खोप समानताका लागि अभियान 'कोभ्याक्स'नै सङ्कटमा: धनी देशका १६ प्रतिशतलाई ६० प्रतिशत खरिद !

खोप समानताका लागि अभियान 'कोभ्याक्स'नै सङ्कटमा: धनी देशका १६ प्रतिशतलाई ६० प्रतिशत खरिद !

लोकसंवाद संवाददाता  |  विदेश  |  माघ १९, २०७७

एक वर्षअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि विश्वभर खोपको विकास गरी प्रयोगमा ल्याउने क्रम बढ्दो छ । कोरोना भाइरसविरुद्धको खोप विकासको तीव्र गतिलाई वैज्ञानिक क्षेत्रमा एक विशिष्ट उपलब्धिका रुपमा लिन थालिएको छ । 

विश्वभर हालसम्म कोरोना भाइरसबाट करिब १० करोड ३५ लाख सङ्क्रमित भएका छन् भने २२ लाख ३२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी सङ्ख्या संयुक्त राज्य अमेरिकामा रहेको छ । विश्वमा कोरोना सङ्क्रमण र मृत्युको क्रम बढिरहेका बेला खोपको विकास मानव समुदायका लागि नयाँ आशाको सञ्चार गराएको छ । 

यद्यपि अझै पनि खोपमाथि धनी राष्ट्रको नियन्त्रण देखिएको छ भने गरिब राष्ट्रका जनतामा अझै पनि खोप नपुग्ने  हो कि  भन्ने  चिन्ताहरू व्यक्त भइरहेका छन् ।  यस्तो चिन्ता अन्य गर्दै खोप वितरणमा समानताका लागि कोभ्याक्स नामक महत्त्वाकाङ्क्षी अन्तर्राष्ट्रिय अभियान चलाइएको छ । जसको लक्ष्य धनी वा गरिब सबैलाई समान ढङ्गले खोप वितरण गर्नु हो । 

विश्वभर कोरोना भाइरसको महामारी उच्चतम विन्दुतिर लम्किँदै गर्दा गत वर्ष सन् २०२० को अप्रिलमा कोभ्याक्स अभियान घोषणा गरिएको थियो ।  कोभ्याक्स विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र खोपबारे पैरवी गर्ने दुई वटा समूहले नेतृत्व गरिरहेको विश्वव्यापी अभियान हो ।यसको लक्ष्य खोपको विकास, बिक्रीका साथै विश्वका १८० भन्दा बढी देशमा पहुँच पुर्‍याउनु हो । डब्ल्यूएचओले पटक पटक विश्वका धनी देशहरूलाई खोपमाथि एकाधिकार कायम नगर्न र गरिब देशका लागि खोपको सहज पहुँचका लागि व्यवस्था गर्न आग्रह गर्दै आएको छ ।

हालसम्म कोभ्याक्सले २.४ अर्ब डलर जुटाएको र सन् २०२१ को खोपको लक्ष्य पूरा गर्न कम्तीमा थप ४.६ अर्ब डलर आवश्यक रहेको बताइएको छ । कोभ्याक्सले फाइजर/बायोएन्टेक र अक्सफर्ड/ एस्ट्राजेनेकासँग खोप किन्ने सम्झौता गरेको छ । खोप निर्माण भएर प्रयोगको अनुमति नपाएका केही खोपसँग पनि सम्झौता अघि बढिसकेको छ । फाइजर–बायोएन्टेकको चार करोड खोप मात्रा खरिद गर्ने सम्झौता यसअघि नै भइसकेको छ ।

यद्यपि खोप वितरणमा समानता देखिएको छैन । हाल तीन करोड ९० लाख मात्राभन्दा बढी खोप उच्च आय भएका कम्तीमा ४९ देशमा दिइसकिएको डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससको भनाई छ । जबकि कम आय भएका देशमा २५ वटा मात्रै खोप दिइएको छ । विश्वका धेरै देशले अझै पनि खोपमा सहज पहुँच पाउन सकिरहेका छैनन्  ।  नेपालले हालै भारतले दिएको कोभिशिल्ड खोप लगाउन सुरु गरिएको छ । तर अन्य प्रक्रियाबाट नेपालले खोप पाउन अझै केही समय कुर्नुपर्ने  अवस्था देखिन्छ । नेपालजस्तै विश्वका धेरै देशले अझैसम्म खोप पाएका छैनन् र केही समय अझै पाउने सम्भावना कम हुँदै गएको

कोभ्याक्स अभियान अन्तर्गत फेब्रुअरी महिनाबाट खोप वितरण गर्न थालिने विश्वास छ । जसबाट अधिकांश खोप गरिब र मध्यम आय भएका देशमा पुर्‍याउन कोसिस गरिनेछ । कोभ्याक्सले सन् २०२१ को अन्त्यसम्ममा संसारभरि दुई अर्ब मात्रा खोप वितरण गरिसक्ने अपेक्षा गरिएको छ । जसमध्ये एक अर्ब ३० करोड मात्रा खोप अभियानमा संलग्न रहेका ९२ गरिब देशका करिब २० प्रतिशत जनसङ्ख्यालाई दिइनेछ । यद्यपि कोभ्याक्सले तीव्र गतिमा काम गर्न नसकेको भन्दै आलोचना समेत हुँदै आएको छ । 

डब्ल्यूएचओका बोर्ड सदस्य डा.क्लीमीन्स मार्टिन आवरले खोप सुनिश्चित हुने गरी सम्झौता गर्न र देशहरूसम्म खोपको पहुँच पुर्‍याउन कोभ्याक्स ढिला भइरहेको बताएका छन् । कोभ्याक्सको लक्ष्य अनुसार खोप वितरणमा सफलता प्राप्त भएमा पनि महामारी नियन्त्रणका लागि ठुलो सफलता मिल्न सक्ने विज्ञहरूको भनाई छ । हाल खोप लगाउने क्रम सुरुवाती चरणमा नै रहेको छ ।

विश्वका अमेरिका, बेलायत, रुस, चीन, भारत सहित केही सीमित देशले खोप उत्पादन गरी लगाउन सुरु गरेका छन् । विश्वको जनसङ्ख्याको ७० प्रतिशतले खोप लगाइसकेपछि मात्रै कोभिड–१९ रोक्ने किसिमको प्रतिरोध क्षमता बन्न सक्ने डब्ल्यूएचओको विश्वास छ । यद्यपि प्रत्येक वर्ष दुई अर्ब मात्रा खोपको हिसाब गर्ने हो भने पनि विश्वको अनुमानित ७.८ अर्ब जनसङ्ख्यालाई खोप पुर्‍याउन केही वर्ष लाग्नेछ । त्यसैले पनि विश्वमा खोप लगाउन पनि प्राथमिकता निर्धारण गरिएको छ । स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र जोखिममा रहेका समुदाय खोपको प्राथमिक सूचीमा रहेका छन् । 

खोप उत्पादन क्षमता बढाउनका लागि विश्वभरि नै ठुलो मात्रामा आर्थिक लगानीका प्रतिबद्धताहरू आइरहेका छन् । बेलायतले ७३.४ करोड अमेरिकी डलर उपलब्ध गराउने वाचा गरेको छ । अमेरिकाको ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय साझेदारीमा देखाएको कठोरताले हालसम्म उसले यसमा लगानीको प्रतिबद्धता जनाएको छैन । तर नयाँ राष्ट्रपति जो बाइडेनको सरकारले यो अभियानमा सामेल हुने तयारीमा छ । 

यद्यपि अमेरिकासहित विश्वका धनी देशहरू कोभ्याक्समा आबद्ध भए पनि आफ्ना लागि खोप थुपारेको आरोप लागेको छ । ड्यूक विश्वविद्यालयको ग्लोबल हेल्थ इन्स्टिट्यूटले गरेको अध्ययनअनुसार विश्वको जनसङ्ख्याको १६ प्रतिशत ओगट्ने धनी देशहरूको सानो समूहले विश्वव्यापी खोपको ६० प्रतिशत खरिद गरेको पाएको थियो । त्यसैले बाँकी विश्वका कमजोर आय भएका देशहरूका लागि कोरोना भाइरसको महामारी नियन्त्रणका लागि कोभ्याक्स महत्त्वपूर्ण उपाय बन्न सक्छ । 

हालसम्म कोभ्याक्सले २.४ अर्ब डलर जुटाएको र सन् २०२१ को खोपको लक्ष्य पूरा गर्न कम्तीमा थप ४.६ अर्ब डलर आवश्यक रहेको बताइएको छ । कोभ्याक्सले फाइजर/बायोएन्टेक र अक्सफर्ड/ एस्ट्राजेनेकासँग खोप किन्ने सम्झौता गरेको छ । खोप निर्माण भएर प्रयोगको अनुमति नपाएका केही खोपसँग पनि सम्झौता अघि बढिसकेको छ । फाइजर–बायोएन्टेकको चार करोड खोप मात्रा खरिद गर्ने सम्झौता यसअघि नै भइसकेको छ । विश्वको जनसङ्ख्याको ठुलो हिस्सालाई भाइरसबाट सुरक्षित बनाएपछि मात्रै जनजीवन सामान्यतर्फ फर्किन सक्छ । त्यसैले खोप नै समस्या समाधानको एक मात्र विकल्प देखिएको छ । त्यसका लागि खोपमा गरिब र कम आय भएका देशको पहुँच स्थापित गर्नु आवश्यक रहेकोमा विज्ञहरूको जोड छ ।