पूर्वीय सभ्यतामा सलिल ज्ञवालीको बेजोड खोजी : हाम्रा लागि भिल्लका देशमा मणि !

फर्कलान् र ती दिनहरू

पूर्वीय सभ्यतामा सलिल ज्ञवालीको बेजोड खोजी : हाम्रा लागि भिल्लका देशमा मणि !

हरिविनोद अधिकारी  |  साहित्य  |  माघ १७, २०७७

मलाई किन हो थाहा छैन, पूर्वीय सभ्यताले आकर्षण गरिरहेको छ । सायद ! यहीँ जन्मेर र सुनेर मानेर आएको सभ्यता भएर पनि होला । मानव जगत् र मानव जगत् माथिको शून्यमा समेत प्राणी हुनसक्ने, वायु हुुन सक्ने र तिनले पनि जीवन भएको मृत्यु लोककै वरिपरि आफूलाई घुमाइरहने कल्पना गरिएको छ । र, पनि त्यस्तो कल्पना गरेर, त्यो कल्पनालाई मूर्तरूप दिन र त्यसको राम्रो नराम्रो परिणामको भुक्तान गर्नका लागि मानव जातिलाई नै त्यसप्रति दायित्वबोध गर्न उत्साहित गरेको हुन्छ र  मानवीय गुणहरूको विवरण तयार गरेर तिनीहरूलाई बाध्यतावश प्रयोग गर्न पुस्तौँ पुस्तादेखि निर्देशित गरिरहेको छ । 

पूर्वमा प्रचारको कमी हुन थालेको बेलामा पश्चिमी विद्वानहरू सक्रिय भएर खोजी गर्न थालेका हुन् । नेपाली मूलका भारतीय शिक्षाविद् (नेपाली नै हो उहाँ तर कानुनी रुपमा उहाँ भारतको शिक्षाविद्को रुपमा प्रख्यात हुनुहुन्छ, त्यसैले मैले माफी माग्दै विद्वान मित्र) मेरा मित्र तथा पूर्वीय मान्यता र सभ्यताका बारेमा बेजोड खोजी गर्ने सलिल ज्ञवालीजीले त्यस्ता महान् ज्ञानीहरूको (ग्रेट माइन्ड्सको) खोजी गर्नु भएको छ र तिनको पूर्वीय ज्ञान, दर्शन र सिद्धान्तको बारेमा दिएका महान् उक्तिहरूको सङ्कलन गर्नु भएको छ । 

ती मूर्धन्य पश्चिमा विशेषज्ञ, वैज्ञानिक र दार्शनिकहरूको पूर्वीय ज्ञान र क्षमताका बारेमा पूर्वले नै गणित नदिएको भए, वेद र उपनिषद नदिएको भए आजको समाजसँग विश्वलाई देखाउने कुनै ज्ञानको भण्डार हुने थिएन भनेर प्रमाणित गर्नु भएको छ ।  कति सरल भाषामा र त्यत्रो हात्तीको शरीरबाट मणि निकाले झैँ पूर्वीय सभ्यताका बारेमा मन्थन गरेर घिउ निकालेर राखिदिनु भएको छ । त्यस्तो विद्वानलाई यत्रो ठुलो समाजबाट, मानौँ प्रशान्त महासागरबाट एउटा मोती खोजेर नेपाली साहित्यमा र दर्शनको क्षेत्रमा चिनारी गराउने पनि मूर्धन्य विद्वान तथा भाषाविद् अनि नेपाली संस्करणको उत्तर आधुनिकताका प्रणेता प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले गर्नु भएको हो ।

मेरा अनन्य मित्र तथा श्रद्धेय गुरु गोविन्दराजजी र उहाँको माध्यमबाट चिनिनु भएका तर साक्षात्कार नभए पनि आध्यात्मिक तरिकाले मित्र बनाउन सफल भएको  मेरालागि एउटै अनुरोध गर्नु छ सलिलजीलाई यो खोजको बिट नमार्नका लागि पनि । उहाँको यो सङ्कलन भारतमा साँच्चै प्रख्यात र चर्चित भएको छ र कतिपय विश्वविद्यालयहरुले सन्दर्भ ग्रन्थका लागि समेत राखेको जानकारी मैले पाएको छु । यस पुस्तकलाई गोविन्द  सरले नेपालीमा अनुवाद गर्नु भयो र त हामी नेपालका अल्पज्ञानीहरुले थाहा पायौँ र पनि त्यसको महत्वलाई अहिले पनि प्रचार गर्न सकेका छैनौँ ।

मेरो अनुरोध छ सलिलजीलाई कि ती पूर्वीय सभ्यताका बारेमा तपाईँले भेटेका श्रोतहरूलाई अझ व्यापक रुपमा तयार गरेर सरल नेपाली भाषामा अनुवाद गर्न पाउँदा या तपाईँको मातृभाषा नेपाली नै भएकाले नेपालीमै लेख्नु भयो भने नेपालमा, नेपाल बाहिर र भारतमा रहेका करोडौँ नेपालीहरूका लागि एउटा ज्ञानको आधार हुने थियो र आफ्ना अतीतका पुस्ताहरूको संसारका लागि दिएको देनको बारेमा जानकारी पाउन सहजता हुने थियो ।

झट्ट सुन्दा अधर्मी जस्ता लाग्ने महान् वैज्ञानिकहरूको, दार्शनिकहरूको धारणा कति सकारात्मक थियो पूर्वीय धर्म, संस्कृति र चलनप्रति, त्यसप्रति अगाध आस्था अनि उनीहरूको पूर्वीय ज्ञान र सभ्यताको बारेमा रहेको गहिरो सम्मानलाई सलिलजीले प्रस्ट पारेर पाश्चात्य विद्वानहरूको धारणालाई मात्र सम्मान गर्ने हाम्रा स्वनामधन्य मित्रहरूलाई झकझक्याउने काम गर्नु भएको छ । उहाँका ती भनाइहरूलाई प्रसङ्गवश अरु स्मरणमा राखुँला । तर पनि सलिलजीलाई अनवरत खोजीका लागि साधुवाद दिन्छु र उहाँबाट प्रशान्तसागर रुपी संसारबाट मोती रुपी अरु ज्ञानहरूको उद्घाटन हुन सकोस् भन्ने अपेक्षा पनि गर्दछु । भनिन्छ, मानिसको केही प्रतिशत मस्तिष्कको मात्र  उपयोग हुन सकेको छ र अझ दाहिने पक्षको मस्तिष्कको त खासै प्रयोग भएकै छैन । 

म अहिले कतिपय द्विविधाजन्य अवस्थाबाट गुज्रँदै छु । यो मानवीय स्वभाव र प्रक्रिया हो । त्यो द्विविधामा म परेर पूर्वीय सभ्यताका बारेमा के लेखूँ , कहाँबाट लेखूँ भनेर बाल गङ्गाधर तिलकको गीता भाष्यको हिन्दी संस्करण पल्टाउँदै थिएँ, अचानक मेरो मेसेन्जरमा एउटा सन्देश आयो जुन कुरा फेसबुकले जानकारी दियो । यसो हेरेको त सिलोङबाट सलिल ज्ञवालीजीले सन्देश पठाउनु भएको रहेछ - पूर्वीय सभ्यताका वारेका लेखौँ न दाजु, मेरो पुस्तक पनि त्यसैमा छ । यदि दाजुलाई सजिलो हुन्छ भने त्यही मेरो सङ्कलनले मद्दत गर्ला  कि ? म त्यो, अनियमित आकस्मिकता, हाम्राबिचको आध्यात्मिक अन्तर सञ्चार( टेलिप्याथी)ले धेरै छक्क परेँ किनभने मैले केही वर्ष अघि नै पढेको पूर्वीय सभ्यता भन्ने सलिलजीको महान् विचारकहरूको पूर्वीय सभ्यताका बारेमा भनिएका धारणाहरूको सङ्कलन थियो जसलाई गोविन्द सरले नेपाली समाजमा परिचित गराउनु भएको थियो ।

मलाई त्यो सङ्कलन मेरा मित्र तथा ओरियन्टल पब्लिकेसनका मुख्य व्यवस्थापक तथा अनुसन्धाता हरि गौतमजीले दिनु भएको थियो किनभने उहाँले आफूले प्रकाशित गरेका मुख्य प्रकाशनहरू मलाई दिने गर्नुहुन्छ । उहाँ मेरो परिवारका एउटा सदस्य जस्तै पनि हो र हरिजीले पत्रकारिताका बारेमा र सहिदहरू गङ्गालालसमेतका बारेमा अनुसन्धान गरिसक्नु भएको छ र अव नेपालको शिक्षाको विकासका बारेमा पनि अनुसन्धान गर्न थाल्नु भएको देखिन्छ । हरिजीलाई अनुसन्धाताका रुपमा झापा जिल्लाको अनुसन्धान र गणेशमानजीका बारेमा गर्नुभएको अनुसन्धानले नेपाली वाङ्मयमा अमर बनाइसकेको छ र पनि उहाँ अनुसन्धानका कामहरू निःस्वार्थरुपमा गरिरहनु भएको छ । 

कस्तो अचम्मको संयोग । म जसको पुस्तक आफ्नो पुस्तकालयमा खोजिरहेको थिएँ पूर्वीय सभ्यताका बारेमा लेख्न, प्रत्यक्ष चिनजान नभएको एउटा विद्वानसँग कसरी कुरा मिल्यो होला जबकि म उहाँकै सङ्कलन खोज्दै थिएँ । 

पूर्वीय सभ्यताका बारेमा सलिलजीले गर्नुभएको अनुसन्धान निरन्तर छ । उहाँको यो सङ्कलनले विभिन्न भारतीय भाषामा त अनुवाद हुन थालेकै छ तर अब अरु जर्मन, अङ्ग्रेजी, फ्रेन्चलगायत १३ भाषामा अनुवाद हुन लागेको जानकारी पनि उहाँले नै मेसेन्जर वार्तामा दिनु भएको छ ।  मलाई अचम्म त के कुरामा लाग्यो भने यत्ति सङ्कलन गर्न उहाँलाई २४ वर्ष लाग्यो । त्यो पुस्तकको प्राक्कथन नासाका मुख्य वैज्ञानिकले लेखेको पनि लेखक ज्ञवालीले जानकारी दिनु भएको छ । 

पूर्वीय सभ्यता भनेको हिन्दु धर्म मात्र होइन, पूर्व भनेको पूर्वी गोलार्द्ध हो । उहाँको सभ्यताले संसारलाई केके दियो भन्ने कुरामा ज्ञवालीजी केन्द्रित हुनुहुन्छ । उहाँका पुस्तकका केही उदाहरणीय पृष्ठहरू उहाँकै सौजन्यमा यहाँ प्रकाशित गरिएको छ । नेपाली अनुवादका लागि र प्रकाशित कृतिका केही पृष्ठहरू प्रकाशन गर्न दिनु भएकोमा प्रकाशक हरि गौतमजी र प्रा डा. गोविन्दराज भट्टराईजीलाई धन्यवाद दिनुपर्छ । 

अन्तमा यतिचाहिँ मान्नै पर्छ कि पूर्वीय सभ्यता अहिले पश्चिमा र अन्य सभ्यताका लागि पथप्रदर्शक भएको छ तर हामी जसका व्यावहारिक रुपमा अभ्यास गरिरहेका छौँ, त्यहाँचाहिँ भिल्लका देशमा मणि बनेको देखिन्छ । क्रमशः