ओमानलाई भारतले दियो कोरोनाविरुद्धको खोप

ओमानलाई भारतले दियो कोरोनाविरुद्धको खोप

लोकसंवाद संवाददाता  |  विदेश  |  माघ १९, २०७७

एजेन्सी । भारतले खाडी मुलुक ओमानलाई कोरोनाभाइरस विरुद्धको खोप सहयोग प्रदान गरेको छ ।    

भारतले उपहारस्वरुप प्रदान गरेको एक लाख डोज खोप शनिबार ओमानको राजधानी मस्कट आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतका विदेश मन्त्री एस जयशंकरले मित्रवत सम्बन्ध विकास गर्न ओमानलाई कोरोनाविरुद्धको खोप सहयोग स्वरुप प्रदान गरेको जानकारी दिनुभयो ।

'भारतमा बनाइएको कोरोना विरुद्धको खोप ओमानलाई उपलब्ध गराइएको छ, यो दुई देशको सम्बन्ध सयौँ वर्षदेखि मित्रवत रहेको परिणामस्वरुप हो,' विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओमानसहित क्यारेबियन देश, निकारागुवालगायतलाई कोरोनाको खोप उपहारस्वरुप दिने योजना रहेको बताउनुभयो ।

अफ्रिकी मुलुकहरुलाई मात्रै झण्डै एक करोड खोप दिने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । 

भारतले साउदी अरब, दक्षिण अफ्रिका, क्यानडा, मङ्गोलियालगायतका देशलाई पनि कोरोनाको खोप दिने योजना बनाएको छ ।  

'यही जनवरी २० देखि हामीले छिमेकी देशहरुलाइ खोप सहयोग गर्न थालेका हौँ, अहिलेसम्म ५५ लाखभन्दा बढी खोप सहयोगस्वरुप प्रदान गरिएको छ,' उहाँले भन्नुभयो ।  

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोनाको खोप उत्पादन गर्ने क्षमताको हिसाबले भारत अग्रस्थानमा रहेको बताउनु भएको छ ।