

अनि रातमा ताराहरुले भरिएको आकाश, बसन्तमा फूलहरु फुलेका अनि गाउँमा जाँदा मानिसहरु अँगेनामा आगो बालेर पकाउँदै गरेको दृष्य, चियाको पनि स्वाद बेग्लै ।

प्रकृतिको यति सुगन्धित स्वाद उहाँले कहिले पनि लिन पाउनु भएकै थिएन । उहाँ प्रकृतिको यति नजिक कहिल्यै हुनुभएकै थिएन । किनकि पन्जाबमा यस्तो थिएन । सँधै एउटै लाग्ने दृष्य मात्र हुन्थे, उहाँ भन्नुहुन्छ । 

उहाँ बिहान बिहान लोकल चिया पसलमा चिया तथा जेरी खाँदै लेख्नुहुन्थ्यो । पहाडबाट भारी बोकेर झर्दै गरेका महिला, तिनले बोकेको आफूभन्दा ठूलो भारी, अनि हत्केलाको बिचमा लुकाउँदै गरेको धुम्रपान, मानौं भगवानले तारा लुकाएर ल्याउनु भएको छ । कति मेहनती र इमान्दार मान्छे, उहाँलाई यहाँको के कुराले मात्र छोएन होला र ? 

उहाँको बुवाले आफ्नो गाउँ कहिल्यै देखाउनु भएन । कारण थियो आमा अलि सम्पन्न । अनि अर्को कारण छोराहरुले पढेर राम्रो गर्नुपर्छ भन्ने धारणा । भलै उहाँको गाउँ पनि राम्रो थियो । 

राजेश खन्नाको फिल्म ‘झिलके उसपार’मा देखाइएको हिमाञ्चलको त्यो गाउँ नै उहाँको बावुको गाउँ हो । बुवा बितेपछि भने उहाँ त्यहाँ जानुभो । शायद ! यो नदेखेको गाउँ पहाडको अलि बढी नै तिर्सनाका कारण पनि उहाँलाई भिमफेदीले यति तानेको हुनुपर्छ, उहाँ भन्नुहुन्छ । 

उहाँको कविताको मूल फुटेको पनि यहीं भिमफेदीमै हो । अनि नेपाली सिकेको पनि यहीं । पछि उहाँले देवकोटा तथा रिमालका कविता अनुवाद गर्न थाल्नुभयो । अनि कुनै शब्द आएन भने सोध्ने र सिक्ने भनेकै यहाँका स्थानीय हुन् । जसलाई केही लेख्न आउँदैन उनीहरुलाई नै उहाँ आफ्नो नेपाली भाषाका गुरु मान्नुहुन्छ ।

तर, दुखद कुरो भिमफेदीबाट छुट्टीमा काठमाडौं आउँदै गर्दा ट्रक दुर्घटनामा कलेजको एकजना छात्रको निधन भयो । त्यसपछि आर्मीले कलेज त्यहाँ नराख्ने निर्णय गर्याे । अनि उहाँको कवि व्यक्तित्वको पनि भिमफेदीसँगको नाता टुट्यो । 

पछि कलेज भक्तपुरको सल्लाघारीमा सर्‍यो । त्यहाँ पनि उहाँले दुईवर्ष पढाउनु भयो । पछि त्रिचन्द्र, पाटन लगायत अन्य कलेज पनि पढाउनु भयो । तर सँधै यसरी पढाएर मात्र के बस्ने केही नयाँ गर्नुपर्छ भन्ने सोचले उहाँको कवि व्यक्तित्वमा फेरी अर्को ‘मोड’ आयो । 

विवाह

उहाँको आफ्नै विद्यार्थी होइन अद्र्धाङ्गिनी । उहाँ त्रिचन्द्रको प्रोफेसर । कहिले कहिले पार्ट टाइम क्लास लिन पाटन जानुहुन्थ्यो । उहाँको साथीको विद्यार्थी हो उहाँ । देखभेट चिनाजान भयो । पछि यसलाई विस्तारित रुप दिन बिहेको कुरो चल्यो । अब उहाँ कुपण्डोलको रैथाने । कहाँ पञ्जाबको शर्मा । कुरो मिलेन । 

पछि उहाँले बिहे गर्ने भनेको कुरो मिलेन भनेर कवि शैलेन्द्र साकारलाई भन्नुभयो । साकारले यो कुरा लेखक जगदिश शमशेर राणालाई भन्दा मिल्न सक्ने बताउनु भयो ।उहाँको हजुरबा राणाहरुको एडिसी हुनुहुँदो रहेछ । पछि जगदिश राणाले आएर उहाँको बुवालाई सम्झाउनु भयो । यति ठूलो लेखक कविलाई नि हुँदैन भन्ने भनेर । त्यसपछि आजसम्म केही भन्नु परेको छैन भनेर उहाँले रमाइलो ठट्टा समेत गर्नुभयो । 

उहाँको एक छोरा तथा एक छोरी । छोरी आयरल्याण्डमा पत्रकारिता गर्दै हुनुहुन्छ । ‘रेडियो बेविलोन’को प्रस्तोता समेत हुनुहुन्छ ।  छोरा भने भर्खरै इण्डियाबाट बिबिए सकेर उच्च शिक्षाको लागि अवसर खोज्दै हुनुहुन्छ ।

प्राध्यापन पछि 

प्राध्यापनले एक किसिमको वैराग्य उत्पन्न गरेपछि अब उहाँ के गर्ने भन्ने सोचमा हुनुहुन्थ्यो । यत्तिकैमा ससुरालीमा पसल कवल खाली भएको हुनाले पसल राख्ने प्रस्ताव आयो । 
अब के पसल राख्ने कहिले नगरेको काम । अप्ठेरो पनि लाग्दै थियो । त्यसो भए किताब पसल राखौं न त भन्ने कुरो भयो । त्यसले राम्रो प्रतिक्रिया पनि प्राप्त भयो । कारण साहित्यकारहरुको राम्रो जमघट हुन थाल्यो ।

पछि उहाँ यसै सिलसिलामा पोखरा तिर जानुभो । दिल्लीकाे निराला पब्लिकेसन्सकाे प्रमाेशनकाे लागि । अनि त्यहींको एकजना केटाले तपाईँ कवि मान्छे अन्नपूर्ण घुम्न जानुस न भने । अब पहाडमा कहाँ हिंड्न सकिएला र भन्नुभो उहाँले ।

बाटोघाटो राम्रो छ, जान अप्ठेरो छैन भनेपछि उहाँलाई पनि हेरौं भन्ने लाग्यो । पछि यो यति सम्मको आदत भयो कि कवि विमल निभाले हामीलाई पनि पोखराको एउटा हिमाल त बाँकी राख्दिनुस भनेर जिस्क्याउनु समेत भयो । यो क्रम झण्डै दश पन्ध्र वर्ष चल्यो । एकपटक साझा बसमा कवि तथा साहित्यकार सरुभक्त भेट भयो । उहाँले  हामी यहींकाे भएर पनि  लेखनमा अन्नपूर्णका बारेमा तपाईँले जस्ताे दृष्टि पुर्याउन सकेका छैनाैं । हामी त केही देख्दैनौं तपाईँ के भेट्नुहुन्छ हो यहाँ ? 

भिमफेदीले दिएको कवित्व र प्रकृतिको झिल्कोले यहाँ पोखरामा भने मुस्लो बन्ने अवसर पायो उहाँ भन्नुहुन्छ । उहाँले यही हिमालको सेरोफेरोमा एउटा क्लासिकल कविको छवि समेत बनाउनु भयो । एनिएड्रा, होमोर्ड जस्तो क्लासिकल कवि ! हिमाल मन पराउने, हिमाल देख्ने अनि हिमालै लेख्ने । 

द लेक फेवा एण्ड अ हर्स, भन्ने उहाँको कृति पनि दियो हिमालले । पछि यो किताब ब्रिटिश एम्बेसडरले मन पराएर विमोचन पनि गर्नुभयो । त्यसपछि आयो अन्नपूर्ण कविता । 

विदेश भ्रमण

त्यो बेलासम्म इन्टरनेट आइसकेको थियो । अनि उहाँले पहिले एमफिलमा पढाएको गुरुसँग सम्पर्क गर्नुभयो । सम्पर्क बढ्दै गयो । त्यसपछि उहाँले दुईचार ठाउँमा कविताका लागि सिफरिश गरिदिनुभो । 

अनि रकर फेलरको निम्तो पनि आयो । एक महिना एउटा लेकको किनारमा राजा जस्तो बिताइयो, उहाँ भन्नुहुन्छ । पैसा पनि दिए । त्यसले श्रीमती पनि छक्क ! यहाँ कविको केही मान सम्मान इज्जत छैन । तर त्यहाँको त्यो व्यवहारले कवि भनेको ठूलै मान्छे पो रैछ भन्ने श्रीमतीलाई पनि लाग्यो उहाँ भन्नुहुन्छ । 

एकजना आइरिस कवि आएर साउथ एशिएन पोयट्रीमा त तपाईँको ठूलो स्थान भैसक्यो तपाईँलाई थाहा छैन भनेर उहाँलाई सोधे । अब तपाईँले त लेख्न बाँकी केही छैन भनेर अरु कविले पनि भने, उहाँ भन्नुहुन्छ । 

आफूले एउटा लहडै लहडमा लेखेको कविताले यतिसम्म तहल्का मच्चाएको उहाँलाई भने पत्तै थिएन । पछि हल्याण्ड तथा अमेरिकामा उहाँले कविता वाचन गरेको सुनेपछि मान्छे अवाक भए । 

यहाँ छोरी दिन गाह्रो भएको कविलाइ पैसा, मान, सम्मान र इज्जत सबै । त्यो देखेर उहाँको श्रीमती पनि छक्क पर्नुभयो । यहाँ कविको इज्जत नै छैन । मानमर्दन र हेला होचो गर्न पाए रमाउँछन नेपालमा कविलाई, उहाँको आक्रोश निस्कियो । 

गुनासो
उहाँले एउटा सर्जकका रुपमा गर्नुपर्ने सबै काम गर्नुभयो । कोलम लेख्नुभो, पढाउनुभो, पब्लिकेशन खोल्नुभो, किताब पसल खोल्नुभो, कविता लेख्नुभो तर, त्यसले जीवनमा आर्थिक उर्पाजनमा खासै मद्दत गरेन । घरभाडा र छोराछोरीका फी का लागि के गर्ने भन्ने सँधै चिन्ता कायम रह्यो । 

तर जब कविका रुपमा उहाँको विदेश यात्रा भयो त्यसले भने सम्मान, इज्जत र पैसा पनि राम्रै पुग्ने गरी दियो । 

उहाँको यसै विषयमा सँधै गुनासो रहन्छ हाम्रो देशमा एउटा कवि, कलाकार, पत्रकार, शिक्षक र बौद्धिक पेशाका अन्य व्यक्तित्वलाई जहिले पनि खान लाउनै हम्मे हम्मे रहन्छ । अनि उसले कसरी उत्कृष्ट स्रृजना गर्न सक्छ । शायद ! यो अवस्थाको अन्त्य भयो भने नेपालमा पनि राम्रा कवि तथा साहित्यकारका अझ उत्कृष्ट स्रृजना मुलुकले मात्र होइन अन्तराष्ट्रिय जगतले पनि प्राप्त गर्दछ । 

अर्को कुरा कविता भनेको गाली–गलौज र आक्रोश मात्र हाेइन, स्तुती गान पनि हो भन्नुहुन्छ उहाँ । शायद हिमालको स्तुती गान नगाएको भए आज पहाडी कविको रुपमा चिनिंदैनथे होला, उहाँ भन्नुहुन्छ । स्तुती भन्दैमा नराम्रो होइन भन्ने सन्देश पनि दिन चाहन्छु, उहाँ भन्नुहुन्छ । 

प्रकाशन
उहाँका नौ काव्यकृति प्रकाशित छन्, तीमध्ये केही हुन्- द सेकेन्ड बुद्ध वाकः इन्स्पायर्ड बाइ पद्मसम्भवः माष्टर अफ टाइम एक्जिबिट एट रुबिन म्युजियम, नेपाल ट्रिलोजी, मिलारेपाज बोन्स, अन्नपूर्ण पोएम्स, नाइन न्युयोर्क पोएम्स ।  उहाँले आइरिस कवि काहल ओ साकीको ‘काठमाडौ’ र हिब्य्रु कवि रोन्नी सोमेकको ‘बगदाद, फेब्रुअरी १९९१’ को नेपाली अनुवाद पनि गर्नु भएको छ । 

उहाँले समसामयिक नेपाली कविताहरुलाई अङ्ग्रेजीमा अनुवाद र सम्पादन गर्नाका साथै चर्चित नेपाली कवि शैलेन्द्र साकारसित मिलेर नेपाली कवितामा ‘कथ्यकायाकल्प’ नामक साहित्यिक आन्दोलन पनि चलाउनु भएको छ । 

उहाँको भर्खरै फ्रान्सेली भाषाको ‘पोएमे द हिमालया’ र स्पेनी भाषाको ‘पोएमा दे लो हिमालया’ (हिमालको कविता) शीर्षक दुई कृति पनि प्रकाशनमा आएका छन् ।  उहाँले थुप्रै चोटि विश्व भ्रमण मात्र गर्नु भएको छैन विश्वका विभिन्न चर्चित स्थानमा आफ्नो रचना पनि वाचन गर्नु भएको छ ।  साथै थुप्रै विदेशी विश्वविद्यालयमा क्रियटिभ राइटिङ र अनुवाद विषयमा कार्यशाला पनि सञ्चालन गर्नु भएको छ । 

साथै उहाँका लेख रचना विभिन्न विदेशी पत्रपत्रिकाका साथै ‘द हिमालयन टाइम्स’, नयाँ पत्रिका र कान्तिपुर’ दैनिक आदिमा नियमित रुपमा प्रकाशन भइरहन्छन् । 

सम्मान

रकफेलर फाउन्डेसन, आयरल्यान्ड लिटरेचर एक्सचेन्ज, ट्रयुबार फाउन्डेसन स्लोभानिया, द इन्स्टिच्युट फर द ट्रान्सलेसन अफ हिब्य्रु लिटरेचर तथा फाउन्डेसन फर द प्रोडक्सन एन्ड ट्रान्सलेसन अफ डच लिटरेचरबाट फेलोसिप र ग्रान्टहरूबाट उहाँ सम्मानित हुनुहुन्छ । 

अन्त्यमा 

मान्छे जन्मले होइन कर्मले महान हुने हो । अनि कर्म गर्नका लागि भाषा तथा सीमा कहिले पनि वाधा हुँदैनन् भन्ने कुरा उहाँको जीवनबाट लिन सकिने महत्वपूर्ण शिक्षा हो ।