नाम्खामा माइनस १४ डिग्रीमा नियमित पठनपाठन

नाम्खामा माइनस १४ डिग्रीमा नियमित पठनपाठन

लोकसंवाद संवाददाता  |  शिक्षा  |  माघ १९, २०७७

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ ।

कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ नरोकिएको छैन । नाम्खा गाउँपालिका–६ को लिमीका दुई विद्यालयमा अत्यधिक चिसोमा विद्यार्थी विद्यालय उपस्थित हुने गरेका छन् । 

विद्यालयमा घाम नलागेको दिन आगो बाल्ने व्यवस्थासमेत गरिएको छ । लिमीका सुनखानी र भृकुटी प्राथमिक विद्यालयमा निजी स्रोतका शिक्षकबाट पठनपाठन भइरहेको छ ।

हाल लिमीमा चिसो बढेसँगै तापक्रम माइनस १४ डिग्री पुगेको सुनखानी प्राविका शिक्षक कुन्जोक तामाङले बताउनुभयो । यी दुई विद्यालयमा कक्षा ६ सम्म पठनपाठन हुने गर्छ । शिक्षकको पारिश्रमिकको व्यवस्था भने एक अमेरिकी नागरिकले गरेका छन् ।